सल्यान, २९ जेठ !
सिद्धकुमाख गाउँपालिकामा क्षयरोग (टिबी) को जोखिममा रहेका समूह र स्वास्थ्य सेवा पहुँच कम भएका समुदायको पहिचानका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गरी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो । तालिममा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई क्षयरोगको लक्षण, जोखिमयुक्त समुदायको पहिचान गर्ने तरिका, प्रारम्भिक शंका भएका व्यक्तिलाई स्वास्थ्य संस्थामा ल्याउने प्रक्रिया र जनचेतना फैलाउने विधिबारे जानकारी प्रदान गरिएको थियो ।
यो कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य समुदायस्तरमै क्षयरोग पहिचान र उपचारको पहुँच विस्तार गर्नु हो । दुर्गम र स्वास्थ्य सेवाबाट टाढा रहेका बस्तीहरूमा क्षयरोगका बिरामीहरू समयमै पहिचान नहुँदा रोग थप जटिल बन्दै जाने जोखिम हुन्छ । यस्ता अवस्थामा स्थानीय तहमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रारम्भिक पहिचान र सन्देश प्रवाह गर्न सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम गरिएको हो । स्वास्थ्य स्वयंसेविका स्थानीय समुदायसँग प्रत्यक्ष रूपमा जोडिएका, विश्वासिला र सक्रिय व्यक्तित्व भएकाले उनीहरूलाई सशक्त पार्दा समुदायमै रोगको रोकथाम र व्यवस्थापन सहज अपेक्षा गरिएको छ ।