सल्यान, ३१ जेठ ।
सल्यान जिल्लामा विज्ञान शिक्षाको गुणस्तर सुधार गर्ने र विज्ञान शिक्षकहरूको सशक्तिकरण गर्ने उद्देश्यका साथ विज्ञान शिक्षकहरू योजनाबद्ध रूपमा संगठित रुपमा अघि बढेका छन्। विज्ञान शिक्षक समाज नेपाल, जिल्ला कार्यसमिति सल्यानको अगुवाइमा विज्ञान शिक्षालाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिएको छ।
विज्ञान शिक्षक समाज सल्यानका अध्यक्ष ललित पुनका अनुसार जिल्लाभरका सबै दस स्थानीय तहमा विज्ञान शिक्षासँग सम्बन्धित शैक्षिक सामग्री निर्माण, विज्ञान प्रतिभा पहिचान, शिक्षक तालिमजस्ता कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेटको माग गरिएको छ। विज्ञान शिक्षामा एकरूपता ल्याउन र शिक्षकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न सबै पालिकामा कार्यसमिति विस्तारको अभियान समेत सञ्चालनमा आएको छ।
यसैक्रममा, जिल्ला सल्लाहकार समिति गठन गरी संयोजकमा नेत्रलाल भट्टराईलाई चयन गरिएको छ भने माधव जिसी, चुडामणि केसी, दल बहादुर राना र जितेन्द्र मण्डल सदस्यमा चयन भएका छन्।
सल्लाहकार संयोजक भट्टराईका अनुसार विज्ञान शिक्षामा देखिएका चुनौती समाधान गर्न, शिक्षकहरूबीच समन्वय र सहकार्य बढाउन, र नीति निर्माण तहमा शिक्षकहरूको आवाज पुर्याउन संगठनात्मक संरचना बलियो बनाउनु अहिलेको आवश्यकता हो।
त्यस्तै, कक्षा ८ र १० को प्रयोगात्मक मूल्यांकनमा पारदर्शिता र निष्पक्षता कायम राख्न ूशिक्षक साटासाट प्रणालीू अन्तर्गत बाह्य सुपरिवेक्षणको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारिएको छ। यो अभियानले विज्ञान शिक्षामा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।