सल्यान, १ असार ।
सल्यानको ढोरचौरमा पहिलोपटक शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सिद्ध कुमाख गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाभित्रका आधारभूत तहका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई समेटेर गरिएको मेला शनिवार निराजन माध्यमिक विद्यालयको प्रांगण ढोरचौरमा सम्पन्न भएको हो । उक्त मेलाले स्थानीय तहको शैक्षिक विकासतर्फको अग्रसरतालाई देखाएको छ ।
मेलामा कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेका सामुदायिक २० तथा संस्थागत ४ विद्यालयको सक्रिय सहभागिता रहेको थियो । प्रदर्शनीमा प्रत्येक विद्यालयले आफ्ना शैक्षिक सामग्री, अभ्यास पद्धति, विद्यार्थीहरूका सिर्जनात्मक कृति तथा शिक्षण–अध्ययनमा प्रयोग हुने सामाग्रीहरू प्रस्तुत गरेका थिए । विशेषगरी, स्थानीय स्रोतको उपयोग गरी निर्माण गरिएका शिक्षण सामग्रीहरूले सबैको मन तानेको छ । मेलाले विद्यालयहरूबीच अनुभव आदान–प्रदान, सिर्जनशील शिक्षण प्रविधिको विकास तथा बालमैत्री वातावरण निर्माणतर्फ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष भरत गिरीले शैक्षिक मेलाले विद्यार्थीको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हरेक वर्ष यस्तो प्रदर्शनीलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हामीले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेका छौं, यस्ता मेलाले विद्यालयमा निर्माण भएका सामाग्री प्रदर्शन गर्ने मात्र होइन, अरूलाई पनि सिक्न प्रेरित गर्छ, स्थानीय स्रोत साधन प्रयोग गरेर निर्माण गरिएका शिक्षण सामग्री देख्दा अत्यन्त उत्साह मिल्यो, आउँदा बर्षमा पनि यसले निरन्तरता पाउँछ ।’
गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले पालिकास्तरमै यस्ता कार्यक्रम सञ्चालन हुनु आफैंमा सकारात्मक सुरुवात भएको बताउनुभयो । ‘बच्चाहरूको सिर्जनात्मकता र शिक्षकहरूको प्रतिबद्धता देख्दा लाग्यो, परिवर्तन सम्भव छ, अबको हाम्रो ध्यान शिक्षाको गुणस्तर बढाउन अझ गहिरो रणनीति निर्माणमा हुनेछ’ उहाँले भन्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले शैक्षिक प्रदर्शनीमार्फत सिकाइलाई व्यवहारिक बनाउने अभ्यास सुरू भएको उल्लेख गर्नुभयो ।
प्रदर्शनीमा बालबालिकाले आफैंले बनाएका विज्ञान मोडेल, हस्तकला, शिक्षण चार्ट, रचनात्मक चित्रकलाहरू लगायत विभिन्न शैक्षिक सामाग्री प्रदर्शन गरेका थिए । यसले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्नेसँगै प्रस्तुतीकरण क्षमतामा समेत सुधार देखिएको शिक्षकहरूको भनाइ छ ।
‘आफूले बनाएको सामाग्री अरूलाई देखाउँदा रमाइलो लाग्यो’
बालकल्याण आधारभूत बिद्यालय सिद्धकुमाख–३ फलाटेमा कक्षा ५ मा अध्ययनरत छात्रा मेनका बोहराले पढाइ मेलामा आफूले बनाएको सामाग्री अरूलाई देखाउँदा रमाइलो लागेको बताउनुभएको छ । ‘मैले र हाम्रो बिद्यालयले बनाएको बिभिन्न सामाग्री मेलामा देखाउन पाएँ, साथीहरूले पनि हेरेर तारिफ गरे, निकै रमाइलो लाग्यो’ उहाँले भन्नुभयो ‘यहाँ आएर धेरै कुरा सिक्न पाएकी छु ।’
मेलामा सहभागी शिक्षकहरूका अनुसार यस्तो प्रदर्शनीले बालबालिकामा सिर्जनात्मक सोच, समूहमा काम गर्ने सीप र आत्मप्रस्तुतीकरणको अभ्यास दिलाएको छ । निराजन माध्यमिक बिद्यालय ढोरचौरका प्रधानाध्यापक धर्मराज घर्तीले शैक्षिक मेला बिद्यार्थी, शिक्षक र अभिभावकको सिकाइ आदानप्रदान गर्ने थलो भएको बताउनुभयो । ‘मेलामा पढाइ मात्र होइन, देखाउने र अनुभव गर्ने शैली सिक्न पाए बिद्यार्थीहरुले, यो निकै प्रभावकारी कार्यक्रम छ’ उहाँले भन्नुभयो ।
मेलामा उत्कृष्ठ शिक्षण सामाग्री प्रर्दशन गर्ने बिद्यालयलाई पुरस्कृत गरिएको छ । जसमा हिमालय आधारभूत बिद्यालय डाँडाकटेरी प्रथम, निराजन माध्यमिक बिद्यालय ढोरचौर दृतीय, ब्राइट ह्यूमन एकेडेमी ढोरचौर तृतीय र सिद्ध माध्यमिक बिद्यालय भँडारे सान्त्वना भएका छन् ।
पठन क्षमता पहिचान प्रतियोगिता
मेलाको अवसरमा आधारभूत तह कक्षा २ र कक्षा ३ का विद्यार्थीहरूबीच पठन क्षमता पहिचान प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी बालबालिकाले स्पष्ट उच्चारण, समझदारी र भाव प्रदर्शनका माध्यमबाट आफूमा रहेको पठन क्षमताको प्रदर्शन गरेका छन् । कक्षा २ तर्फ ब्राइट ह्यूमन एकेडेमी, सिद्ध कुमाख–३ की कुसुम बोहराले प्रथम स्थान हासिल गर्नुभयो । द्वितीय र तृतीय स्थान क्रमशः एमआरवि एकेडेमी सिद्धकुमाख १ का रिदन बुढाथोकी र नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय, सिद्ध कुमाख–५ की मुना बुढाथोकीले प्राप्त गर्नुभयो । सान्त्वना पुरस्कार सिद्ध कुमाख बोडिङ स्कुल, सिद्ध कुमाख–२ की रीमा चलाउनेलाई प्रदान गरियो ।
यस्तै कक्षा ३ तर्फ प्रथम स्थान सिद्ध कुमाख बोडिङ स्कुलका राकेश बुढाथोकीले जित्नुभयो । द्वितीय र तृतीय स्थान सिद्ध माध्यमिक विद्यालयका सुदिक्षा चलाउने र कुमाख मालिका एकेडेमीकी लक्ष्मी नेपालीले प्राप्त गर्दा सान्त्वना पुरस्कार ब्राइट ह्यूमन एकेडेमीका देवराज डाँगीलाई प्रदान गरियो । प्रदर्शनी र प्रतियोगिताले विद्यार्थीहरूलाई सिकाइको वातावरणमा थप नजिक बनाएको छ ।