सल्यान, २ असार ।
सल्यानको छत्रेश्वरी शक्तिपीठ आधुनिक पदमार्गको सुविधाले झनै सजिलो र रमणीय बनेको छ । सत्ययुगदेखि जोडिएको एक अद्वितीय धार्मिक गन्तव्यको रुपमा रहेको छत्रेश्वरी शक्तिपीठ हालै निर्माण गरिएको पदमार्गको सुविधाले सजिलो र रमणीय बनेको हो । जिल्लाको सदरमुकाम खलंगाबाट २३ किलोमिटर पूर्व र राप्ती राजमार्गको नजिकै शङ्खमूलबाट ४ किलोमिटर उचाइमा अवस्थित यो मन्दिर पर्यटक र भक्तजनका लागि पदयात्रा सहितको रमाइलो अनुभव बनेको हो । यो मन्दिर छत्रेश्वरी गाउँपालिका–६ मा पर्छ ।
सतीदेवीको शक्तिपीठमध्ये बलि नचढाइने एक मात्र स्थलका रूपमा चिनिने छत्रेश्वरी मन्दिर ऐतिहासिक, पौराणिक र धार्मिक दृष्टिले विशेष मानिन्छ । स्थानीय जनविश्वास अनुसार, भगवान शिवले सतीदेवीको मृत शरीर बोकी हिँड्दाखेरी यही स्थानमा शेष अङ्ग खसेको थियो । यही कारण यो थलो पूजनीय शक्तिपीठका रूपमा स्थापित भएको हो । संघीय सरकारको पर्यटन विभागमार्फत रु. ३ करोड ११ लाख लागत अनुमान गरिएको पदमार्ग निर्माण कार्य रामेछाप सानु दामोदर जेभीले रु. २ करोड ६४ लाखमा सम्पन्न गरेको हो ।
निर्माण कम्पनीका अनुसार जाजरकोट, दैलेख र प्युठानबाट ढुङ्गा ल्याएर करिब १३६० मिटरको सिँढीसहितको पदमार्ग बनाइएको छ । साथमा, छायाँढुङ्गातर्फ २०० मिटरको रेलिङयुक्त पदमार्ग पनि निर्माण गरिएको छ । पदमार्ग मात्र होइन, यहाँ दुई वटा प्रतीक्षालय, आधुनिक र अपाङ्गमैत्री शौचालय,र विश्रामस्थलहरू पनि निर्माण गरिएको छ । गाडीमार्फत मन्दिरसम्म पुग्ने बाटो त पहिले नै थियो, तर अब पदयात्राले थप सहजता थपेको स्थानीय बताउँछन् ।
शङ्खमूल र शङ्खपार्क क्षेत्र पनि धार्मिक पर्यटकका लागि प्रमुख आकर्षण बनेका छन् । श्रीस्वस्थानी व्रतकथामा उल्लेखित शङ्खमूल यही स्थलमा पर्छ, जसले गर्दा यसले अध्यात्मिक पर्यटनको सम्भावना झनै बढाएको छ ।
छत्रेश्वरी धार्मिक पर्यटनको हव
राप्ती लोकमार्गको पहुँच, पदमार्ग निर्माण र स्थायी संरचनाहरुको विकासले गर्दा छत्रेश्वरी शक्तिपीठ अब सल्यान मात्र नभई कर्णाली प्रदेश र आसपासका जिल्लाहरू रुकुम, रोल्पा, दाङसम्मका आन्तरिक पर्यटकका लागि पनि सुलभ गन्तव्य बन्न पुगेको छ । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले छत्रेश्वरी शक्तिपीठमा अझै अन्य पूर्वाधार विकासका लागि पर्यटन विभागसँग समन्वय भइरहेको जानकारी दिनुभयो । जिल्लामै धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेको छत्रेश्वरीका अन्य क्षेत्रको विकासका लागि समेत योजनाबद्ध रुपमा काम भइरहेको तथा प्रचारप्रसारको पाटोलाई पनि ध्यान दिइएको उहाँको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष बुद्धकुमारी खत्रीले पदमार्ग निर्माण समयमै सम्पन्न हुनु आफैँमा सन्तोषजनक पक्ष भएको बताउनुभयो । ‘प्राविधिक पक्षको गहिरो विवरण हामीसँग नहुन सक्छ, तर बाह्य रूपमा हेर्दा पदमार्ग राम्रो देखिन्छ, संरचना पनि सुविधाजनक छन् भन्ने प्रतिक्रिया सर्वसाधारणबाट पाइरहेका छौं’ उहाँले भन्नुभयो ‘यस्तो संरचनाले धार्मिक गन्तव्यलाई अझ व्यवस्थित बनाउनुका साथै बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि समेत पहुँचमा सहज बनाउँछ ।’
गाउँपालिकाले थप पूर्वाधार विकासका लागि पर्यटन विभागसँग समन्वय गरिरहेको जनाएको छ ।