सल्यान, ३ असार ।
सल्यानको त्रिबेणी गाउँपालिका–३ नयाँ गाउँमा विद्युत् सेवा अत्यन्तै जोखिमपूर्ण तरिकाले सञ्चालन हुँदै आएको छ । स्थानीय करिब ३० घरधुरीलाई आपूर्ति गरिने विजुली अहिले बाँसको पोलबाट तानिएको छ, जसले स्थानीयको ज्यानमाथि खतराको बादल मडारिएको छ । झण्डै दुई दशकअघि शंखमुल सामुदायिक विद्युतकरणबाट विद्युत जडानका बेला काठका पोल प्रयोग गरिएका थिए । तर, ती पोल कुहिएर भाँचिन थालेपछि प्रतिस्थापनको पहल नहुँदा बाध्य भएर स्थानीयले बाँस प्रयोग गरेका हुन् ।
स्थानीयका अनुसार, सामुदायिक विद्युतीकरण र विद्युत कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आवश्यक पहल नगरेपछि ३/४ वर्षमा बाँस फेरिरहनुपर्ने बाध्यता रहेको छ । बाँसका पोलबाट २ फेजको लाइन तानिएको छ, जुन अझ खतरनाक मानिन्छ । नयाँ गाउँका बासिन्दाहरू भन्छन्, ‘वर्षा लागिसक्यो, हावाहुरी र चट्याङले बाँसका पोल ढल्ने डर छ, साना बालबालिका र वृद्धवृद्धाको हिँडडुलमा समेत जोखिम छ ।’ बारीको डिलमा भएकोले जोखिम बढाएको छ ।
यहाँ कुहिएको काठे पोल फेरेर बाँस राखिएको छ नै, बाँकी रहेका अरु पोल पनि जीर्ण छन् । बर्षौअघि गाडिएका काठेपोल केहिएका छन् । केही भाँचिएका छन् । घरआसपासमा रहेका पोलका कारण नागरिकलाई झन् सास्ती दिइरहेको छ । स्थानीय तह तथा विद्युत प्राधिकरणले पटक–पटक जानकारी दिँदा पनि कुनै सुनुवाइ नभएको गुनासो रहेको छ ।
‘हामी जोखिममा बाँचेका छौं’ एक स्थानीयले भने ‘सरकारले हेरेको भए अबसम्म सिमेन्टका वा फलामका पोल गाडेर सुरक्षित बनाइसक्थ्यो ।’ स्थायी समाधान नभएसम्म दुर्घटनाको खतरा उत्तिकै रहने जनाउँदै नागरिकहरूले तत्काल सुदृढ र सुरक्षित पोलको व्यवस्था गर्न माग गरेका छन् ।
त्रिबेणी गाउँपालिका–३ नम्बर वडा कार्यालयले बाँसको पोलबाट विजुली तानिएको विषय सत्य भएको पुष्टि गरेको छ । वडाअध्यक्ष कर्णदेव डाँगीले बाँसको पोलबाट विजुली तानेर बाल्ने काम भैरहेको बताउनुभयो । ‘स्थानीय स्तरबाट समस्या समाधानका लागि पहल गरेका छौं, तर स्रोत र बजेटको अभावका कारण वडा आफैले स्थायी पोल राख्न सकिएको छैन, वडाले सम्बन्धित निकायमा जानकारी गराएको छ, हामी पनि चिन्तित छौं, स्थानीयको सुरक्षाका लागि शीघ्र समाधान आवश्यक छ’ उहाँले भन्नुभयो ।
उहाँले दशकौँ अघि गाडिएका काठेपोलका कारण नागरिकले सास्ती धेरै पाइरहेको बताउनुभएको छ । ‘सुरुवातमा विद्युत्तीकरण गर्दा काठका पोल गाडिएको थियो, त्यसपछि ती पोलको रेखदेख तथा मर्मतसम्भारमा कसैले ध्यान दिएन्, कयौँ पोल कुहिएर जीर्ण वनेका छन्, दुर्घटनाको जोखिम उच्च छ’ उहाँले थप्नुभयो ‘हामीले आवाज उठाएका छौँ, अव छिट्टै समस्या समाधान हुन्छ ।’
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका सूचना अधिकारी कालि बहादुर बुढाथोकीले वाँसको पोल हटाएर नयाँ पोल राख्ने दायित्व सामुदायिक बिद्युतीकरणकै भएको बताउनुभएको छ । ‘यस बारेमा पहिले थाहा थिएन, यो पटक थाहा पायौँ, हामीलाई समस्या थाहा भयो, पोल प्रतिस्थापनको काम प्राथमिकतामा राखिएको छ, बाँसको पोल दीर्घकालीन समाधान होइन भन्ने हामीलाई पनि थाहा छ, नयाँ पोल व्यवस्थापनका लागि सामुदायिक विद्युतीकरणले नै काम गर्नुपर्छ, मर्मतसम्भार गर्ने दायित्व नै उसको हो, यदीले उसले नसकेर वा अन्य कारणले हामीसँग सहयोग माग गरेको अवस्थामा हामी सहयोग गर्छौँ’ उहाँले भन्नुभयो ।
जिल्लाभरका जोखिममा रहेको काठेपोल बर्षेनी हटाउँदै आएको भएपनि यस बारेमा जानकारी नहुदा समस्या भएको उहाँको भनाइ छ । ‘तत्कालिन समयमा सामुदायिक विद्युतीकरणबाट जडान भएको विजुलीमा काठका पोल धेरै छन्, जीर्ण पोलले जोखिम बढाएको छ नै, नयाँ गाउँको समस्या गम्भीर भएकाले यसलाई चाँडै समाधान गर्ने प्रयासमा छौं’ उहाँले थप्नुभयो ।