सल्यान, ६ असार ।
‘जुन दिन पानी घरको धारा खोल्दा निस्कियो, त्यही दिन मलाई लाग्यो, अब हामी पनि बाँकी गाउँसरह भएका छौँ’ छत्रेश्वरी गाउँपालिका–४ बाङ्गेसल्लाका ७२ वर्षीय सुकलाल घर्तीले भन्नुभयो । घर्तीले आँखामा आँसु झार्दै भनेका यी शब्दहरूमा बाङ्गेसल्लाका पुस्तौँदेखि पीडित जनताको दुःख, संघर्ष र अहिलेको खुसी समेटिएको छ । बाङ्गेसल्लाका बासिन्दाहरूले विगतमा दैनिक दुईदेखि चार घण्टा उकालो–ओरालो गर्दै पिउने पानी ल्याउनुपर्ने बाध्यता व्यहोर्दै आएका थिए ।
कहिले बिहानै, कहिले बेलुकी, कहिले अध्यारोमा, त कहिले झरी–घाममा पानी खोज्नै दिन बित्ने गर्दथ्यो । ६६ वर्षीया कौशिला घर्ती सम्झिनुहुन्छ ‘पानी नहुँदा खाना बनाउन त के, नुहाउन र सरसफाइ गर्न पनि धौधौ हुन्थ्यो, बुढाबुढी र बालबालिका बढी प्रभावित भएका थिए, त्यस्तो दिन फेरि फर्केर नआओस् ।’ तर अहिले भने बाङ्गेसल्लाका बासिन्दाहरूको जीवनमा नयाँ बिहान आएको छ । प्रत्येक नागरिकको घरैमा खानेपानीको धारा पुगेको छ ।
कसैले कल्पना नगरेको सुविधा अहिले बाङ्गेसल्लामा सम्भव भएको छ । यो योजना केवल पानी ल्याउने योजना मात्र रहेन, यो योजना बासिन्दाहरूको आत्मसम्मान फर्काउने, समयको सदुपयोग गर्न सक्ने, र भविष्यप्रति आशावादी बनाउने युगान्तकारी पहल बनेको छ । पानीको धारामा बगेको परिवर्तनले अब यहाँका नागरिकलाई पनि विकासको मूलधारमा ल्याउने विश्वास पलाएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाले चलाएको लिफ्ट खानेपानी योजना सम्पन्न भई हालै घर–घरमै पानी पु¥याइएको छ । गाउँपालिकाले यो योजनाका लागि १४ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको थियो भने थप १ लाख रुपैयाँ आवश्यक परेपछि कुल १५ लाख ७० हजार रुपैयाँको लागतमा योजना सम्पन्न भएको हो । साथमा स्थानीयवासीको श्रमदानमार्फत १ लाख ४७ हजार रुपैयाँ बराबरको सहयोग थपिएको छ ।
यो योजनाअन्तर्गत ३५० मिटर तलबाट लिफ्ट प्रणालीमार्फत पानी तानिएको हो । ३३६ मिटर जिआई पाइप, ७१० मिटर पोलिथिन पाइप, ८ घरमिटरको पक्की टंकी, ११ वटा धारा, ५९० वाटका १० वटा सोलार पाता र ५ हर्सपावर क्षमताको मोटर जडान गरिएको छ । खानेपानी उपभोक्ता तथा योजना निर्माण समितिका अध्यक्ष अम्बर विकका अनुसार, योजना ४३ दिनमा सम्पन्न भएको हो । ‘१४ घरधुरीले प्रत्यक्ष लाभ लिएका छन् भने गाउँकै समग्र जीवनस्तरमा परिवर्तन आएको छ’ उहाँले भन्नुभयो ।
विकासको स्वाद पानीसँगै
खानेपानी पुगेसँगै बाङ्गेसल्लाका बासिन्दाहरूमा आत्मविश्वास पनि बढेको छ । खेतीपाती, सानोतिनो उद्यम, बालबालिकाको पढाइ, सरसफाइ र स्वास्थ्यजस्ता पक्षमा प्रत्यक्ष फाइदा भएको स्थानीयहरूको भनाइ छ । ‘पहिले बिहानै उठेर पानी नल्याई कुनै काम सुरु नै गर्न सकिन्नथ्यो, अब त धारा खोलेरै नुहाउन, भाँडा माझ्न, बगैँचा सिंचाइ गर्न सकिन्छ’ स्थानीय भन्छन् ‘हामीले भोगेको जीवनको सबैभन्दा ठूलो कठिनाइ यही पानी थियो, त्यो अब सहज भएको छ ।’
योजना सम्पन्न भएपछि वडा नं ४ मा एक औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो । वडा अध्यक्ष छविलाल खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी रहनुभएको थियो । बुढाथोकीले उद्घाटन समारोहमा भन्नुभयो ‘हामीले विकट क्षेत्रलाई प्राथमिकतामा राखेर नागरिकको जीवन सहज बनाउने काम गरिरहेका छौँ, स्रोतसाधन सीमित भए पनि सम्भव भएका सबै कामलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ ।’
कार्यक्रममा उपाध्यक्ष बुद्धकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, भूमि समस्या समाधान आयोगका सदस्य ज्ञानबहादुर खड्का, कार्यपालिका सदस्य तुल्सा विक, पवित्रा डाँगी, वडा सदस्य पोखराज खड्का, निवर्तमान वडा अध्यक्ष नेवबहादुर खड्का लगायतको सहभागिता थियो ।