‘स्रोत संरक्षणमा महिला नेतृत्व अपरिहार्य’

‘वन, वातावरण र जलवायुका सवालमा स्थानीय सरकार, सरोकार निकाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य छ’ उहाँले भन्नुभयो ।

सल्यान, असार ७ ।
जल, जंगल, जमिन, जैविक विविधता र जलवायुजस्ता प्राकृतिक स्रोतहरूको दीगो संरक्षणका लागि महिला नेतृत्व अपरिहार्य भएको सरोकारवालाहरूले बताएका छन् । डिभिजन वन कार्यालय सल्यानको सहयोग र हिमालय ग्रामीण प्राकृतिक स्रोत व्यवस्थापन महिला समूह (हिमावन्ती) नेपाल, जिल्ला शाखा सल्यानको आयोजनामा खलंगामा सम्पन्न सरोकारवाला समन्वय बैठक तथा साधारणसभामा उनीहरूले यस्तो धारणा राखेका हुन् ।

उनीहरूका अनुसार जल, जमिन, जंगलजस्ता स्रोतहरू समुदायको दैनिकीसँग प्रत्यक्ष जोडिएका विषय भएकाले, तिनको संरक्षण र समुचित उपयोगमा महिलाको सक्रिय सहभागिता तथा नेतृत्व सुनिश्चित गर्नु अति आवश्यक देखिएको छ । ग्रामीण महिलाहरू संगठित भई वातावरण संरक्षण, जलवायु अनुकूलन, जैविक विविधताको रक्षा, सुलभ वन स्रोत उपयोग, सशक्त स्थानीय शासन र महिला अधिकारको प्रवद्र्धनजस्ता विषयमा एक हुनुपर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जलवायु परिवर्तनको असर सबैभन्दा बढी विपन्न तथा महिला समुदायमा पर्ने भएकाले स्रोत व्यवस्थापनमा उनीहरूको अग्रसरता सुनिश्चित गर्नु आवश्यक रहेको बताउनुभयो । ‘वन, वातावरण र जलवायुका सवालमा स्थानीय सरकार, सरोकार निकाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य छ’ उहाँले भन्नुभयो । शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा सुनारले संस्थाले समुदायमा महिलाको नेतृत्व विस्तार र सशक्तीकरणमा उल्लेखनीय योगदान दिएको बताउँदै आगामी दिनमा हिमावन्तीसँग अझ सशक्त सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

डिभिजन वन कार्यालय सल्यानका डिभिजनल बन अधिकृत टेक बहादुर रावलले वन विनाशको नियन्त्रण, जलश्रोतको संरक्षण र वातावरणीय सन्तुलनका लागि महिला समूहहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ‘महिलाहरूको सहभागिताबाट मात्रै वनको दीगो व्यवस्थापन सम्भव छ, वन कार्यालयले विभिन्न समयमा समन्वय र सहकार्य गर्दै काम गरिरहेको छ’ उहाँले भन्नुभयो ‘स्रोत संरक्षणमा लैङ्गिक न्याय, स्थानीय निर्णय प्रक्रियामा महिलाको पहुँच, सुशासन र उत्तरदायित्वका विषयमा अझै सशक्त वन्न जरुरी छ ।’

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका निम बहादुर वली, जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी केशर कुमार न्यौपाने, नेपाल पत्रकार महासंघ सल्यान शाखाका सचिव बुद्धि पुनलगायत सरोकार निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । हिमावन्ती नेपाल सल्यानकी जिल्ला अध्यक्ष पद्मा शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव शान्तीप्रभा पुरीले गर्नुभएको थियो ।

हिमावन्ती नेपालले महिला नेतृत्व विकास गर्दै उनीहरूलाई स्रोत व्यवस्थापनमा निर्णायक बनाउने तथा समुदायमा लैङ्गिक समानता, सामाजिक न्याय र वातावरणीय दीगोपनाको पक्षमा नीतिगत, व्यवहारिक र सीपमूलक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस