सल्यानमा वन्यजन्तु अपराध नियन्त्रण एकाइको पहिलो बैठक : समन्वय र सहकार्यलाई प्राथमिकता

सल्यान, २३ असार ।
डिभिजन वन कार्यालय, सल्यानको आयोजनामा जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाइ, सल्यानको पहिलो समन्वय बैठक सम्पन्न भएको छ । डिभिजनल वन अधिकृत टेक बहादुर रावलको संयोजकत्वमा र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा नेपाल सरकारबाट स्वीकृत ‘वन्यजन्तु अपराध नियन्त्रण आदेश २०८०’ का प्रावधानहरू, देशभरका वन तथा वन्यजन्तु अपराधको अवस्था तथा तिनको रोकथाम र नियन्त्रणका उपायहरूबारे विस्तृत प्रस्तुतिकरण गरिएको थियो । सो आधारमा वन तथा वन्यजन्तु अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

सो सन्दर्भमा सल्यान जिल्लामा पनि सक्रिय कार्ययोजना बनाएर जिल्लाभर जनचेतनामूलक तथा निगरानी क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । बैठकमा सल्यान जिल्लाभित्र हुने वन तथा वन्यजन्तु अपराधहरूलाई निरुत्साहित गर्न प्रदेशस्तरीय एकाइमा आबद्ध सबै निकायहरूको सक्रिय सहभागिता र समन्वयात्मक प्रयासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरियो । साथै, जिल्लास्तरमा भएका छलफल, निर्णय तथा कार्यक्रमहरूबारे प्रदेशस्तरीय र केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइलाई जानकारी गराउने निर्णय पनि बैठकले गरेको छ ।

डिभिजनल वन अधिकृत टेक बहादुर रावलले वन्यजन्तु अपराध नियन्त्रण आदेशको कार्यान्वयनमा स्थानीय तह र सुरक्षा निकायको भूमिकालाई निर्णायक रहेको बताउँदै समन्वय र साझा रणनीतिका माध्यमबाट मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले वन तथा वन्यजन्तु संरक्षण राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै सबै सरोकारवाला निकायहरूबीच गम्भीर र परिणाममुखी सहकार्यको आवश्यकता औंल्याउनुभयो ।

बैठकले सरोकारवाला निकायहरूबीचको सहकार्य र संयुक्त प्रयासमार्फत जिल्लामा वन तथा वन्यजन्तु अपराध नियन्त्रणमा उल्लेखनीय सुधार ल्याउन सकिने विश्वास व्यक्त डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिनुभयो । बैठकमा डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालय लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस