दिगो कृषि विकासका लागि समन्वयात्मक कदम

सल्यान, २८ असार ।
कृषि क्षेत्रको दिगो विकासतर्फ अग्रसर हुँदै जाने प्रतिबद्धता स्थानीय तह तथा सरोकारवाला निकायहरूले जनाएका छन् । कृषि विकास कार्यालय सल्यानको आयोजनामा सदरमुकाम खलंगामा सम्पन्न समन्वयात्मक कार्यक्रममा कृषिमा सहकार्य, नवीनतम् प्रविधिको उपयोग र किसानमुखी कार्यक्रममार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो । उनीहरुले कृषि क्षेत्रको विकास र उन्नयन विना अन्य क्षेत्रले प्रगति हाशिल गर्न नसक्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले समृद्ध कृषिको आधार आपसी समन्वय र स्पष्ट रणनीति भएको उल्लेख गर्दै कृषि क्षेत्रको रुपान्तरणका लागि स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो देशको आर्थिक मेरुदण्ड नै कृषि हो, हामीले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने हो भने स्थानीय तह, सम्बन्धित कार्यालय, कृषक र समुदाय सबैको साझा प्रयास अपरिहार्य हुन्छ, अहिलेको आवश्यकता भनेको सरकारी नीति तथा कार्यक्रम कृषकको खेतबारीमै पुग्नुपर्छ ।’

रावलले समन्वय अभावले धेरै कार्यक्रमहरु प्रभावकारी रूपमा कार्यान्वयन नहुने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई चिर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो । ‘कृषकको समस्या सुन्ने, समाधान खोज्ने र प्रविधिसँग जोड्ने काम अब ढिलाइ नगरी गर्नैपर्छ, कृषिमा लगानी गर्नु भनेको मुलुकको भविष्यमा लगानी गर्नु हो, कृषकलाई आत्मसम्मान, प्रविधिमा पहुँच र बजारको सुनिश्चितता दिन नसकेसम्म हामीले सोचेजस्तो परिणाम आउँदैन, त्यसैले सबै तह–तप्काबीच गम्भीर र दीर्घकालीन सोचसहितको सहकार्य अपरिहार्य छ’ उहाँले भन्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले कृषि क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको भन्दै, तथ्यमा आधारित कृषि पत्रकारिता र कृषकका समस्यालाई उजागर गर्नुपर्ने बताउनुभयो । ‘कृषि केवल उत्पादन र उपजको विषय होइन, यो हाम्रो समाजको आधार हो, किसानको पसिना र भूमिको मर्म बुझेर मात्र हामीले कृषि क्षेत्रको सही प्रतिनिधित्व गर्न सक्छौं, पत्रकारिता आज सूचना मात्र दिने माध्यम होइन, नीति निर्माणमा प्रभाव पार्ने शक्ति हो, त्यसैले कृषकको आवाज बुलन्द बनाउने जिम्मेवारी हामी पत्रकारको काँधमा छ’ उहाँले भन्नुभयो ।

कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा कृषि विकास कार्यालयद्वारा सम्पन्न कार्यक्रमहरूको समिक्षात्मक प्रस्तुति गरिएको थियो । यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन इकाई सल्यानले गरेको कामका बारेमा पसन प्रस्तुती राखिएको थियो । बीउबिजन वितरण, माटो परीक्षण, सिंचाइ सुविधा विस्तार, प्रविधि हस्तान्तरण, तालिम तथा सीप विकास जस्ता प्रमुख कार्यक्रमहरूको विवरण प्रस्तुत गरिएको हो ।

कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख आचार्यले कृषि उत्पादनमा वृद्धि, बजेटको प्रभावकारी कार्यान्वयन, प्रविधिको पहुँच र नीति निर्माणमा कृषकको सहभागिता सुनिश्चित गर्दै जानुपर्ने धारणा राख्नुभयो । उहाँले यस्ता कार्यक्रमले स्थानीय तहबीच एक–आपसमा सिक्ने र सहयोग गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समन्वयात्मक कार्यक्रममा जिल्लाका दश वटै स्थानीय तहका कृषि शाखा प्रमुख, अगुवा कृषक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । छलफलमा सहभागीहरूले कृषिमा देखिएका समस्या, सम्भावना र चुनौतीहरूबारे आफ्ना धारणा राख्दै समन्वयात्मक कार्यशैलीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस