प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति समीक्षाः कृषि क्षेत्रमा नयाँ सम्भावना

सल्यान, २८ असार ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यानको आयोजनामा प्रगति समीक्षा तथा रिपोर्टिङ कार्यक्रम सम्पन्न भएको छ । पकेट विकास कार्यक्रम अन्तर्गत कार्यालय र पालिकाले गरेका राम्रा र असल कामहरूको बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । शनिवार जिल्लाको शारदा नगरपालिका ६ बरलामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सल्यान जिल्ला उन्नत कृषि उत्पादन तथा पशुपालनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको बताउनुभयो ।उहाँले पकेट विकास कार्यक्रमलाई पाइलट प्रोजेक्टको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई कृषि समस्याप्रति संवेदनशील भई जिम्मेवार ढंगले काम गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले यस्ता समिक्षात्मक कार्यक्रमहरूले पालिकाहरूले गरेका कामहरूको अनुभव आदानप्रदानमा सहयोग पुग्ने बताउनुभयो । उहाँले थोरै बजेटको पनि सही र प्रभावकारी सदुपयोग गर्न सकिएमा उल्लेखनीय सफलता हासिल गर्न सकिने बताउनुभयो । साथै सल्यान तरकारी, फलफूल उत्पादन तथा पशुपालनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र भएकाले पालिकाहरूले यस क्षेत्रमा विशेष प्राथमिकता दिएर लगानी गर्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यानका प्रमुख केशव राज वस्नेतले परियोजनाले सल्यान जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरूको बारेमा जानकारी दिदै आर्थिक वर्ष २०८१/०८२ मा ३ वटा पकेट क्षेत्र, ब्लक १ र जोन ७ गरेर ११ वटा कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो । उहाँले परियोजना सुरु भएदेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै, कृषकहरूको जीवनस्तर सुधारका लागि परियोजनाले महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्नुभयो । साथै, सल्यान जिल्लामा क्षेत्र विस्तार सहज होस् भन्ने उद्देश्यले पनि प्रगति समीक्षा तथा रिपोर्टिङ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

प्रगति समीक्षा तथा रिपोर्टिङ कार्यक्रममा सल्यान जिल्लाभित्रका १० वटा पालिकाका कृषि र पशु शाखा प्रमुखहरूले सिँचाइ सुविधा, बिउँको स्रोत, मलको अवस्था, कृषि तथा पशु क्षेत्रमा पालिकाले विनियोजित गरेको बजेट, सञ्चालनमा रहेका कार्यक्रमहरूको स्थिति, कार्यक्रमका प्रभाव, समस्या र चुनौतीहरू साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइले सञ्चालन गरेका कार्यक्रमहरूबारे प्रस्तुतिकरण गरेका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यानमा कार्यरत नायव प्राविधिक सहायक समिर विकको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण नायव प्राविधिक सहायक विनोद वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस