सल्यान प्रहरीको सन्देशः ‘शान्ति, सुरक्षा र सहकार्य नै प्रमुख प्राथमिकता’

‘प्रहरी र सञ्चारकर्मी एउटै लक्ष्यका लागि लागिरहेका छौँ, त्यो भनेको समाजमा शान्ति, सुरक्षा र सुशासन स्थापना नै हो, यस्ता छलफलहरूले आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउँछ’ उहाँले भन्नुभयो ।

सल्यान, ९ साउन ।
सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक हेम बहादुर केसीले जिल्लाको शान्तिसुरक्षालाई सुव्यवस्थित गर्दै ‘कोठे र ओठे’ दुबै कार्यक्रम बन्द गरिने बताउनुभएको छ । उहाँले जिल्लामा हुनसक्ने अपराधिक कार्यलाई रोकथाम गर्दै नागरिकलाई सुसूचित गराउँन निश्चित व्यक्तिलाई राखेर गरिने कोठे कार्यक्रम र भाषण गर्ने ओठे कार्यक्रमलाई बन्द गरिने बताउनुभएको हो । शुक्रवार जिल्ला प्रहरी कार्यालय सल्यानमा आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको छ ।

प्रहरीका अनुसार अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा प्रहरी कार्यालयमा २५१ वटा विभिन्न प्रकृतिका मुद्धा दर्ता भएकोमा गएको आर्थिक बर्ष २०८१/०८२ मा १८९ वटा मुद्धा दर्ता भएको पाइएको छ । पछिल्लो समय जिल्लामा आत्महत्याका घटना बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । ‘समुदायमा नै पुगेर लक्षित समुहसँग आत्महत्या रोकथामका बारेमा सचेतीकरणका कार्यक्रम सञ्चालन गर्छौ’ उहाँले भन्नुभयो ।

डिएसपि केसीले वालविवाह न्यूनिकरण गर्न, फरार अपराधिलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन, सामाजिक सञ्जालको दुरुपयोग रोक्न विभिन्न सचेतीकरणका कार्यक्रम गरिने बताउनुभयो । ‘बिद्यालयस्तरमै पुगेर मोवाइल तथा सामाजिक सञ्जालको दुरुपयोगले पार्नसक्ने असरका बारेमा सचेतना फैलाउँछौँ, ट्राफिक सचेतनालाई प्रभावकारी बनाउँछौँ, घरेलुहिंसा जस्ता समाजमा हुने वा हुनसक्ने विकृति रोकथाममा सशक्त ढंगले लाग्छौँ, विपदको समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि सचेत छौँ’ उहाँले थप्नुभयो ।

उहाँले नागरिकको जीउज्यानको सुरक्षाका लागि प्रहरी सधैँ तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जिल्लामा हुनसक्ने सबै खालका गलत कार्यको रोकथाममा प्रहरी सक्रिय छ, यसमा पत्रकारसँग समन्वय र सहकार्य नितान्त रहने छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले शान्ति सुरक्षाको संवद्र्धन, सामाजिक अपराधको रोकथाम तथा सशक्त प्रहरी–समुदाय समन्वयको प्रयास सराहनीय रहेको बताउनुभयो ।

उहाँले प्रहरी प्रमुखको नेतृत्वमा जिल्लामा सुरक्षा अवस्थालाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने पहलले सकारात्मक सन्देश दिएको बताउनुभयो । ‘प्रहरी र सञ्चारकर्मी एउटै लक्ष्यका लागि लागिरहेका छौँ, त्यो भनेको समाजमा शान्ति, सुरक्षा र सुशासन स्थापना नै हो, यस्ता छलफलहरूले आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउँछ’ उहाँले भन्नुभयो । अध्यक्ष रावतले पत्रकारिता पेसा निष्पक्ष, तथ्यमा आधारित र जनपक्षीय हुने भएकाले समाजका विकृति, विसंगति उजागर गर्न पत्रकार सदैव अग्रसर रहने उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा आत्महत्या नियन्त्रणको योजना, सामाजिक सञ्जाल निगरानी, बालविवाह विरुद्धको अभियान, प्रहरी–पत्रकार समन्वय, घरेलु हिंसामा प्रहरी सेवा, प्रेस स्वतन्त्रता र सूचनाको पहुँच, विद्यालयस्तरको सचेतना, वजारमा हुनसक्ने कालोवजारी, चोरीडकैति, सामाजिक विकृति लगाएतका सवालमा छलफल भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिवलाल डाँगी, सचिव बुद्धि पुन, सहसचिव खेमराज सुनार, कोषाध्यक्ष खकेन्द्र केसी सहित विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस