
सल्यान, १४ साउन ।
सल्यान उद्योग वाणिज्य संघले जिल्लाभरका व्यवसायीहरूलाई लक्षित गर्दै नयाँ व्यवसाय दर्ता, नविकरण तथा कर संकलनका लागि बृहत अभियान सुरु गरेको छ । संघले जिल्लाका दशवटै स्थानीय तहहरूमा घुम्ती शिविर सञ्चालन गर्दै अभियानलाई तीव्रता दिएको छ । त्रिबेणी र कपुरकोट गाउँपालिकाबाट सुरु भएको अभियान साउन १६ गतेसम्म विभिन्न बजार क्षेत्रमा सञ्चालन हुने जनाइएको छ । यस अभियानमा संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा, बाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारी, उद्योग उपाध्यक्ष पल्वीर नेपाली, महासचिव मोहन सारु, सचिव रण बहादुर खड्का, लेखापाल लक्ष्मण चलाउने, कम्युटर अपरेटर हुकुम शाही सहितको संघको सिंगो टिममा खटिएको छ ।
संघका महासचिव मोहन सारुका अनुसार आर्थिक वर्ष २०८१/०८२ को आयकर तथा २०८२/०८३ को अन्तः शुल्क इजाजतपत्र नविकरण, कर संकलन, संघमा नयाँ दर्ता तथा २०८३ असार मसान्तसम्मको नविकरणको कार्यका लागि संघले टोली परिचालन गरेको हो । ‘उद्योगी, व्यापारी तथा व्यवसायीहरूलाई सरकारी सेवा पहुँचयोग्य बनाउने र आर्थिक भार घटाउने उद्देश्यले अभियान सुरु गरिएको हो’ महासचिव सारुले भन्नुभयो ।
घुम्ती शिविरको पहिलो दिन त्रिवेणी गाउँपालिकाको सल्लेखोला र टुनिबोटबाट सुरु भएको टोलीले कपुरकोट गाउँपालिकाको सिनवाङ, रिम, सल्लाम, खाली र दहवन हुँदै केन्द्रमा सेवा पु¥याएको छ । दोश्रो दिनको कार्यक्रम लुहाम, लोटाउने, ढुंगेबजार, रिखे, काभ्रा हुँदै कालिमाटीमा सम्पन्न भयो भने तेस्रो र चौथो दिन रैकर, ढोरपिपल, सल्लीबजार, मुलखोला, घाजरीपिपल लगायतका स्थानमा सेवा पु¥याइएको छ ।
पाँचौँ दिन नेटावजारदेखि स्यानीपिपली, रागेचौर, चिसापानी, वडागाउँ हुँदै फारुलासम्मको क्षेत्र समेटिएको छ । छैठौँ र सातौँ दिन बागचौर नगरपालिकाका मौलाहाले, चोरपानी, थारमारे, खरिवोट, बाफुखोला लगायत स्थानहरूमा शिविर सञ्चालन भएको छ । कोटमौला, पाथिहाल्ने, दमाचौर, स्यानीखालमा पनि घुम्ती शिविर सञ्चालन भएको छ भने खलंगा, पिपलनेटा, जयतपानीजस्ता क्षेत्रहरूमा अभियान सम्पन्न गर्ने योजना रहेको संघले जनाएको छ ।

शिविर सञ्चालनसँगै व्यवसाय प्रवद्र्धनका विषयमा स्थानीय निकाय, उद्योग वाणिज्य संघ र व्यापारीहरूको त्रिपक्षीय छलफलसमेत भइरहेको छ । स्थानीय तहमा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार र स्थानीय तहसँगको सहकार्यबारे गहिरो छलफल भएको थियो । महासचिव सारुका अनुसार यस्ता अन्तरक्रिया तथा शिविरहरूले व्यवसायीहरूलाई आफ्ना समस्या राख्ने अवसर प्रदान गर्नुका साथै सरकारी प्रक्रियालाई सहज र सरल बनाउने दिशामा ठोस कदम साबित हुनेछन् ।
सरकारी सेवा उपभोक्ताको पहुँचमा पु¥याउने र व्यवसायीलाई समयमै कर नविकरण तथा दर्ता प्रक्रियामा सहजता ल्याउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले सल्यानमा निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई थप बलियो बनाउने संघले अपेक्षा गरेको छ । सल्यान उद्योग वाणिज्य संघद्वारा सञ्चालित घुम्ती शिविरले स्थानीय व्यवसायीहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सरकारी सेवा लिन श्रीनगर धाउनु पर्ने झन्झटबाट मुक्त भएपछि उनीहरू सन्तुष्ट देखिएका छन् ।
‘हामीजस्ता गाउँमै व्यवसाय गर्नेका लागि यस्तो सेवा गाउँमै आइपुग्नु निकै सहज हो, सानो व्यवसाय भएकाले समय र खर्च दुवैको बचत भयो’ कालिमाटीका एक व्यावसायीले भने । व्यवसायीहरूले शिविरमार्फत आफैंले सामना गरिरहेका कानुनी, दर्ता, करसम्बन्धी जटिलता बुझ्न र समाधान गर्न सहयोग पुगेको बताएका छन् ।