२० बर्षपछि अर्जुनको उद्धार


सल्यान, १८ साउन ।
विगत २० वर्षदेखि मानसिक सन्तुलन गुमाएर असहाय जीवन बिताइरहेका अर्जुन बस्नेतको उद्धार भएको छ। शारदा नगरपालिका–६ बरला, सल्यान घर भएका ३५ वर्षीय बस्नेतलाई मानवसेवा आश्रम दाङ शाखाले संरक्षणमा लिएको हो। मानवता, सेवा र सहानुभूतिको नमुना प्रस्तुत गर्दै मानवसेवा आश्रम दाङ शाखाको टोलीले स्थानीय पालिका, प्रहरी र समुदायको सहकार्यमा उनलाई बरलाबाट उद्धार गरेको हो। टोलीले फेला पार्दाको अवस्थामा उनी अत्यन्तै कमजोर, अशक्त, अस्वस्थ र संवाद गर्न नसक्ने स्थितिमा थिएनन ।

मानवसेवा आश्रम दाङ शाखाका प्रमुख हृदयश जोशीका अनुसार अर्जुन बस्नेतको उद्धार मानव सेवा अभियानको एक नियमित अभियान हो। सडक, छेउछाउ वा संकटमा परेका मानसिक रूपमा कमजोर नागरिकहरूको उद्धार र पुनःस्थापना यसको मुख्य उद्देश्य हो। समाजमा त्यागिएका व्यक्तिहरूलाई पुनः आत्मसम्मानसहितको जीवनमा फर्काउनु नै सबैको दायित्व हो भन्ने सन्देश दिन सधैं सक्रिय रहेकोे उहाँको भनाइ छ ।

उनी विगत दुई दशकदेखि मानसिक सन्तुलन गुमाएर बिचल्लीमा परेका थिए। परिवार र समाजबाट टाढिएका बस्नेतको जीवन एकान्त, वेदनाले भरिएको र निरन्तर संघर्षपूर्ण थियो। तर, हाल मानवसेवा आश्रमको संरक्षणमा राखिएपछि उनलाई सुरक्षित जीवन, उपचार र माया प्रदान गरिँदैछ।

स्थानीय सरकार, समुदाय र सुरक्षाकर्मीहरूको सहयोगमा सम्पन्न भएको यस उद्धार अभियानले समाजमा अझै पनि मानवता जीवित रहेको स्पष्ट सन्देश दिएको छ। यस घटनाले संवेदनशील नागरिकहरूलाई सडकमा भौंतारिरहेका अन्य असहायहरूको उद्धारतर्फ प्रेरणा दिने विश्वास गरिएको छ। मानवसेवा आश्रमले विगतदेखि नै देशका विभिन्न ठाउँमा मानसिक रोगी, अपाङ्ग, जेष्ठ नागरिक तथा बेसाहारा व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।

अर्जुन बस्नेतको उद्धार मात्र एउटा व्यक्तिगत कथा होइन, यो समाजको त्यो चित्र हो, जहाँ मानवता अझै बाँचेको छ र सहानुभूतिपूर्ण दृष्टिकोणले परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउँछ। यस अघि पनि जिल्लाका बिभिन्न स्थानबाट सडक मानवको उद्वार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस