
सल्यान, २० साउन ।
‘अरु देशमा जाने परिस्थिति बनेन्, भारत जाँदा अर्काकै खेतबारीमा पसिना बगाउँनुपर्छ, त्यो भन्दा आफ्नै खेतबारीमा पसिना बगाउँछु भनेर लागेको थिए, तर टमाटरले धोका दियो’ यतिभन्दा टमाटर खेतीमा ठुलो लगानी गरेका किसान हुर्मत डाँगीको आँखामा दुःख र निराशाको आँसु छल्किन्थ्यो । छत्रेश्वरी गाउँपालिका–४, जयचौरका ३४ वर्षीय डाँगीले यो वर्ष पहिलोपटक व्यावसायिक रुपमा टमाटर खेती गर्नुभयो । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँले ६ हजार बोट टमाटर रोप्नुभयो ।
माटो, मल, सिँचाइ, मेहनत सबैको संयोजन गरेर तयार पारेको बारीमा जब टमाटर फल्न थाले, सपना पनि अंकुरिन थालेका थिए । लक्ष्य थियो कम्तीमा ६ लाख आम्दानी गर्ने र ४ लाख बचत गर्ने । तर त्यो सपना पुरा हुन सकेन् । फल्न थालेपछि बारीमा रोग देखा पर्न थाल्यो । टमाटरका फलमा अचानक कालो टाक्साहरू देखिन थाले, फूल ओइलिन थाले, बोटहरू सुक्दै जान थाले । ‘आज एउटा सुक्थ्यो, भोली अर्को, उपचार थाल्दाथाल्दै दैनिक १०/१५ वटा बोट मर्न थाले’ डाँगी सुनाउँनुहुन्छ ।
गाउँपालिकाको कृषि प्राविधिक बारीमा पुगे । रोग नलागेको टमाटरका बोट बचाउन उनीहरुले बिषादी सिफारिस गरे । राम्रो बोटमा रोग सर्नसक्ने भएकाले उनीहरूले संक्रमित र ओइलिएका बोट उखेलेर फाल्न सल्लाह दिए, तर डाँगीका लागि त्यो सजिलो थिएन । ‘एउटा बोटमा डेढ/दुई केजीसम्म फल लागिसकेको थियो, कम्तीमा लगानी उठाउने आश थियो, मैले बोट उखेल्न सकिन्’ उहाँ भन्नुहुन्छ ‘विस्तारै बाँकी बोट पनि ओइलाएर सुक्न थाले ।’
लगभग १५० क्विन्टल उत्पादन गर्ने उहाँको लक्ष्य थियो । दुई लाख खर्च कटाएर करिब ४ लाख जोगिने आँकलन थियो तर अहिले भने लगानी उठ्ने सम्भावना पनि टाढिँदै गएको उहाँको भनाइ छ । ‘बिहानदेखि बेलुकासम्म खटिए, केही मान्छे ज्यालामा समेत लगाएको थिए, तर टमाटर सप्रेन’ उहाँले भन्नुभयो ‘नयाँ किसानलाई हतोत्साहित बनायो, अब त्यही बारीमा लसुन लगाउने योजना बनाएको छु ।’
अहिले जिल्लाका अधिकांश क्षेत्रमा किसानले लगाएको टमाटर खेतीमा ढुंसीजन्य संक्रमण देखिएको छ । टमाटरको फलमा कालो टाक्सा लाग्ने, बोट ओइलिने र सुक्दै जाने समस्या छ । कृषि उपज वजार संचालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले कपुरकोट क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने किसानले टमाटरमा ढुंसीजन्य समस्या भोग्दै आएको बताउनुभएको छ । ‘कपुरकोटमा गरिएको टमाटर खेतीमा पनि समस्या देखिएको छ, यसले गर्दा किसान मारमा परेका छन्’ उहाँले भन्नुभयो ‘यहाँका करिब तीन हजार बढी किसान बेमौसमी तरकारीखेतीमा आवद्ध छन् ।’
छत्रेश्वरी गाउँपालिका कृषि विकास शाखाका प्राविधिक सहायक दिपक पुनका अनुसार टमाटरमा डढुवा रोग लागेको हो । ‘यो ढुसीको कारणले हुन्छ, जसले बोट सुकाउँछ, माटोमै रोगले आश्रय लिएर बसेको हुन्छ, खेती गर्दा माटोको उपचार नगरेसम्म रोग दोहोरिन्छ’ उहाँ भन्नुहुन्छ । छत्रेश्वरी गाउँपालिकाको जयचौर, सांगार, भोटेचौर लगायतका अधिकांश क्षेत्रमा यस्तै समस्या देखिएको छ । अधिकांश किसानको ८० प्रतिशतसम्म खेती नष्ट भइसकेको छ ।
‘समयमै विषादी प्रयोग नगर्दा नियन्त्रण सम्भव भएन्, प्राविधिकले सिफारिस गरेपछि किसानले विषादी ल्याउँदासम्म नै साता बितिसकेको हुन्छ, त्यत्तिकैमा रोगले पूरै बाली सखाप बनाउँछ’ उहाँले भन्नुभयो । प्राविधिकहरूले रोग नियन्त्रणको उपाय सल्लाह दिएपनि किसानले विषादी किन्नुपर्ने, प्रयोग गर्नुपर्ने र त्यसको परिणाम कुर्नुपर्ने बाध्यता छ । कृषि विकास शाखाले व्यवस्थापनका सल्लाह बाहेक क्षतिको राहत दिनसक्ने अवस्था नरहेको प्रष्ट पारेको छ ।
‘व्यावसायिक खेतीतर्फ पहिलोपटक लागेका धेरै किसान निराश भएका छन्, यस्ता समस्याबाट जोगिनका लागि माटो परीक्षण र समयमै रोगको व्यवस्थापन गर्नुपर्छ’ उहाँले भन्नुभयो । सल्यानका डाँडाकाँडा र खोला किनारका जमिनमा पसिना बगाउँदै बाँच्ने सपना बुनेका किसानहरू अहिले अल्मलिएका छन् । सहरको भीडमा होइन, गाउँमै केही गरौं भन्ने आशयले व्यावसायिक खेती थालेका किसानहरूलाई रोग, प्राविधिक ढिलाइ र सहायता प्रणालीको कमजोरीले झस्काइदिएको छ ।
टमाटरमा लाग्ने ‘डढुवा रोग’ एक प्रकारको ढुसीजन्य रोग हो, यो रोगले पात, डाँठ र फलमा खैरोदेखि कालो दाग देखाएर बोट सुकाउने गर्छ । विशेषगरी चिसो र आद्र्र मौसममा छिटो फैलिन्छ र संक्रमित हावा, पानी वा औजारमार्फत अन्य बोटमा सर्छ । रोकथामका लागि रोग सहनशील जातको टमाटर रोप्न, बोटहरू बीच पर्याप्त दूरी राख्न, संक्रमित भाग हटाउन तथा कृषि प्राविधिकको सल्लाह वमोजिम रोग नियन्त्रणका उपाय अवलम्बन गर्न सुझाव छ ।