उत्पादन सन्तुलन कायम राख्ने कोशिस : मिचाहा वनस्पती हटाउने अभियान सुरु

सल्यानमा मिचाहा वनस्पती हटाउने अभियान सुरु भएको छ । डिभिजन वन कार्यालय सल्यान र वनस्पती अनुसन्धान केन्द्र सल्यानको अगुवाईमा जिल्लामा फैलिदैँ गएको मिचाहा प्रजातीको वनस्पती हटाउने अभियान सुरु भएको हो । संघीय सांसद प्रकाश ज्वालाले यस अभियान अन्र्तगत विहीबार सदरमुकाम खलंगाको देवकोटा पार्क वरपरको काँडे वनमारा हटाउदैँ तेजपातको विरुवा रोपेर सुरुवात गर्नुभएको छ । यो अभियान जिल्लाभरमा नै सञ्चालन हुने छ ।

सल्यान, २३ साउन ।

सल्यानमा दर्जन बढी मिचाहा प्रजातीका वनस्पती रहेको पाइएको छ । काँडेवनमारा, कालो वनमारा, सेतो वनमारा, सेतो गन्धे झार, निलो गन्धे झार, पटपटे, काँडे लुडें, सत्यनाशी, कालो कुरो, चित्लागें, वेशरम, वन तुलसी झार, लज्जावती झार, चरिअमिलो, पाति झार, भेडेँकुरो जस्ता एक दर्जनभन्दा बढी मिचाहा प्रजाति वनस्पती जिल्लामा रहेको पाइएको हो । विगतका बर्षहरुमा यस्ता खालका वनस्पती जिल्लामा नभएपनि पछिल्लो केही दशकयता भने यी वनस्पतीको रजगज चल्दै आएको छ ।

विश्वव्यापी रुपमा नै जैविक विविधताको नाश गर्ने मुख्य कारकमध्ये एक मिचाहा प्रजातिलाई मानिन्छ । रैथाने प्रजातिका वनस्पतीलाई पछि पार्ने वा तिनकै शिकार गर्ने त्यस्ता प्रजातिको असर विश्वभरका विभिन्न पारिस्थितिक प्रणालीमा पाइने गरेको छ । किसानका खेतवारी छेउछाउ देखी घरआँगन र वनजंगल जतापनि मिचाहा प्रजातीका वनस्पती फैलिएका छन् । यसले माटोमा प्रतिकुल असर पार्नुका साथै स्थानीय उत्पादनमा ह्रास आउने र पारिस्थितिकीय प्रणालीमा समेत प्रभाव पारेको छ ।

विगतमा मिचाहा प्रजाती नदेखेका र नामै नसुनेका स्थानीय आजभोली मिचाहा प्रजातीको फैलावट देखेर अच्चमित परेका छन् । बन्गाड कुपिण्डे नगरपालिका–७ लाम्पाटाका हेर्म थापाले आफ्नो वाल्यकालमा कहिल्यै वनमारा देख्नुभएको थिएन् । सानो हुदा लेखबेसी सामुदायिक वनमा गोठालो जाने, घाँस दाउरा गर्ने, पानी पधेँरो गर्ने उहाँलाई त्यो बेलामा सल्ला, भिमल, पैयु लगाएतका बोटविरुवा मात्रै देख्नुभएको थियो । जमिनभरि घाँस उम्रेको हुन्थ्यो । बस्तुभाउलाई घरआसपासमै चरिचरण प्रशस्त थियो ।

‘१०÷११ बर्ष पहिलेको कुरा हो, चोटपटक लागेमा ‘माउवादी झार’ ले छिट्टै सन्चो बनाउछ रे भन्ने गाउँमा हल्ला चलेको याद छ, कसैलाई चोट लाग्यो भने अर्को गाउँमा पुगेर यही झार ल्याउने र लगाउने चलन थियो, त्यो बेला गाउँमा कहिपनि यो झार थिएन्, त्यसको २÷३ बर्षपछि कतै कतै माउवादी झारका बोट देखिएका थिए’ विगत सम्झदैँ उहाँ भन्नुहुन्छ ‘पछिल्लो चार बर्षमा यो झार यति फैलियो कि, वन पाखा, खेतवारी, पानीपधेँरा, बाटाघाटा जतापनि यसैको झाडी मात्रै छ ।’ त्यो बेला माउवादी झार भन्ने गरिएपनि अहिले यसलाई वनमारा भन्ने गरिएको उहाँको भनाइ छ ।

मिचाहा वनस्पतिले कतिसम्म क्षति पु¥याउन सक्छन् भन्ने बारेमा जिल्लाका स्थानिय राम्रैसँग जानकार छन् । मिचाहा प्रजातिहरु छिटो बढ्ने र धेरै खालका स्थानहरुमा बाँच्न सक्ने क्षमताका हुन्छन् । यिनीहरू अत्यधिक धेरै बीउ उत्पादन गर्न सक्ने र जरा एवं काण्डबाट समेत नयाँ बिरुवा उत्पादन गर्न सक्ने हुनाले नयाँ ठाउँमा छिटो अतिक्रमण गर्न सक्छन् । आफ्नो क्षेत्रमा सँधै खानेगरेको वनस्पति नपाएपछि बदेँल, घोरल, रतुवा, खरायो लगाएतका जनावर आहारा खोज्दै किसानका खेतबारीसम्म पुग्छन् जसका कारण स्थानीय समुदायसँग उनीहरूको द्वन्द्व बढेको छ ।

मिचाहा हटाउदैँ आयमुलक विरुवा रोप्दै

सल्यानमा मिचाहा वनस्पती हटाउने अभियान सुरु भएको छ । डिभिजन वन कार्यालय सल्यान र वनस्पती अनुसन्धान केन्द्र सल्यानको अगुवाईमा जिल्लामा फैलिदैँ गएको मिचाहा प्रजातीको वनस्पती हटाउने अभियान सुरु भएको हो । संघीय सांसद प्रकाश ज्वालाले यस अभियान अन्र्तगत विहीबार सदरमुकाम खलंगाको देवकोटा पार्क वरपरको काँडे वनमारा हटाउदैँ तेजपातको विरुवा रोपेर सुरुवात गर्नुभएको छ । यो अभियान जिल्लाभरमा नै सञ्चालन हुने छ ।

सांसद ज्वालाले वनजंगलको संरक्षण र उत्पादन बृद्धि गर्न मिचाहा वनस्पती हटाउनु अति आवश्यक रहेको बताउनुभएको छ । ‘यो अहिलेको टट्कारो समस्या हो, मिचाहा प्रजातीका वनस्पती हटाउनका लागि तीनै तहका सरकारले आवश्यक वजेटको व्यवस्था गरेर अघि बढ्नपर्छ, सल्यानबाट यस अभियानको सुरुवात मात्रै भएको हो, यो अभियानलाई बृहत वनाउनुपर्छ’ उहाँले भन्नुभयो ‘जिल्लाबाट सुरुवात गरेको अभियान समुदाय र वस्तीसम्म पुग्नुपर्छ ।’

यस्तै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मिचाहा वनस्पतीले कृषिसँगै वन वातावरणलाई नै असर गरेकाले यसलाई हटाउने र न्युनिकरण गर्ने अभियानको सुरुवात गरिएको बताउनुभयो । डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले उत्पादनशिल क्षेत्रका लागि मिचाहा प्रजाती क्यान्सरकै रुपमा रहेको बताउनुभयो । वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले मिचाहा प्रजातीलाई विस्थापन गर्दै जडिबुडि र फलफूलका विरुवा रोपन कार्यलाई बर्षैभरी सञ्चालन गरिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले अपराध अनुसन्धानसँगै सचेतना अभिबृद्धि गर्ने र मिचाहा वनस्पतीलाई हटाउने कार्यमा प्रहरीजनशक्ति एक भएर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस