
काठमाण्डौँ, २८ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले एक विशेष कार्यक्रमको आयोजना गरी युवामा सूचना प्रविधि, नवप्रवर्तन, र दिगो विकासका विषयमा सशक्त संवादको सुरुवात गरेको छ । काठमाण्डौँमा भएको कार्यक्रममा आयोन नेपालकी अध्यक्ष सुजाता बरालले युवाको क्षमता अभिवृद्धि, सहभागिता र नेतृत्व विकासमा संस्था सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै युवा नेतृत्वलाई प्रविधिसँग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले विभिन्न सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरेर युवामैत्री कार्यक्रम अगाडि बढाउने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवालाई देशको भविष्य मात्र नभई विद्यमान समस्याको समाधान गर्ने शक्तिशाली स्रोतका रूपमा चित्रण गर्नुभयो । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न युवालाई स्थानीय साझेदारको रूपमा उभ्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री गुरुङले सूचना प्रविधिमा युवाको सक्रिय सहभागिताको प्रशंसा गर्दै नवप्रवर्तन केन्द्रको स्थापना, प्रविधिको पहुँचमा असमानता घटाउने पहल र स्थानीय तह देखि केन्द्रसम्म समन्वय गरेर ‘समृद्ध डिजिटल नेपाल’ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युवा, प्रविधि र नवप्रवर्तन, दिगो विकासको दिशातर्फ भन्ने मूल विषयमा विविध छलफल गरिएको थियो । साथै, विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत देशका विभिन्न भेगका संस्कृति झल्काउने गीत तथा नृत्य समावेश गरिएको थियो । यसले कार्यक्रमलाई आकर्षक बनाइएको थियो । कार्यक्रममा सयौं युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
