कपुरकोट गाउँपालिकामा गोलमेच गोष्ठी सम्पन्न

सल्यान, २९ साउन ।
सल्यानको कपुरकोट गाउँपालिकामा एक दिने कार्यशाला तथा गोलमेच गोष्ठी सम्पन्न भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुलाई गाउँपालिकाका विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै सक्षम र जिम्मेवार नागरिक बनाउने लक्ष्य अनुरुप कपुरकोटमा गोष्ठी सम्पन्न भएको हो । गाउँपालिकामा युवामैत्री नीति तथा कार्यक्रम निर्माणमा सक्रिय सहभागिता बढाउने र समुदायमा दिगो तथा सकारात्मक परिवर्तन ल्याउनका लागि भन्दै दिगो भविष्यका लागि युवा परियोजना सञ्चालनमा छ । युवालयको आयोजना तथा दलित विकास समाज सल्यान र कपुरकोट गाउँपालिकाको सहकार्यमा सञ्चालित यो परियोजना अन्तिम चरणमा पुगेकोले यसको उपलब्धि, अनुभव र आगामी सम्भावनाबारे छलफल गर्न गोलमेच आयोजना गरिएको हो ।

युवालयका कार्यक्रम संयोजक विद्या विष्टले युवाहरुलाई युवा छायाँ सरकारको अभ्यास, सामाजिक, आर्थिक तथा जलवायु न्याय प्रवद्र्धन, नेतृत्व विकास, नीति सम्बन्धी संवाद, सीपमूलक तालिम, अन्तरक्रिया, ध्यान, सरकार, युवा मेला तथा प्रयोगशाला सहितका गतिविधिहरूमा परियोजनाले सञ्चालन गरेको जानकारी दिनुभएको छ । छलफलमा युवा छाया सरकारको प्रतिनिधी हुकुम बहादुर विश्वकर्माले युवा सवालका बिषयमा प्रश्न तथा जिज्ञासा राख्दै युवामन्त्री कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले महिला तथा युवा क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले नीति, कार्यक्रम र वजेट ल्याएको बताउनुभएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, युवा क्लबका पदाधिकारी, दलित विकास समाज सल्यानका प्रतिनिधि, युवालयका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस