जैविक कृषि प्रविधिबारे सचेतना र दक्षता अभिवृद्धि गर्न सल्यानमा तालिम सुरु


सल्यान, १ भदौ ।
कृषिमा नवप्रवर्तन र दिगो विकासको आधारका रूपमा हेरिँदै आएको जैविक कृषि प्रविधि बारे सचेतना र दक्षता अभिवृद्धि गर्न सल्यानमा तीन दिने तालिम सुरु गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाका महिला तथा युवा समूहका सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमले रासायनिक मल र विषादी प्रयोगमा निर्भर कृषिबाट मुक्ति दिलाउँदै जैविक र स्वस्थ उत्पादनतर्फ मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत सञ्चालन गरिएको तालिम आइएम स्विडिस डेभलप्मेन्टको सहयोग, कपुरकोट र छत्रेश्वरी गाउँपालिकाको समन्वय तथा दलित विकास समाज सल्यानको आयोजनामा सुरु भएको हो । जिल्लाको सदरमुकाम खलंगामा आइतबार देखी सुरु भएको तालिम मंगलबारसम्म सञ्चालन हुने छ । तालिमको पहिलो दिन कृषि विकास कार्यालय सल्यानका प्रांगारिक (जैविक) मिशन अधिकृत सन्दिप अधिकारी र बाली विकास अधिकृत निशेष घिमिरेले जैविक खेतीको सैद्धान्तिक र व्यावहारिक पक्षमा प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षकहरूले जैविक कृषि प्रविधिलाई आजको युगको अत्यावश्यकता भन्दै रासायनिक कृषि प्रणालीले मानव स्वास्थ्य, माटो तथा पर्यावरणमा पुर्याउने असरहरूका बारेमा चेतना फैलाउनुभएको छ । साथै, आयआर्जनमा वृद्धि, स्वस्थ जीवनशैलीको अभ्यास तथा बजारमा जैविक उत्पादनको माग दिन प्रतिदिन बढ्दै गएको सन्दर्भमा युवाहरूलाई कृषिमै रोजगारीको सम्भावना देखाउँदै आत्मनिर्भर बन्ने बाटोसमेत खुला भएको उहाँहरुको भनाइ छ ।

दलित विकास समाजका कार्यवाहक अध्यक्ष हेमराज विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विनायक रेग्मी, नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुन, कार्यक्रम संयोजक गुमानसिंह नेपाली लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । तालिम उद्घाटन सत्रको सञ्चालन सुपरभाइजर प्रकाश वलीले गर्नुभएको थियो ।

यस तालिमले सहभागीहरूलाई कृषिमा आधुनिक तर जैविक प्रविधि अपनाउने प्रेरणा दिने मात्र नभई, स्थानीय स्रोत साधनको समुचित प्रयोग गर्दै उत्पादन वृद्धि गर्न मार्गदर्शनसमेत गर्ने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस