
सल्यान, २ भदौँ ।
एक दशक अघिसम्म सल्यानका गाउँघरहरूमा हरियाली बारी देखिन्थ्यो । बर्खामा कोदो, पाखेधान र फापर लगाउने कृषक हिउँदमा बारीभरी जौँ रोप्ने गर्दथेँ । तर, आजभोलि ती बारी बाँझो हुन थालेका छन् । परम्परागत रूपमा प्रमुख बाली मानिएका रैथाने बाली बिस्तारै हराउँदै गएका छन् । पछिल्लो समय रैथाने बालीको महत्व बढ्दै गएको बेला जिल्लामा उत्पादन हुने कोदो, फापर, जौँ, पाखेधान, भटमास, सिमि, बोडी, तिल, पिडाँलु जस्ता बस्तुको उत्पादन भने घट्दै गएको छ ।
बिक्रीका लागि वजार सुनिश्चित हुदा कृषकहरू नगदेबाली सुन्तला, आलु, अदुवा र तरकारी खेतीतर्फ आकर्षित छन् । जसले गर्दा परम्परागत बाली लोप हुँदै गएका छन् । स्वास्थ्यका लागि निकैँ लाभदायी हुने यी बस्तुको महत्व गाउँमा कम बुझ्नु, स्पष्ट वजारीकरण नहुनु र आयातित चामलमा भरपर्दा जिल्लामा उत्पादन हुने रैथाने बाली बर्षेनी कम हुदैँ आएको छ । छत्रेश्वरी गाउँपालिकाकी निर्मला पुनको बारीमा कहिल्यै कोदोको अभाव थिएन् । झण्डै तीन मुरीसम्म उत्पादन हुने गरेकोमा अहिले उहाँ नै कोदो नलगाउने कृषकमा पर्नुहुन्छ ।
कालिमाटीका तुलसी वली पनि यसअघिसम्म कोदो खेतीमा सक्रिय हुनुहुन्थ्यो । तर, अहिले उहाँले पनि खेती छोडिसक्नुभएको छ । ‘गाउँघरका युवाहरू शहर र विदेश पलायन भएपछि खेती गर्नेको संख्या घट्दो छ, आयातित सेता चामल गाउँकै दोकानसम्म पुग्छ, कोदो रोप्यो, रोटीकै लागि हुन्छ, बाँकी जाँड बनाउने नै हो’ उहाँ भन्नुहुन्छ ‘त्यो बेला कोदोको महत्व थाहा थिएन्, अहिले महत्व बढ्दै गएको छ, तर यसको खेती हराउँदै गएको छ ।’
जिल्लामा रैथाने बालीको खेती गर्ने कृषक घटेसँगै यसको उत्पादनमा समेत कमी आएको छ । कृषि बिकास कार्यालय सल्यानले जिल्लामा खेती गर्ने क्षेत्रफल र उत्पादन दुबै घटेको जनाएको छ । कार्यालय प्रमुख महेश आचार्यले कोदो, फापर, जौँ, पाखेधान, भटमास, सिमि, बोडी, तिल, पिडाँलु जस्ता रैथाने बस्तुको उत्पादन बर्षेनी घटिरहेको जानकारी दिनुभयो । अघिल्लो बर्ष जिल्लामा ६८० हेक्टर क्षेत्रफलमा गरिएको कोदो खेतीबाट १२४५ मेट्रिकटन उत्पादन भयो भने गएको बर्ष ६८५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा १२७५ मेट्रिकटन मात्रै उत्पादन भएको छ ।
यस्तै अघिल्लो बर्ष ४५० हेक्टरमा जौँ खेती गरिदा ५२० मेट्रिकटन उत्पादन भएकोमा गएको बर्ष ३७५ हेक्टरमा जौँ खेति गरिएकोमा ४२५ मेट्रिकटन मात्र उत्पादन भएको छ । ८९ हेक्टरमा पाखेधान खेती गरिदा १७८ मेट्रिकटन, एक दशमलव ५ हेक्टरमा फापर खेती गरिएकोमा एक मेट्रिकटन, १६८० हेक्टरमा भटमास खेती गरिएकोमा २१८४ मेट्रिकटन, १० हेक्टरमा गहत खेती गरिदा ९ दशमलव ५ मेट्रिकटन, ४७० हेक्टरमा बोडी खेती गरिदा ५२० मेट्रिकटन, ३१० हेक्टरमा सिमि खेती गरिएकोमा ६२० मेट्रिकटन र १८० हेक्टरमा पिँडालु खेती गरिएकोमा ३२४० मेट्रिकटन उत्पादन भएको छ ।
तथ्यांङ्कलाई हेर्दा बर्षेनी रैथाने बालीको उत्पादन घट्दै गएका कार्यालय प्रमुख आचार्यको भनाइ छ । ‘कोदो, जौँ, फापर जस्ता रैथाने चिज स्वास्थ्यका लागि निकै उपयोगी छ, अहिले शहरमा यसको माग उच्च छ, स्वदेशी उत्पादनले नपुगेर भारत, चिनजस्ता मुलुकबाट आयात भएको पाइन्छ, तर गाउँमा उत्पादन भएको बस्तुले बजार भेट्टाउन सकेको छैन्, जिल्लाका स्थानीय वजारमा यी बस्तु खपत हुदैन्, बाहिर लिएर बिक्री गर्न कृषकको सञ्जाल छैन्’ उहाँले भन्नुभयो ‘वजारको व्यवस्था नभएकै कारण रैथाने बाली खेतीमा कृषकको आकृर्षण कम देखिन्छ ।’
अधिकांश कृषकले उत्पादन गरेको बस्तु घरायसी प्रयोगमै सिमित हुने गरेको आचार्य बताउनुहुन्छ । ‘मःम, सेल, पुरी, चाउमिन लगाएतका परिकार बनाउन शहरमा रैथाने बालीको प्रयोग हुन थालेको छ, तर गाउँका कृषकले कोदो, फापर, जौँ लगाएतका रैथाने बस्तुको महत्व कम बुझेका छन्, आयातित चामल किनेर खान्छन्, कहिलेकाही रोटी, ढिडो, सातु बनाएर खाएपनि अधिकांश कोदो र जौँ जाँड बनाउनमा प्रयोग हुने गरेको पाइन्छ’ उहाँले भन्नुभयो ‘शहरका भान्सामा कोदो, जौँ, फापर जस्ता रैथाने वालीका परिकारहरु पाक्दा रैथाने वाली उत्पादन गर्ने कृषकका भान्सामा आयातित चामलको भात पाक्ने गरेको छ ।’

file
रैथाने बाली प्रवद्र्धनमा जोड
स्थानीय तहमा संघीय सरकारले ससर्त अनुदान मार्फत रैथानेबाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको पाइन्छ । यसका अलवा कृषि बिकास कार्यालय सल्यानले पनि जिल्लामा रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । रैथाने बालीको महत्व र यसले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा कृषकलाई जानकारी दिदैँ खेती विस्तारमा जोड दिइएको छ । गएको बर्ष कोदो, फापर र भटमासको मुल बिउ कृषकहरुलाई वितरण गरिएको छ ।
दोलखा र नेपालगन्जबाट खरिद गरेर ३६० किलो ओख्ले–१ जातको कोदो र ४० किलो मिठे जातको फापरको विउ दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकालाई कृषकलाई वितरण गरिएको छ । यस्तै ३९० किलो भटमासको मुल बिउ त्रिबेणीका कृषकलाई सहकारी मार्फत वितरण गरिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । यसबाट कृषक उत्साहित भएर खेती विस्तारमा लागेको उहाँको भनाइ छ ।
पाखो पारीसँगै मकैबारीको विच विचमा पनि कृषकहरुले कोदो रोपेको बनगाड कुपिण्डे नगरपालिकाका तुल्सीराम थापाले जानकारी दिनुभयो । मानिसहरु कोदो, जौँ खेतीबाट पछि हट्दै गएको भएपनि पछिल्लो समय फेरी यसको महत्व बुझेकाहरु खेतीमा लागेको उहाँको भनाइ छ । जिल्लाका सबै स्थानीय तहमा कोदो खेती हुनेगरेको भए पनि विशेष गरेर दार्मा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६, बनगाड कुपिण्डे नगरपालिकाको ६ र ९ नम्बर वडा, शारदा नगरपालिका, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाको माथिल्लो भाग एवम् कुमाख, सिद्धकुमाख गाउँपालिकाका केही क्षेत्रमा कोदो खेती हुने गरेको छ ।
यस्तै जौँ, तथा फापर उच्च बस्तीमा र भटमास, पिँडालु लगाएत बस्तुभने जिल्लाभरमा नै खेती हुने गरेको छ । गाउँ र शहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पु¥याउन आजको मुख्य जिम्मेवारी एवं आवश्यकता रहेको कृषक बताउँछन् ।