
सल्यान, ३ भदौँ ।
सल्यानमा जैविक कृषि प्रविधिसम्बन्धि तीन दिने तालिम समापन भएको छ । कृषिमा नवप्रवर्तन र दिगो उत्पादनलाई आधार मानेर जैविक कृषि प्रविधि विस्तार गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो । जिल्लाको कपुरकोट गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाका महिला तथा युवा समूहका सदस्यलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले किसानलाई रासायनिक मल र विषादीमा निर्भर कृषिबाट मुक्त गर्दै स्वस्थ र जैविक उत्पादनमा आकर्षित गरेको छ ।
तालिममा सहभागी छत्रेश्वरी गाउँपालिका–३ की हरिकला कवरले जैविक कृषि प्रविधिसम्बन्धि तालिमबाट आफुले धेरै कुरा सिक्न आएको बताउनुभयो । ‘हामीले अहिले सम्म खेतमा मल र विषादी प्रयोग नगरी उत्पादन गर्नै नसकिने जस्तो सोच्दथ्यौँ, तर यो तालिमले सिकाएको ज्ञानले थाहा भयो, प्रकृतिले नै दिएको स्रोतलाई सदुपयोग गरेर स्वस्थ उत्पादन गर्न सकिने रहेछ, अब मैले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नेछु’ उहाँले भन्नुभयो ।
यस्तै, कपुरकोट गाउँपालिका–५ का हुकुम बहादुर विश्वकर्माले यस तालिमबाट सैद्धान्तिक सँगै व्यवहारिक ज्ञान सिकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो तालिमले मलाई मात्र होइन, मेरो समुदायलाई पनि ठूलो लाभ पु¥याउनेछ, अब हामीले आफ्नै गाउँमा जैविक तरकारी, अन्न उत्पादन गरेर बजारमा लैजान सक्ने छौँ, यसले आम्दानी मात्र बढाउँदैन, हाम्रो स्वास्थ्य पनि सुरक्षित गर्छ ।’
आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत सञ्चालन गरिएको यो तालिम आइएम स्विडिस डेभलप्मेन्टको सहयोग, कपुरकोट र छत्रेश्वरी गाउँपालिकाको समन्वय तथा दलित विकास समाज सल्यानको आयोजनामा भएको हो । जिल्लाको सदरमुकाम खलंगामा आइतबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले किसानले दिगो उत्पादनको आधारस्वरूप जैविक कृषि प्रविधि अंगाल्नुपर्नेमा जोड दिनुभयो । ‘आज हामीले गर्ने लगानीले भविष्यको पुस्ता सुरक्षित गर्छ, जैविक उत्पादनले उपभोक्ताको स्वास्थ्य जोगाउँछ, जमिनलाई उर्वर बनाउँछ र किसानको आम्दानीमा दीर्घकालीन प्रभाव पार्छ’ उहाँले भन्नुभयो ‘सरकारले नै जैविक कृषिलाई प्रोत्साहन गरिरहेको छ ।’
तालिमका सहभागिहरूले जैविक खेतीलाई जीवनशैलीमै रुपान्तरण गर्दै यसलाई व्यवसायिक बनाउने खाँचो रहेको धारणा राखेका छन् ।
दलित विकास समाजका कार्यवाहक अध्यक्ष हेमराज विकको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विनायक रेग्मी, नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुन लगाएतको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सहजीकरण परियोजना संयोजक गुमानसिंह नेपालीले गर्नुभएको थियो ।