एमएम कप क्रिकेटको उपाधिका लागि ज्योतिपुञ्ज र त्रिभुवन भिड्दै

शनिबार सम्पन्न सेमिफाइनल खेलमा जित दर्ता गर्दै समुह ए बाट ज्योतिपुञ्ज र समुह बि बाट त्रिभुवनले फाइनल यात्रा तय गरेका हुन् । यससँगै आयोजक एमएम एकेडेमी खलंगा र बालकन्या माध्यमिक बिद्यालय टाट्के उपाधि होडबाट बाहिरिएर घर फर्किएका छन् ।

सल्यान, १४ भदौ ।
सल्यानमा सञ्चालित एमएम कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि ज्योतिपुञ्ज एकेडेमी साहुटोल र त्रिभुवन जन माध्यमिक बिद्यालय लुहापिङ भिड्ने भएका छन् । शनिबार सम्पन्न सेमिफाइनल खेलमा जित दर्ता गर्दै समुह ए बाट ज्योतिपुञ्ज र समुह बि बाट त्रिभुवनले फाइनल यात्रा तय गरेका हुन् । यससँगै आयोजक एमएम एकेडेमी खलंगा र बालकन्या माध्यमिक बिद्यालय टाट्के उपाधि होडबाट बाहिरिएर घर फर्किएका छन् ।

पहिलो सेमिफाइनल खेलमा त्रिभुवन जन माध्यमिक बिद्यालय लुहापिङले बालकन्या माध्यमिक बिद्यालय टाट्केलाई ८ विकेटले हराएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको बालकन्याले निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ४९ रन जोड्यो । बालकन्याका लागि मदन भण्डारीले ११ तथा भरत वलीले १० रनको योगदान दिनुभयो । लुहापिङका बिशाल सिंहले ३, बिश्वास थापाले २ र बिशाल थापाले १ विकेट लिनुभयो ।

५० रनको सामान्य लक्ष्य सहित मैदान छिरेको लुहापिङले ८ दशमलव २ ओभरमा २ विकेट गुमाएर भेट्टायो । लुहापिङका लागि बिशाल सिंहले १८ वलमा २७ रनको योगदान दिनुभयो । यस्तै रिजनदास श्रेष्ठ ७ रनमा नटआउट रहनुभयो । बालकन्याका लागि भरत वलीले ३ ओभरमा १४ रन खर्चिदैँ २ विकेट लिनुभयो । यसखेलमा बलिङ र ब्याटिङ दुबैमा चम्किएका लुहापिङका बिशाल सिंह प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक एमएम एकेडेमी खलंगालाई स्तब्ध पार्दै ज्योतिपुञ्ज एकेडेमी साहुटोल २ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एमएमले आफ्नो निर्धारित १२ ओभरमा ३ विकेट गुमाएर ५८ रन बनाएको थियो । एमएमका लागि आर्यन सेजवालले १९, प्रत्युस बस्नेतले १४ तथा आरुष बिष्टले १० रन जोड्नुभयो । ज्योतिपुञ्जका अनिल बस्नेत र कृष्ण बस्नेतले समान १ विकेट लिनुभयो ।

५९ रनको लक्ष्य सहित ब्याटिङ गरेको ज्योतिपुञ्जले ९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा पर्यो । ज्योतिपुञ्जको जितका लागि थेओफिलस ताम्रकारले २१ बलमा ३७ रनको महत्वपुर्ण योगदान दिनुभयो । यस्तै सचिन बुढाथोकी ५ तथा दिपेश बस्नेत ४ रनमा नटआउट रहनुभयो । एमएमका आर्यन सेजवाल एक्लैले ३ ओभरमा १४ रन खर्चिदैँ महत्वपुर्ण ५ विकेट लिएपनि जितका लागि पर्याप्त भएन् । यस्तै आरुष बिष्टले २ ओभरमा ११ रन खर्चिदैँ २ विकेट लिनुभयो । यस खेलमा महत्वपुर्ण रन लिदै टिमलाई जित दिलाउन योगदान गर्ने ज्योतिपुञ्जका थेओफिलस ताम्राकार प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

फाइनल खेल भोली बिहान ७ वजेबाट त्रिभुवन जन माध्यमिक बिद्यालयको प्रांगण लुहापिङमा हुने छ । प्रतियोगिताको विजेताले तीस हजार रुपैयाँ र उपविजेताले बीस हजार रुपैयाँ नगदका साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । एमएम एकेडेमी खलंगाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस