सल्यानमा निषेधाज्ञा जारीः सरकारी कार्यालय र मुख्य बजार क्षेत्रमा हुलदंगा रोक्न आदेश

 

सल्यान, २६ भदौ ।
जेनजी समूहद्वारा आह्वान गरिएको आन्दोलनका कारण उत्पन्न हुन सक्ने अशान्ति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले भदौ २६ गते बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्नुभएको हो । आदेशअनुसार पाँचभन्दा बढी व्यक्तिको समूह जम्मा भई प्रदर्शन गर्न, नाराबाजी गर्न, भौतिक क्षति पु¥याउने गतिविधिमा संलग्न हुन निषेध गरिएको छ ।

प्रशासनले आन्दोलनका क्रममा सम्भावित जोखिमका आधारमा जिल्लाभरका सबै सरकारी कार्यालय रहेका क्षेत्र, जिल्लाभित्रका १० वटा स्थानीय तहका नगर/गाउँ कार्यपालिकाको कार्यालय भवन तथा ५०० मिटर वरिपरिको क्षेत्र, प्रमुख बजार क्षेत्रहरूः श्रीनगर, लुहाम, लाली, कुप्कोटे, सल्लीबजार, थारमारे लगाएतका स्थानमा निषेधाज्ञा लागु भएको छ । प्रशासनले आदेशको उल्लंघन गरे कानुनी कारवाही गरिने स्पष्ट पारेको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले नागरिकहरूलाई शान्ति सुरक्षामा सहयोग पु¥याउन आग्रह गर्दै आन्दोलनलाई शान्तिपूर्ण रूपमा अभिव्यक्त गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस