स्वदेशमै सफलता पाउने बाटो : पहाडी जिल्ला सल्यानमा ड्रागन खेती

‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन, आफै खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ, एकै पटक रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ, अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि ड्रागन फलको व्यावसायिक खेती गरेको हुँ’ उहाँले थप्नुभयो ।

सल्यान, २ असोज ।

सल्यानमा ड्रागन फलको व्यावसायिक खेती विस्तार गरिएको छ । विगतका बर्षहरुमा दाङ, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा मात्रै हुने गरेको ड्रागन खेती सल्यानमा पनि विस्तार भएको हो । केहीले घरायसी प्रयोजनका लागि मात्रै २/४ बोट गमला वा ड्रममा रोपेर कौसीमा खेती गरेको भएपनि जिल्लाको जोगिदेउखोलामा भने व्यावसायिक खेती नै विस्तार भएको छ । विगतमा मकैँ, तोरी र चना खेती गर्ने बारीमा अहिले ड्रागन लटरम्म फलेको छ ।

ड्रागन खेतीबाट शारदा नगरपालिका–२ जोगिदेउखोलाका प्रदिप डाँगी उत्साहित हुनुहुन्छ । सडकको छेवैमा ड्रागन बारी छ । ड्रागनका केहीबोटमा फूल लागेको छ । केही पाक्न तयार छन् । पाकेका केही टिपेर बेच्ने हतार छ । डाँगी अचेल फल टिप्न र बेच्नमै ब्यस्त हुनुहुन्छ । कहिलेकाही पाकेको ड्रागन बेच्न श्रीनगर बजारसम्म पुगेपनि अधिकांश ड्रागन बारीबाटै बिक्री हुन्छ । जिल्लामै पहिलोपटक खेती गरिएकाले यहाँ उत्पादन भएको ड्रागन अधिकांशले स्वाद चाख्नकै लागि किन्ने गरेका छन् ।

जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुनेगरेका कारण राम्रो आम्दानी हुनेगरेको उहाँको भनाइ छ । ड्रागन फलको व्यावसायिक खेती गर्दै आउनुभएका डाँगीले ड्रागन खेतीबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । विगत चार बर्षदेखी खेती थालिएकोमा यस बर्ष राम्रो उत्पादन भएको छ । गतबर्ष थोरै मात्रामा फलेको भएपनि यसबर्ष राम्रो फलेको छ ।

सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण ड्रागन फल खेतीमा धेरै सम्भावनायुक्त भएको डाँगीको भनाइ छ । उहाँसँग अहिले रातो र सेतो ड्रागन छ । ४ बर्ष अघि कर्णाली प्रदेश ड्रागन फ्रुट्स उत्पादन केन्द्र सञ्चालन गर्नुभएका उहाँसँग ११० पोलमा ३५० बढी बोट ड्रागनका बोट छन् । एउटा पोलमा ३ देखी ४ वटासम्म बोट रोपेको उहाँको भनाइ छ ।

‘दाङ र सुर्खेतमा ड्रागन फलेको सुनेको थिए, त्यहाँ र यसक्षेत्रको हावापानी मिल्दोजुल्दो भएकाले यहाँ राम्रो फल्छ भन्ने लाग्यो, अनि मैले युटुव हेरेर खेती थालनी गरे, नयाँ खेती भएकाले सुरुआतमा केही कठिनाइ भए, तर अहिले सहज छ’ उहाँले भन्नुभयो ‘गतबर्ष धेरै फलेन्, यस वर्ष करिब ७ क्विन्टल उत्पादन हुने आँकलन छ, फल बिक्रीबाट करिब २ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ, बर्षेनी आम्दानी बढ्दै जान्छ ।’ आजभोली सेतो फल ३०० र रातो ३५० रुपैँया प्रतिकिलोमा बिक्री गरिरहेको उहाँको भनाइ छ ।

‘३०० रुपैँयामा प्रतिबिरुवा किनेर खेती सुरु गरे, हाल १०० रुपैँयाले बिरुवा पनि बेच्ने गरेको छु, जमिनमै फल्ने गरेर भटमास रोपेको छु, यसले ड्रागनलाई थप सजिलो बनाएको छ’ उहाँले भन्नुभयो ‘ड्रागन फल किन्न ग्राहकहरू स्वयं सम्पर्क गर्ने गरेका छन्, अधिकांश चाख्नकै लागि भनेर आउनुहुन्छ, २/४ किलो लिएर जानुहुन्छ, श्रीनगरकै व्यापारीबाट पनि खोजाखोज नै भैरहेको छ ।’ अन्य तरकारी, पशुपालन लगायतका कृषि व्यवसायमा मेहनतअनुसारको लगानी हुन नसकेको गुनासो आउने गरेपनि ड्रागन फलको खेतीमा त्यो समस्या नरहेको उहाँको बुझाइ छ ।

‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन, आफै खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ, एकै पटक रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ, अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि ड्रागन फलको व्यावसायिक खेती गरेको हुँ’ उहाँले थप्नुभयो । डाँगी धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेहरूका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस