
तस्वीर : नोखा भण्डारीको पुरानो जीर्ण घर र नयाँ घर ।
सल्यान, १० कार्तिक ।
सल्यानको बन्गाड कुुपिण्डे नगरपालिका–९ रातामाटाकी ६१ बर्षिया भगी विकको घर असोज ४ गते भत्कियो । एक्कासी साँझ ६ बजेको समयमा दुईतले घरको एकातिरको भाग पुरै भत्किएको हो । घरमा भएका भगी र उहाँका श्रीमान ढोले विक भागेर बाँच्न सफल भएपनि घरमा भएको सरसामान जोगाउन सकिएन् । घर भत्किएपछि वेघर भएका भगी सम्पती छिमेकीको घरमा बसे । खुला आकाशमुनी बसेर पकाउने र खाने गरेका उनीहरुले छिमेकीकै घरमा बसेर दशैँ मनाए । छोरीहरु विहे गरेर गैसकेको र छोरा नहुदा त्यस घरमा ती दम्पती बस्दै आएका थिए ।
‘घरमा बुढाबुढी मात्रै छौँ, खेतीकिसानी गरेर जीवननिर्वाह गर्दै आएका छौँ, तर एक्कासी घर भत्किएपछि हामी घर न घाटको भयौँ, चाडपर्वमै घर नहुदाँ दशैँ पनि दशैँजस्तो लागेन’ भगीले भन्नुभयो ‘राहतका लागि खबर गरेका थियौँ, तर घर बन्न सक्ने अवस्था थिएन्, हामीलाई चिन्ता घरमै थियो ।’ प्रहरीकै नेतृत्वमा नयाँ घर निर्माण भएपछि भगी दम्पती अहिले खुसी छ । ‘अपराध रोक्ने र समाजमा शान्तिसुव्यवस्था कायम गर्ने प्रहरीले नागरिकको साथमा आएर घर बनाउदा निकैँ खुसी लागेको छ, प्रहरी दुखमा पनि नागरिककै साथमा छ भन्ने आभास बनाएको छ, घर बनाइदिएकोमा प्रहरीलाई धन्यवाद छ’ उहाँले थप्नुभयो ।
बागचौर नगरपालिका–७ भण्डारीडाँडाकी ८० बर्षिया नोखा भण्डारी एकल महिला हुनुहुन्छ । छोरीले विहे गरेर गएको र श्रीमानको मृत्युपछि एक्लै बस्दै आउनुभएकी उहाँको घर बस्न लायक थिएन् । घर चर्किएको थियो । घरका गाह्राबाट ढुंगा खस्थे । घरका काठ कुहिएकाले टेको लगाएर अड्याइएको थियो । भुकम्प गएको बेलामै जोखिममा परेको घरमा नोखा हिउँद होस् या बर्खा यही बस्दै आउनुभएको थियो ।
प्रहरीकै नेतृत्वमा नयाँ घर बनेपछि उहाँ अहिले खुसी हुनुहुन्छ । ‘घर बस्न लायक थिएन्, कति बेला भत्किने हो, निश्चित थिएन्, घरमा डराई डराई बस्नुपर्ने बाध्यता थियो, तर यही घरबाट अनेत्र सरेर जाने अवस्था पनि थिएन्, नयाँ घर बनाउने पैसा थिएन्, अर्को घर पनि थिएन्, बाध्यताले यही घरमा बस्दै आएकी थिए’ खुसी हुदैँ नोखाले भन्नुभयो ‘प्रहरीलाई धन्यवाद छ, मेरो घर बनाइ दिनुभयो, कोही नहुनेको दैव हुन्छ भन्थे, नयाँ घर पाएकी छु, खुसी छु ।’ नोखाको पुरानो घर भत्काएर अहिले चिटिक्क परेको जस्तापाताले छाएको घर निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हाल जिल्लाका तीन विपन्न परिवारको नयाँ घर निर्र्माण गरिएको छ । भगी र नोखासँगै बन्गाड कुपिण्डे नगरपालिका–९ टाट्केका अमृता परियारको पनि नयाँ घर निर्माण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका, गरिव, बेसाहारा परिवारको लागि जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीको नेतृत्वमा प्रहरीले घर निर्माण गर्दै आएको छ । कालिमाटी, शारदा लगाएतका तीन स्थानमा विपन्न परिवारको घर निर्माणको तयारी गरिएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी केवल कानुन कार्यान्वयन र अपराध नियन्त्रणमा सीमित संस्था होइन, नागरिकसँगै सुख–दुःखमा हातेमालो गर्ने समाजसेवी संस्था पनि हो भन्ने सन्देश दिनका लागि यस्ता अभियान सुरु गरिएको हो । ‘हाम्रो प्राथमिक जिम्मेवारी अपराध नियन्त्रण, अनुसन्धान र शान्ति–सुरक्षा कायम राख्नु नै हो’ प्रहरी प्रमुख केसीले भन्नुभयो ‘तर प्रहरी केवल कानुनी काममै सीमित रहँदैन, समाजमा राहत, पुनःस्थापना र मानवतासँग जोडिएका यस्ता कार्यमा समेत सक्रिय भएर लाग्दा नागरिकसँगको सम्बन्ध अझ आत्मीय र विश्वासपूर्ण बन्छ ।’
उहाँले विपन्न, असहाय र घरबारविहीन परिवारका लागि घर निर्माणजस्ता कार्यहरू प्रहरीको समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको बताउनुभयो । यस कार्यले प्रहरीप्रति सर्वसाधारणमा भरोसा बढाउने र समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेको बताउँदै उहाँले थप्नुभयो ‘हामीले सामाजिक उत्तरदायित्वका कामसँगै नियमित प्रहरी सेवा पनि निरन्तर सञ्चालन गरिरहेका छौँ, अपराध अनुसन्धान, सुरक्षाकर्मीको उपस्थितिलाई प्रभावकारी बनाउने, सडक सुरक्षालाई बलियो पार्ने, मादक पदार्थ नियन्त्रण, घरेलु हिंसाको रोकथाम लगायतका नियमित गतिविधि पनि यथावत रूपमा चलिरहेका छन् ।’
विपन्नको घर निर्माणमा प्रहरीसँगै स्थानीय जनप्रतिनिधि र नागरिकको पनि उल्लेखनीय सहयोग रहेको छ । स्थानीय स्रोत परिचालनदेखि समन्वय र सहकार्यमा समुदायकै सहभागिता रह्यो । बागचौर नगरपालिका–७ का वडाअध्यक्ष प्रेम बहादुर डाँगीका अनुसार वडासँग समन्वय गरेर लाभग्राहीको घर छनौट गरिएको थियो । ‘नोखा भण्डारी आमा हाम्रो वडाकी एकल महिला हुनुहुन्छ, घर बस्न लायक थिएन, तर उहाँसँग नयाँ घर बनाउन सक्ने आर्थिक अवस्था पनि थिएन’ वडाअध्यक्ष डाँगीले भन्नुभयो ‘त्यही कारण उहाँको घर निर्माणका लागि प्रहरीसँग समन्वय गरिएको हो, प्रहरीकै नेतृत्वमा घर बनाउन पाउँदा हामी सबै वडावासी खुसी छौं ।’
‘प्रहरी, समुदाय र जनप्रतिनिधि मिलेर काम गरे असम्भव केही हुँदैन, प्रहरीको सामाजिक उत्तरदायित्वमा हाम्रो पनि साथ रहनेछ, आगामी दिनमा यस्ता उदाहरणीय सहयोगलाई निरन्तरता दिनुपर्छ’ उहाँले थप्नुभयो ।