एउटा मौन आत्मा : जसले न पहिचान पायो, न मलामी !

शायद ऊ घरबाट कुनै दिन रिसाएर निस्किएकी थिई ! शायद उसलाई हिंसाबाट, यातनाबाट, अभावबाट, दरिद्रताबाट भाग्न परेको थियो ! वा, शायद उसको कथा कसैले सुनेन्, कसैले कहिल्यै सुन्न चोहेन् । र अब उसको कथा माटोभित्र गाडिएको छ, एकदमै चुपचाप, तर भारी छ । जब प्रहरी, स्वास्थ्यकर्मी र सरोकारवाला निकायका केही मान्छेले मिलेर त्यस शवलाई गाड्दै थिए, त्यो दृश्यले एउटा ठूलो प्रश्न उब्जायो, हामी कसरी यति निस्पृह भयौं ? मानवताको अर्थ के हो, यदि एउटा मृत आत्माको पनि कसैले खोजी गर्दैन भने ?

सल्यान, १५ कार्तिक ।

तिहार पछिको दोस्रो दिन । गाउँशहरमा तिहारको रमझम अझै सकिएको थिएन् । सप्तरंगी टिका र मखमली, सयपत्री माला बोकेर दाजुभाइसँग टिका लगाउन पुगेका दिदीबहिनी फर्किने क्रम चलिरहेको थियो । ८ कार्तिक, शनिवार दिउँसो २ वजेतीर । शारदा नदीको किनारमा महिलाको शव भेटिएको खबर सबैतीर सार्वजनिक भयो । प्रहरी घटनास्थल तर्फ लाग्यो । स्थानीयको भिड पनि उत्तिकै थियो ।

शारदा नगरपालिका–१२ गाईनेटा नजिकै शान्त देखिने शारदा नदीको किनारमा पानीले हल्का तरङ्ग खेलिरहेको थियो । तर त्यो दिन नदीको तरङ्गसँगै एक अचम्मको मौनता थियो, जहाँ एक महिलाको शव थियो । आधा शरीरमा कपडा नभएको, हिलोले ढाकिएको, पानीमा तैरिरहेको अवस्थामा शव भेटियो । शारदा नदीले त्यो दिन एउटा कथा ल्यायो, तर त्यो कथाको मुख्य पात्रको नाम थिएन, ठेगाना थिएन, चिन्ने मान्छे कोही थिएन् ।

रातो सुरुवाल, रातो रङको फुल बाउला भएको कुर्तामा सेतो फुल बुट्ठा भएको कुर्ता, कपाल कालो छोटो भएको, उचाई अन्दाजी ५ फिट जति भएको, उमेर अन्दाजी ३५/३६ बर्षको जस्तो देखिने ती महिलाको शव भेटिएको बारेमा सबैतिर खबर फैलियो । प्रहरीले सबै मातहतका युनिटमार्फत शव भेटिएको खबर गरे । पत्रपत्रिकादेखी सामाजिक सञ्जालसम्ममा खबर सार्वजनिक भयो । तर न महिलाको पहिचान खुल्यो, न आफन्त नै भेटिए ।

घटनास्थलको आवश्यक प्रक्रिया पुरा गरेर प्रहरीले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानको पोष्टमार्टम गृहमा ल्यायो । कानुनी प्रक्रिया अनुसार शवको पोष्टमार्टम भयो । तर अझै शवको पहिचान हुन सकेन् । दिन वित्यो, रात वित्यो, अस्पतालमै शव राखेर सातादिन वित्यो तर आफन्त कोही सम्पर्कमा आएनन् । शवलाई लामोसमयसम्म फ्रिजमै राख्ने व्यवस्था जिल्लामा नहुदा शव कुहिन थाल्यो, पोष्टमार्टम गृह वरिपरी दुर्गन्ध फैलिन थाल्यो । अनि प्रहरी शवको पहिचान विना नै दाहसंस्कार गर्न बाध्य भयो ।

‘शव भेटिएलगत्तै हामीले सम्पूर्ण प्रक्रिया अघि बढायौं, तर पहिचान गर्न सकिएन, एक सातासम्म खोजी गर्यौं, कोही आएन्, शव अस्पतालको पोष्टमार्टम गृहमा राखियो, आशा थियो, कुनै न कुनै दिन, कुनै आँखाले ती अनुहारलाई चिन्छ होला, कोही आएर भन्ला, यो मेरी आमा हुन्, यो मेरी छोरी हो, यो मेरी दिदी हो’ सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसी भन्नुहुन्छ ‘सातादिन हुदा पनि त्यो ढोका कसैले ढक्ढक्याएन्, कसैले आएर त्यो निस्सासिएको आत्मालाई पहिचान दिएन् ।’

अन्ततः कानुनी प्रक्रिया पूरा गरी प्रहरीले नै शवलाई जंगलको एक छेउमा गाडेको उहाँको भनाइ छ । माटोले ढाकियो शरीर, तर प्रश्नहरू अझै हावामा तैरिरहे, को थिई ऊ ? कहाँबाट आएकी थिई ? किन उसलाई कसैले खोजेन ? यो केवल एक अज्ञात महिलाको मृत्यु होइन, यो हाम्रो समाजको मौनताको कथा हो, जहाँ ‘आफन्त’ शब्द कागजमा मात्र बाँकी रह्यो । जहाँ कुनै मान्छे बेपत्ता हुन्छ, हराउँछ, मर्छ, र कोही फर्केर हेर्दैन् ।

शायद ऊ घरबाट कुनै दिन रिसाएर निस्किएकी थिई ! शायद उसलाई हिंसाबाट, यातनाबाट, अभावबाट, दरिद्रताबाट भाग्न परेको थियो ! वा, शायद उसको कथा कसैले सुनेन्, कसैले कहिल्यै सुन्न चोहेन् । र अब उसको कथा माटोभित्र गाडिएको छ, एकदमै चुपचाप, तर भारी छ । जब प्रहरी, स्वास्थ्यकर्मी र सरोकारवाला निकायका केही मान्छेले मिलेर त्यस शवलाई गाड्दै थिए, त्यो दृश्यले एउटा ठूलो प्रश्न उब्जायो, हामी कसरी यति निस्पृह भयौं ? मानवताको अर्थ के हो, यदि एउटा मृत आत्माको पनि कसैले खोजी गर्दैन भने ?

शायद शारदा नदीले हामी सबैलाई ऐना देखाएको हो, हाम्रो संवेदना, हाम्रो उदासीनता, अनि हाम्रो मौनता । शारदाको किनारमा अझै पनि पानी बगिरहेछ, शान्त र स्थिर तर त्यो नदीले त्यो दिन देखेको कुरा कहिल्यै बिर्सने छैन । एक महिलाको शरीर, जसले समाजको मौन घाउ देखायो । एक आत्मा, जसको पहिचान हरायो, तर जसले हजारौं प्रश्न छोडी गयो । कोही त होला, कतै न कतै, जसको मुटु भक्कानिन्छ, अनि शारदाको तरङ्ग हेर्छ । सायद उसले महसुस गर्छ, कसैको प्रतीक्षा अझै बाँकी छ ।

शारदाको किनारमा आज पनि एउटा तरङ्ग बग्छ, तर त्यस तरङ्गभित्र एउटा मौन आत्माको रुदन मिसिएको छ, न नाम, न ठेगाना, केवल एक कथा, जसले मानवता सम्झाइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस