शिक्षामा नयाँ अध्याय : स्यालाको विद्यालय पुनर्निर्माण हुँदै

‘अब यहाँको बिद्यार्थीले सुरक्षित भवनमा पढ्न पाउँछन् भन्नेमा हामी खुसी छौं, गाउँले सबैले आ–आफ्नो काम छोडेर श्रमदान गरेका छन्, यो हाम्रो सामूहिक गर्व हो, विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै शिक्षामा नयाँपन दिने छौँ, बिद्यार्थी संख्या बढ्ने छ, गुणस्तरीय पठनपाठन हुने छ’ प्रधानाध्यापक घिमिरेले थप्नुभयो ‘खानेपानी बिद्यालयमै छ, शौचालय छ, अव भौतिक संरचनाभन्दा गुणस्तरीय शिक्षामा जोड दिन्छौँ ।’

सल्यान, १९ कार्तिक ।
सल्यानको शारदा नगरपालिका–११ तल्लो स्यालामा रहेको बालकल्याण आधारभूत विद्यालयको पुनर्निर्माण थालिएको छ । वर्षौंदेखि जीर्ण र भत्किने अवस्थामा पुगेको विद्यालय भवन नगरपालिकाको नेतृत्व, नेपाल प्रहरीसँगको सहकार्य र स्थानीय समुदायसँगको श्रम, सहयोग र समर्पणले पुनर्निर्माणको काम सुरु भएको हो । २०६३ सालमा स्थापना भएको यो विद्यालय एक समय स्यालाका बालबालिकाको कखरा सिक्ने थलो थियो ।

तर समयसँगै भवन जीर्ण बन्दै गयो । जस्तापातामा खिया लाग्यो, भित्तामा दरार परे, झ्यालढोका कुहिए । हरेक वर्षात् पर्दा भत्किने डरले विद्यार्थीहरू पढ्न जान डराउँथे । अभिभावकहरू आफ्ना सन्तानलाई पठाउँदा पनि मन डरले भरिन्थ्यो । विद्यालयका प्रधानाध्यापक सुमन घिमिरेले विगत सम्झदैँ भन्नुभयो ‘जीर्ण भवनले पठनपाठनमा समस्या बनाएको थियो, पानी परेपछि भवन भत्किने डरले धेरै बिद्यार्थी विद्यालयमा आउँदैन्थे, कहिलेकाहीँ कक्षाकोठा भन्दा पनि भवन छाएको जस्तापातामुनि टप्किरहेको पानी नै ठूलो चिन्ता बन्थ्यो ।’

उहाँका अनुसार हाल विद्यालयमा जम्मा १४ जना विद्यार्थी अध्ययनरत छन् । जसमा बालविकासमा ६ जना, कक्षा १ मा ५ जना, कक्षा २ मा १ जना र कक्षा ३ मा २ जना बिद्यार्थीले पढ्दै आएका छन् । यस बिद्यालयमा बिद्यार्थी संख्या सानो भएपनि शिक्षाप्रतिको उत्साह ठूलो छ । विद्यालयमा स्थायी दरबन्दीका १, नगर अनुदानका १, बालविकासका १ र कार्यालय सहयोगी १ जना गरी चार जना कार्यरत छन् ।

‘अब यहाँको बिद्यार्थीले सुरक्षित भवनमा पढ्न पाउँछन् भन्नेमा हामी खुसी छौं, गाउँले सबैले आ–आफ्नो काम छोडेर श्रमदान गरेका छन्, यो हाम्रो सामूहिक गर्व हो, विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै शिक्षामा नयाँपन दिने छौँ, बिद्यार्थी संख्या बढ्ने छ, गुणस्तरीय पठनपाठन हुने छ’ प्रधानाध्यापक घिमिरेले थप्नुभयो ‘खानेपानी बिद्यालयमै छ, शौचालय छ, अव भौतिक संरचनाभन्दा गुणस्तरीय शिक्षामा जोड दिन्छौँ ।’

भवन जीर्ण भएपछि श्रमदानबाट नै ५ कोठे भवनको पुनर्निर्माण थालिएको छ । यसै महिना भवनको निर्माण सक्नेगरी काम भैरहेको वडाअध्यक्ष राजेश कुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण सामग्रीहरु झ्याल, ढोका, सिमेन्ट, बालुवा, जस्तापाता लगाएतका सामाग्री नगरपालिकाले खरिद गरेको छ भने जनप्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय भवन निर्माण गर्ने कार्यमा खटिएका छन् ।

बिद्यालय भवनको हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । यही महिना भित्रै भवन निर्माण पूरा गरेर पठनपाठनलाई नियमित र प्रभावकारी बनाउने योजना रहेको उहाँको भनाइ छ । ‘नगरपालिकाको नीति नै जीर्ण विद्यालयहरू पुनर्निर्माण गर्न ‘श्रमदान अभियान’ हो, गत वर्ष पनि नेपाली सेनासँग सहकार्य गरेर आधा दर्जनभन्दा बढी विद्यालयका पुराना छाना फेरेका थियौं, यस पटक जीर्ण बिद्यालय भवनको पुनर्निर्माण थालिएको छ’ नगरप्रवक्ता समेत रहनुभएका वडाअध्यक्ष शर्माले भन्नुभयो ।

नगरपालिकाले अरू जीर्ण विद्यालयहरू पनि पुनर्निर्माण गर्ने योजना बनाएको छ । स्यालाको यो पहलले शिक्षामा समुदायको स्वामित्व र सहयोगको नयाँ अध्याय सुरु गरेको शर्माको भनाइ छ । नयाँ भवन बनेपछि बालबालिकाले केवल सुरक्षित स्थानमा पढ्ने मात्र होइन, शिक्षाप्रतिको विश्वास पनि पुनःजागृत हुने स्थानीयको विश्वास छ । भवन पुनर्निर्माण कार्यमा नगरप्रमुख प्रकाश भण्डारी, प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसी लगायत जनप्रतिनिधि र सुरक्षाकर्मी र स्थानीयको रूपमा संलग्नता रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस