नगर बसमा नागरिकलाई २५ प्रतिशत भाडा छुट

सल्यान, २७ कार्तिक ।

सल्यानको शारदा नगरपालिकाले नगर बस सेवा सञ्चालन गरेको छ । नगरका विभिन्न वडामा सञ्चालन हुने गरि सोमबारबाट नगरपालिकाले बस सेवा सञ्चालन गरेको हो । लु.प्र.०२–००१ख०३६७ नम्बरको बसबाट सेवा प्रारम्भ गरिएको हो । मुख्यतः जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर देखी खलंगासम्म हुने यात्रुको चापलाई मध्यनजर गर्दै वस सञ्चालन हुने छ । यसका साथै साताका छ दिन नगरका विभिन्न बस्तीहरुमा बस सेवा सञ्चालन हुने छ ।

नगरपालिकाका अनुसार प्रत्येक आइतबार देखी शुक्रवारसम्म बिहान ९ वजे श्रीनगरबाट खलंगा र बिहान ११ वजे खलंगाबाट श्रीनगर हुदैँ रामेखोला पुगेर पुनः श्रीनगरसम्म बस सञ्चालन हुने छ । यस्तै आइतबार दिउँसो ३ वजे माल्नेटा, सोमबार दिउँसो ३ वजे साल्चौर, मंगलबार दिउँसो ३ वजे ओख्रेनी, बुधबार दिउँसो ३ वजे हिवल्चा, बिहीबार दिउँसो ३ वजे स्यानीखाल र शुक्रबार दिउँसो ३ वजे सापमारा बस सञ्चालन हुने छ ।

शनिवारको दिन भने श्रीनगर देखी खलंगासम्म नियमित ओहोरदोहोर गर्ने छ । बसमा ७० बर्षमाथिका जेष्ठनागरिक र क बर्गको अपाङ्गता भएका व्यक्तिहरुको लागि निःशुल्क सेवा उपलब्ध रहने नगरपालिकाका प्रवक्ता राजेश कुमार शर्माले जानकारी दिनुभयो । यस्तै बसमा बिद्यार्थीलाई ५० प्रतिशत छुट तथा तोकिएको भाडामा सबै नागरिकलाई २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ‘यस बर्ष एउटा बसबाट सेवा सुरु गरेको नगरपालिकाले यसको सञ्चालनको अवस्था हेरेर थप बस खरिद गर्ने वा के गर्ने भन्ने बारेमा निर्णय हुन्छ’ उहाँले भन्नुभयो ।

‘यो बस सेवा नगरवासीका लागि मात्रै होइन्, सम्पूर्ण सर्वसाधारणका लागि पनि ठूलो राहत हो, लामो समयदेखि नागरिकहरूले सस्तो र भरपर्दो यातायात सेवाको माग गर्दै आएका थिए, अहिले हामीले पहिलो चरणमा एउटा बस सञ्चालन गरेका छौं, र सेवाको अवस्था हेरेर थप बस सञ्चालन गर्ने योजना पनि छ’ उहाँले थप्नुभयो ‘नगरपालिकाले सामाजिक उत्तरदायित्वका हिसाबले केही विशेष वर्गका यात्रुलाई विशेष सुविधा प्रदान गरेको छ, हामी चाहन्छौं, यो बसले सबै बस्तीका नागरिक आवतजावत गर्न सकून् र नागरिकलाई यातायात सहज होस् ।’ श्रीनगर खलंगा भाडा ५० रुपैँया छ ।

बसमा चालक लगाएतका कर्मचारी नगरलै व्यवस्था गरेको छ । हाल सार्वजनिक सवारीसाधनले लिदै आएको बस भाडामा नगरबसले छुट दिने छ । बस सेवाको सुरुवातसँगै स्थानीयवासी उत्साहित बनेका छन् । नियमित र भरपर्दो रुपमा बस सेवा सञ्चालन भए महंगो भाडा तिरेर अटो वा अन्य सवारीसाधनमा यात्रा गर्ने झण्झटको अन्त्य हुने उनीहरुले अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस