
सल्यान, ४ मंसिर ।
नेपाल पत्रकार महासंघ सल्यानको ३०औँ स्थापना दिवस उत्साहपूर्वक मनाइएको छ । २०५२ मंसिर ४ गते वरिष्ठ पत्रकार हरिशरण आचार्यको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको ऐतिहासिक क्षणलाई स्मरण गर्दै मनाइने यो दिवस यस वर्ष पनि विहीबार भावनात्मक एकता, पेशागत गौरव र पत्रकारिताको दिगो यात्राप्रतिको प्रतिबद्धतासहित मनाइएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्लामा सञ्चार क्षेत्रले काटेको यात्रा, भोगेका चुनौती, सिर्जना गरेका अवसर र भविष्यमा थप सक्षम र जिम्मेवार बन्नुपर्ने आवश्यकता गहिरोसँग उजागर गरिएको छ ।
कार्यक्रममा बोल्दै तदर्थ समितिका संस्थापक अध्यक्ष हरिशरण आचार्यले ७९ वर्षको उमेरमा पनि आफू नागरिकलाई सूचना तथा सन्देश दिन निरन्तर सक्रिय रहेको बताउँदै विगतको पत्रकारिता यात्राको स्मरण गर्नुभयो । ‘पहिले पत्रकारिता गर्न निकै कष्टकर हुन्थ्यो, सूचनाको स्रोत पत्ता लगाउने, तथ्याङ्क खोज्ने, सार्वजनिक व्यक्तिसँग संवाद गर्न सक्ने वातावरण समेत सहज थिएन’ उहाँले भन्नुभयो ‘पछिल्ला वर्षहरूमा अनुसन्धानात्मक वा खोजमूलक समाचारमा केही कमी देखिएको छ, हत्या, बलात्कार, दुर्घटनाजस्ता घटनामूलक समाचारको बढ्दो प्रवाहले समाजमा निराशा थपेको छ ।’
पाठक–श्रोताले अपेक्षा गर्ने सूक्ष्म, तथ्यपूर्ण र समाज रूपान्तरणमा टेवा पुग्ने सामग्री वृद्धि गर्नुपर्नेमा उहाँको जोड छ । ‘जिल्लाका विविध क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूको कथा, संघर्ष र उदाहरणलाई उजागर गर्नु पनि पत्रकारिताको कर्तव्य हो, पत्रकारितामा समाजलाई सही मार्गतिर अघि बढाउन सक्ने क्षमता भएकाले अझै जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ सल्यानका पूर्वअध्यक्ष रमेशकुमार गौतमले राज्यबाटै पत्रकार पीडित बन्ने अवस्थाले पत्रकारिताको मूल आत्मामै चुनौती थपिएको बताउनुभयो । पत्रकार पेन्सन, उपकरण अनुदानलगायतका कार्यक्रम राजधानी तथा केही शहरमा मात्रै केन्द्रित हुँदा मोफसलका पत्रकारले अझै अवसर गुमाइरहनुपरेको उल्लेख गर्दै उहाँले राज्यले आवश्यक लगानी नगरे पनि पत्रकारहरू जिम्मेवार र पेशागत आचरणसहित निरन्तर सक्रिय रहेको बताउनुभयो । विगतमा समाचारका स्रोत खोज्न निकै कठिनाइ हुने भए पनि अहिले प्रविधि, स्रोतसाधन र पहुँच सहज भएपछि समाचार निर्माण प्रक्रियामा पर्याप्त सहयोग पुगेको उहाँको भनाइ छ ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका पूर्वअध्यक्ष प्रतिक इच्छुक शर्माले सल्यान शाखा चुनौतीपूर्ण परिस्थितिमा स्थापना भएको र त्यसैले यसको इतिहास प्रेरणादायी रहेको बताउनुभयो । अग्रज पत्रकारहरूले देखाएको संघर्ष, अनुशासन र पेशागत प्रतिबद्धता आजका पत्रकारका लागि महत्वपूर्ण सिकाइका स्रोत हुने गरेको उहाँको भनाइ छ । यस्तै पूर्वकार्यवाहक अध्यक्ष सनतकुमार शर्माले विगतका अनुभव र सिकाइलाई निरन्तर परिमार्जन गर्दै अझ प्रभावकारी समाचार उत्पादनमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । जनपक्षीय समाचारमार्फत समाजलाई सही सन्देश दिने, गलत मार्गमा लाग्नबाट रोक्ने र जनचेतना अभिवृद्धि गर्ने कार्य पत्रकारको मूल भूमिकामध्ये एक भएको उहाँको भनाइ छ ।
कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले स्थापना दिवसले संस्थाको यात्रा, संघर्ष, उपलब्धि र भविष्यलाई जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउँदै सत्य, निष्पक्षता र पत्रकारिताको मर्यादा संरक्षण गर्दै स्वतन्त्र रूपमा काम गर्न सबैलाई आग्रह गर्नुभयो । विगतको तपस्या सम्झँदा वर्तमानका चुनौतीहरू सहज लाग्ने मात्र होइन, सामूहिक संकल्पलाई अझ सबल बनाउने उत्प्रेरणासमेत मिल्ने भएकाले सत्यतथ्यको बाटो कहिल्यै नबिराउन उहाँको सुझाव छ ।
शाखाका उपाध्यक्ष शिव डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव बुद्धि पुनले गर्नुभएको थियो ।