मानवअधिकार रक्षकको सुरक्षामा सञ्चार रणनीति अपरिहार्य

मानवअधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी सञ्चार रणनीति अत्यावश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरूले युवा मानवअधिकार रक्षकहरू लोकतान्त्रिक समाजका महत्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै रक्षकहरुले उठाउने आवाजलाई राज्यका निकाय र निर्वाचित जनप्रतिनिधिले सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् ।

सल्यान, ४ पुस ।
मानवअधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी सञ्चार रणनीति अत्यावश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरूले युवा मानवअधिकार रक्षकहरू लोकतान्त्रिक समाजका महत्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै रक्षकहरुले उठाउने आवाजलाई राज्यका निकाय र निर्वाचित जनप्रतिनिधिले सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् । शुक्रवार देखी सल्यानको श्रीनगरमा सुरु भएको सुरक्षाका लागि सञ्चार रणनीति ः निर्वाचित जनप्रतिनिधि तथा युवा मानवअधिकार रक्षकविच अन्तरपुस्ता कार्यशालाका वक्ताहरुले यस्तो बताएका हुन् ।

सरोकारवालाहरूले गलत सूचना, अफवाह र असावधानीपूर्ण अभिव्यक्तिले समस्या झन् जटिल बन्न सक्ने भएकाले सचेत भएर सञ्चार गर्नुपर्नेमा जोड दिएका छन् । कार्यशालाको उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य भिम प्रकाश शर्माले लोकतन्त्रको सुदृढीकरणमा युवा मानवअधिकार रक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि युवाहरूले तथ्यमा आधारित, जिम्मेवार र सुरक्षित सञ्चार रणनीति अपनाउन आवश्यक रहेको बताउनुभयो ।

‘युवा मानवअधिकार रक्षकहरू समाजका ऐना हुन्, उनीहरूको आवाज दबिनु हुँदैन, राज्यले उनीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ भने युवाहरूले पनि जिम्मेवार ढंगले आफ्ना कुरा राख्न जान्नुपर्छ’ पुर्वमन्त्री समेत रहनुभएका शर्माले भन्नुभयो ‘कर्तव्य र अधिकारलाई सँगै अघि बढाउन अति आवश्यक छ ।’ अन्तरपुस्ता कार्यशालाले जनप्रतिनिधि र युवाबीचको विश्वास बढाउने उल्लेख गर्दै उहाँले मानवअधिकार संरक्षणका सवालमा राज्यका निकाय, स्थानीय सरकार, प्रशासन र युवा मानवअधिकार रक्षकबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले स्थानीय तहमा मानवअधिकारको अवस्था मजबुत बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले मानवअधिकार रक्षकहरूले भोग्दै आएका जोखिम र चुनौतीप्रति स्थानीय सरकार गम्भीर रहेको उल्लेख गर्दै सहकार्यका लागि जिल्ला समन्वय समिति सधैँ तयार रहेको स्पष्ट पार्नुभयो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मानवअधिकार रक्षकहरूको सुरक्षामा प्रशासन संवेदनशील रहेको बताउँदै कानुनको दायराभित्र रहेर गरिने मानवअधिकार सम्बन्धी गतिविधिमा प्रशासनको साथ रहने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, सिद्धकुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, सल्यान प्रहरी प्रमुख, डिएसपि डा. हेम बहादुर केसी, वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठक, प्रशिक्षक डा. देवेन्द्र प्रसाद अधिकारी, गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी, नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुन लगाएतले बोल्नुभएको थियो ।

सुरक्षाका लागि प्रभावकारी सञ्चार रणनीति विकास गर्ने उद्देश्यले निर्वाचित जनप्रतिनिधि तथा युवा मानवअधिकार रक्षकबीच अन्तरपुस्ता संवाद र सहकार्य प्रवद्र्धन गर्न युवा मानवअधिकार रक्षक सञ्जाल र ग्रामिण मुखी युवा अभियानको संयुक्त आयोजनामा कार्यशाला सञ्चालन भएको हो । कार्यशालामा सल्यान र रुकुम पश्चिम जिल्लाका २० जना युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको छ । कार्यशालाले युवा मानवअधिकार रक्षकहरूको सुरक्षाका चुनौती, जोखिम न्यूनीकरण, सञ्चारको सही प्रयोग तथा राज्यका निकायसँगको सहकार्यलाई सुदृढ बनाउने विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ ।

युवा मानव अधिकार रक्षक सञ्जाल सल्यानका अध्यक्ष अस्मिता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा रोयम नेपालका प्रदेश संयोजक सन्तोष बिकले उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो । योगमाया रेउलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव प्रदीप मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस