
सल्यान, ५ पुस ।
सल्यान जिल्ला अस्पतालमा ब्लड बैंकको अभावका कारण बिरामीहरूले सास्ती भोग्नुपरेको भन्दै सरोकारवाला निकायहरूले अस्पतालमै तत्काल ब्लड बैंक स्थापना गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । सल्यान जिल्ला अस्पतालमा रगत नपाएर बिरामी तथा सेवाग्राहीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अवस्थालाई ध्यानमा राख्दै जिल्ला समन्वय समिति सल्यानको पहलमा शुक्रवार बैठक तथा छलफल गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढामगरले अस्पतालमा मासिक ८ देखी १२ पोकासम्म रगत आवश्यक पर्ने बताउनुभयो ।
सो बैठकमा विभिन्न सरोकारवाला निकाय र स्थानीय तहका प्रतिनिधिहरूको उपस्थितिमा ब्लड बैंक स्थापना तथा सञ्चालनसम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । प्रतिवद्धता अनुसार सल्यान जिल्ला अस्पतालमा तत्काल ब्लड बैंक सञ्चालनमा ल्याइनेछ । यसका लागि स्थानीय तहहरूले संस्थागत रूपमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५० हजार रुपैयाँका दरले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको खातामा रकम जम्मा गर्ने सहमति भएको छ ।
त्यस्तै, आगामी आर्थिक वर्षहरूमा पनि आवश्यक पर्ने रकम प्रचलित कानुनअनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानलाई नियमित रूपमा उपलब्ध गराउने तथा ब्लड बैंकको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान र सल्यान जिल्ला अस्पतालले संयुक्त रूपमा गर्ने उल्लेख गरिएको छ । ब्लड बैंक सञ्चालनका लागि आवश्यक व्यवस्थापन खर्च र उपकरण खरिदका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमार्फत आवश्यक बजेट व्यवस्था गराउन जिल्ला स्तरबाट पहल गरिने प्रतिवद्धतामा उल्लेख छ । यसका लागि सम्बन्धित प्रदेश सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरूको समेत उपस्थितिमा जिल्लाबाट डेलिगेशन जाने निर्णय गरिएको छ ।
यसैगरी, ब्लड बैंक स्थापनाका लागि दाताबाट सहयोग जुटाउन अन्य सरोकारवाला र दातृ संस्थाहरूसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ । प्रतिवद्धता पत्रमा सल्यान जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका मन्त्री इन्द्र कुमार शर्मा, जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल सहित जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । ब्लड बैंक सञ्चालनमा आएपछि सल्यान जिल्लाका बिरामीहरूले समयमै रगत पाउने, आकस्मिक सेवा प्रभावकारी हुने तथा बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
प्रतिवद्धता पत्र
