सल्यानमा रक्तसंचार केन्द्र सञ्चालन : रगतकै कारण उपचार रोकिने बाध्यता हट्यो


सल्यान, १२ पुस ।
जिल्ला अस्पताल सल्यानमा अन्ततः रक्तसंचार केन्द्र सञ्चालनमा आएको छ । विगतमा आपतकालिन रक्तसंचार केन्द्र सञ्चालनमा रहेको भएपनि शुक्रवारबाट मात्रै रक्तसंचार केन्द्र स्वास्थ्य सेवा कार्यालय सल्यान र स्थानीय युवाहरूको सक्रियतामा सञ्चालनमा आएको हो । यससँगै अब रगतको अभावकै कारण बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । केही बर्षअघि रक्तसंचार केन्द्र सञ्चालन गर्नका लागि अस्पताल परिसरमा भवन निर्माण गरिएको थियो ।

तर रक्तसंचार केन्द्र सञ्चालन नहुदा विरामी र उनका आफन्तले सास्ती पाउँदै आएका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान मार्फत २० लाख रुपैयाँको लागतमा तीन कोठे भवन निर्माण गरेको थियो । तर आवश्यक जनशक्ति, उपकरण तथा व्यवस्थापनका विभिन्न समस्याका कारण रेडक्रसले उक्त भवनमा रक्तसंचार केन्द्र सञ्चालन गर्न सकेको थिएन । लामो समयसम्म प्रयोगविहीन अवस्थामा रहेको सो भवनमा अहिले भने रक्तसंचार केन्द्र सञ्चालन भएको हो ।

रक्तसंचार केन्द्र सञ्चालनमा आएपछि जिल्ला अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामी, विशेषगरी जटिल समस्या भएका गर्भवती महिलाहरूलाई ठूलो राहत पुगेको छ । यसअघि रगत आवश्यक परेमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीहरू स्वयंले सामाजिक सञ्जाल, फोन कल तथा व्यक्तिगत सम्पर्कमार्फत रगत समूह मिल्ने व्यक्तिको खोजी गर्नुपर्ने अवस्था थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सामाजिक अभियान्ता यस कार्यमा सक्रिय बन्ने गरेका थिए । कतिपय अवस्थामा समयमै रगत नपाउँदा बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरका अनुसार अब रगतको अभावमा बिरामीलाई रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको छ । ‘जिल्ला अस्पतालमा पछिल्लो एक दशकदेखि जटिल समस्या भएका गर्भवतीको शल्यक्रिया हुँदै आएको छ, तर रगत आवश्यक पर्दा निकै सास्ती हुने गरेको थियो’ उहाँले भन्नुभयो ‘अब आफ्नै अस्पतालमा रक्तसंचार केन्द्र सञ्चालनमा आएपछि उपचार प्रक्रिया अझ सुरक्षित र प्रभावकारी हुने छ ।’

२०४४ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यान सुरुमा १५ शैयाको अस्पताल भए पनि हाल ४५ शैया क्षमतामा सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मासिक रूपमा ८ देखि १२ पिन्टसम्म रगत खपत हुने गरेको तथ्यांक छ । रक्तसंचार केन्द्रमा संकलन भएको रगत आवश्यकता भन्दा बढी भएमा अन्य स्वास्थ्य संस्थामा समेत पठाउन सकिने व्यवस्था मिलाइने डा. मगरले जानकारी दिनुभयो । रक्तसंचार केन्द्रको दीगो व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिएको र जिल्लाका १० वटै स्थानीय तहले समेत सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्थानीय युवाहरूको सक्रिय सहभागिता, सरकारी निकायको सहकार्य र समुदायको समर्थनले रक्तसंचार केन्द्रलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ । जिल्ला अस्पताल सल्यानमा रक्तसंचार केन्द्र सञ्चालनमा आउनु जिल्लावासीका लागि ऐतिहासिक उपलब्धि मानिएको छ । यसले आकस्मिक उपचारलाई सहज बनाउने छ नै, मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

जिल्ला अस्पतालमा रक्तसंचार केन्द्र संचालनमा आएसँगै जिल्लावासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस