
सल्यान, १६ माघ ।
सल्यानका गाउँहरू अहिले फेरि ब्युँझिएका छन् । टोलवस्ती, चोक–चौतारा र आँगन–आँगनमा चुनावी चर्चा चल्न थालेको छ । उम्मेदवारका झण्डा फेरि फहराउन लागेका छन्, भाषणका शब्दहरू फेरि दोहोरिन लागेका छन् । उम्मेदवार र राजनितिक दलहरु मत माग्दै जिल्ला दौडाहामा छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा दुई स्वतन्त्रसहित १४ जना उम्मेदवार मैदानमा छन् । एक लाख ६२ हजार ४ सय ४९ मतदाताको मत कसले बढी पाउने भन्ने होड चलेको छ । तर गाउँभित्र पस्दा चुनावी रौनकभन्दा फरक दृश्य देखिन्छ, लामो पर्खाइ, मौन असन्तोष र फेरि एकपटक धोका त पाइने हो ? भन्ने डर पनि मतदातामा छ । जिल्लाका मतदाताले ठूला सपना देख्न छाडिसकेका छन् ।
दशकौँदेखि उठाइएका साना, आधारभूत मागसमेत पूरा नहुँदा उनीहरूका अपेक्षा क्रमशः साना हुँदै गएका छन् । ‘विकास’ ‘समृद्धि’ र ‘रूपान्तरण’ जस्ता शब्द अब भाषणका लागि मात्रै सीमित भएका छन् । बनगाड कुपिण्डे नगरपालिका–९, जयतपानीका ६६ वर्षीय हुकुमबहादुर विष्ट बिहानको पारिलो घाम ताप्दै आँगनमा बसेर पुराना चुनावका कुरा सम्झदै हुनुहुन्थ्यो । २०५४ सालदेखि अहिलेसम्म उहाँले एकपटक पनि मतदान छुटाउनु भएको छैन्, तर लोकतान्त्रिक प्रक्रियामा यति लामो सहभागितापछि पनि उहाँको मन भारी छ । ‘मैले भोट दिन छाडिनँ’ विष्ट भन्नुहुन्छ ‘तर मेरो भोटको कदर कहिल्यै भएन ।’
चुनाव आउँदा नेताहरू उहाँको आँगनमा आइपुग्छन् । चिया पिउँछन्, दुःख–सुख सोध्छन्, समस्या टिप्छन् । तर जितेपछि त्यही आँगन फेरि सुनसान हुन्छ । ‘जितेपछि फर्केर हेर्दैनन्’ उहाँ थप्नुहुन्छ ‘हामीलाई भोट बैंक मात्रै ठानिन्छ, भोट हाल्यो, हाम्रो काम सकियो ।’ सल्यानजस्तो पहाडी जिल्लामा बिरामी पर्नु भनेको अर्को पीडा हो । विष्टका अनुसार जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा सामान्य उपचारका लागि पनि बाहिर जानुपर्छ । ‘उपचार खर्चभन्दा बढी त भाडामै सकिन्छ’ उहाँ भन्नुहुन्छ ‘हामीले ठूलो कुरा मागेका छैनौँ, कम्तीमा जिल्लामै उपचार पाउने व्यवस्था भए पुग्छ ।’
बनगाडकै भोला प्रसाद कवरले चुनावी नारा सुन्दा हल्का मुस्कान दिनुभयो । ‘हरेक चुनावमा ‘समृद्ध सल्यान’ भन्ने नारा उस्तै सुनिन्छ’ उहाँ भन्नुहुन्छ ‘तर बाटो उस्तै छन्, विद्यालय उस्तै कमजोर छन् ।’ कवरका लागि विकासको अर्थ ठूला भवन होइन । राम्रो बाटो, गुणस्तरीय शिक्षा र देखिने काम हो । ‘हामीलाई धेरै चाहिएको छैन’ उहाँ थप्नुभयो ‘भाषण होइन, काम देखियोस् ।’
छत्रेश्वरी गाउँपालिका–६ राणागाउँका ६० वर्षीय हिरासिंह अधिकारी दिनभरजसो खेतवारीमा ब्यक्त हुनुहुन्छ । जव कृषिका नारा बोकेर हिडेका उम्मेदवार र दललाई देख्नुहुन्छ, तव उहाँको मन भारी हुन्छ । वर्षौँदेखि कृषि पेशामा आबद्ध उहाँ राज्यबाट ठूलो अनुदान होइन, निष्पक्ष व्यवहार खोजिरहनुभएको छ । ‘अनुदान पटक पटक पार्टीका कार्यकर्ताले पाउँछन्’ अधिकारी भन्नुहुन्छ ‘हामीजस्ता वास्तविक किसान सधैं पछाडि पर्छौँ ।’
दुई वर्ष अगाडिसम्म उहाँले दुई रोपनीमा माछापालन गर्नुभएको थियो । तर सरकारी सहयोग नपाउँदा र एक्लै सम्भव नहुँदा त्यो पेशा छोड्नुप¥यो । चुनावअघि समस्या टिप्न नेताहरू डायरी बोकेर आउने गर्छन् । ‘हाम्रा समस्या टिप्दैमा उम्मेदवारका डायरी भरिन्छ’ अधिकारी भन्नुहुन्छ ‘चुनावपछि सायद डायरी हराउँछ होला, हाम्रो समस्या कहिल्यै समाधान हुँदैनन् ।’
सिद्ध कुमाख गाउँपालिका–३, फलाँटेकी केशरी बुढाथोकीको पीडा फरक छ, तर जड उही हो । जिल्लाको सदरमुकाम खलंगाबाट नजिकैको बस्ती भए पनि मोबाइल र इन्टरनेट सहज छैन् । ‘फोन गर्न भिरडाँडा चहार्नुपर्छ’ उहाँ भन्नुहुन्छ ‘देशभर डिजिटल नेपालको कुरा हुन्छ, तर हामी अझै टावर खोज्दै हिँड्छौँ ।’ समृद्धिका ठूला नारा सुन्दा उहाँलाई कहिलेकाहीँ रिस उठ्छ । ‘आधारभूत कुरा नै पूरा छैन्’ उहाँ भन्नुहुन्छ ‘समृद्धि कसरी आउँछ ?’
निर्वाचनको मिति नजिकिदैँ गर्दा सबै उम्मेदवार गाउँ केन्द्रित छन् । तर चुनाव सकिएसँगै उनीहरु सदरमुकाम, काठमाडौं र शक्तिकेन्द्रतिर फर्किन्छन् । गाउँ फेरि उस्तै रहन्छ, समस्या, पीडा र पर्खाइसँगै । यही कारण धेरै मतदाता निराश छन्, तर अझै मतदान गर्ने आश छाडेका छैनन् । उनीहरूलाई विश्वास चाहिएको छ, खोक्रो होइन, व्यवहारमा देखिने गरि । सल्यानका मतदाताले यसपटक ठूलो योजना होइन, साना तर अत्यावश्यक कुरा खोजिरहेका छन्, स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी र सञ्चार उनीहरुको प्राथमिकता हो ।
मतदाताहरु चुनावी भाषणभन्दा बढी जवाफदेहिता, निरन्तरता र काम हेर्न चाहन्छन् । फागुन २१ नजिकिँदै जाँदा सल्यानका गाउँहरू फेरि आशा र शंकाबीच उभिएका छन् । नारा फेरि बदलिन सक्छन्, अनुहार फेरि नयाँ हुन सक्छन् । तर मतदाताको प्रश्न उही छ ‘यो पटक पनि हामीलाई भोट बैंक मात्रै बनाइने हो कि, साँच्चै हाम्रो समस्या बुझ्ने र समाधान गर्ने कोही आउने हो ?’