
सल्यान, १७ माघ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल विकासको स्पष्ट रोडम्याप लिएर सल्यानी जनताका घर–घरमा पुग्नु भएको छ । जिल्लाका आमजनतासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहस गर्दै जनतासँग मत माग्दै उम्मेदवार मल्ल जनताको घरदैलोमा पुग्नुभएको हो । जिल्लाको कुमाख गाउँपालिकामा पुग्नु भएका मल्लले जिल्लाको विकास, समृद्धि, सुशासन, जवाफदेहिता, पारदर्शिता लगाएतमा आफु प्रतिवद्ध भएर लाग्ने उद्घोष गर्नुभएको छ ।
शहिद परिवारसँगै आममतदातासँगको भेटमा उहाँले सल्यानको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार पारिएको र त्यसलाई पुरा गर्नका लागि आफ्नो जीत अनिवार्य रहेको बताउनुभयो । विकास योजना कागजमा मात्र सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ, योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ, म ‘कुराभन्दा काम गर्ने’ उद्धेश्यका साथ चुनावी मैदानमा होमिएको छु, उहाँले भन्नुभयो मेरो उम्मेदवारी सल्यानी जनताले अनुमोदन गर्नुहुने छ ।

नेपाली कम्युनिष्ट पार्टीले तारा चुनाव चिन्हमा मतदान गर्न सबै सल्यानीलाई अपिल गर्दै कुमाख गाउँपालिकामा पालिकास्तरीय बैठक तथा प्रशिक्षण भेला सम्पन्न गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक प्रकाश ज्वालाको प्रमुख आतिथ्यता एवम् पार्टी केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समितिका सहसंयोजक टेक बहादुर बस्नेतको विशिष्ट आतिथ्यतामामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टीका नेताहरु किर्तीबहादुर पुन, प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश मल्ल, नेताहरु भीमप्रकास शर्मा, दिलमाया बुढामगर लगाएतकाले बोल्नुभएको थियो । रामकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण डिल्ली रानाले गर्नुभएको थियो । यसैविच कुमाख गाउँपालिकामा ८९ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको छ । जसको संयोजकमा दिलमाया बुढामगर र सहसंयोजकमा शेर बहादुर रावत रहनुभएको छ ।