
सल्यान, २३ माघ ।
कुनै समय त्रिबेणी गाउँपालिका–१ काभ्रामा बारीका छेउछाउमा आफैं उम्रिएका रिठ्ठाका बोटलाई कसैले खासै महत्व दिदैनथेँ । घरायसी प्रयोजनका लागि कपडा धुनेबाहेक अरु काम नलाग्ने ठानिएको रिठ्ठा धेरैजसो खेर जाने गथ्र्यो । तर आज त्यही रिठ्ठा यहाँका किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ ।
काभ्राकै गणेशबहादुर वलीको जीवन यसैको उदाहरण हो । पहिले बारीमा आफैं उम्रिएका रिठ्ठाका बोटलाई वास्ता नगर्ने उहाँ अहिले व्यावसायिक रूपमा रिठ्ठा खेती गर्दै आउनु भएको छ । ‘पहिले त रिठ्ठा खेर जान्थ्यो, तर यसको महत्व बुझ्दै गएपछि संरक्षण गर्न थालेँ’ वलीले भन्नुभयो ‘यस वर्ष मात्रै २० क्विन्टल रिठ्ठा बिक्री गरेको छु ।’ माग बढेसँगै खेती विस्तार गर्दै जानु भएको उहाँसँग हाल साना–ठूला गरी करिब तीन सयवटा रिठ्ठाका बोट छन् ।
काभ्राकी पुष्पा कुमारी वलीले पनि रिठ्ठा खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । यस वर्ष उहाँले १५ क्विन्टल रिठ्ठा उत्पादन गर्नुभयो । ‘केही बोट सुक्छन्, केही थप्नुपर्छ, हामी बारीमै उम्रिएका बोट सारेर लगाउँछौं’ उहाँले आफ्नो अनुभव सुनाउदैँ भन्नुभयो ‘कम लागत, सजिलो स्याहार र सुनिश्चित बजार भएकाले रिठ्ठा खेती महिलाका लागि पनि आकर्षक बनेको छ ।’
जिल्लाका प्रायःजसो भेगमा रिठ्ठा खेतीप्रति किसानको चासो बढ्दो छ । वन पैदावरअन्तर्गत पर्ने रिठ्ठा साबुन, स्याम्पु, आयुर्वेदिक औषधि, कस्मेटिक सामग्री, सुन सफा गर्ने लगायत विभिन्न उद्योगका लागि महत्वपूर्ण कच्चा पदार्थ हो । प्राकृतिक र जैविक उत्पादनको माग बढेसँगै रिठ्ठाको बजार पनि विस्तार हुँदै गएको छ । यहाँका किसानले बारीका छेउ, कान्ला, आँगनका डिल र भिरालो जमिनमा रिठ्ठा रोप्न थालेका छन् । बोट ठूला भएपछि खासै स्याहार नचाहिने, रोग कीराको समस्या कम हुने र वर्षौंसम्म उत्पादन दिने भएकाले रिठ्ठा खेतीप्रति किसान आकर्षित भएको देखिन्छ ।
खाद्य बाली उत्पादन नहुने भिरालो र बाँझो जमिनमा समेत रिठ्ठा खेती गर्न सकिने भएकाले यसले वातावरण संरक्षणमा पनि सहयोग पु¥याइरहेको छ । रिठ्ठा खेती गर्दै आएका किसान उमे घर्ती भन्नुहुन्छ ‘अहिले मसँग धेरै बोट छैनन्, त्यसैले आम्दानी कम छ, तर केही वर्षपछि ५० भन्दा बढी ठूला बोट उत्पादनमा आउँछन् ।’ अन्य बाली नहुने स्थानमा पनि सजिलै उत्पादन हुने भएकाले रिठ्ठा भविष्यको सम्भावनायुक्त खेती बनेको उहाँको अनुभव छ ।
व्यावसायिक रूपमा उत्पादन सुरु गरेका कृषकले बर्सेनि उत्पादनको मात्राअनुसार १०–२० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । जिल्लामा उत्पादन भएको रिठ्ठा नेपालगञ्ज हुँदै भारत तथा युरोपका विभिन्न देशसम्म निर्यात हुने गर्दछ । माग बढेसँगै व्यापारीहरू गाउँ–गाउँमै रिठ्ठा खोज्दै पुग्ने गरेका छन् । स्थानीय व्यापारीले नै किसानबाट खरिद गरेर जिल्ला बाहिर निर्यात गर्ने गरेका छन्, जसले किसानलाई बजारको चिन्ता कम गरिदिएको छ ।
वातावरण संरक्षण र किसानको आम्दानी दुवै पक्षलाई ध्यानमा राख्दै डिभिजन वन कार्यालय सल्यानले रिठ्ठाको व्यावसायिक उत्पादनमा विशेष जोड दिएको छ । कार्यालयका सूचना अधिकारी ललितजंग खड्काका अनुसार कार्यालयले रिठ्ठाको खेती विस्तारका लागि विगतमा निःशुल्क विरुवा उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग उपलब्ध गराउदैँ आएको छ । ‘वन कार्यालयकै नर्सरीबाट हरेक वर्ष कृषक र समूहलाई मागको आधारमा बिरुवा उपलब्ध गराउँदै आएका छौँ, नयाँ कार्यविधिअनुसार यसबर्षबाट पचास प्रतिशत अनुदानमा विरुवा दिन्छौँ’ उहाँले भन्नुभयो ‘सामुदायिक वन क्षेत्रभित्रै पनि रिठ्ठा खेती गरेर आम्दानी वृद्धि गर्न किसानलाई अभिप्रेरित गरिएको छ ।’
कार्यालयका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय वन क्षेत्रबाट २ लाख ६५ हजार ७ सय केजी र निजी क्षेत्रबाट १ लाख ३१ हजार ८ सय केजी रिठ्ठा निर्यात भएको छ । यस बर्ष ३ लाख २ हजार केजी रिठा राष्ट्रिय वनबाट निकासी भएको छ भने निजि क्षेत्रबाट ३ लाख ५७ हजार ६६३ केजी संकलनको अनुमति लिएकोमा २ लाख १२ हजार २३२ केजी निकासी हुनुले जिल्लामा रिठ्ठा खेतीको सम्भावना र माग दुवै तीव्र रूपमा बढिरहेको संकेत गर्छ । यसबाट ९ लाख ६ हजार रुपैँया राजस्व संकलन भएको छ । जिल्लाका किसानले रिठ्ठा ४० देखी ७० रुपैँया प्रतिकिलोका दरले विक्री गरेका छन् ।
कम लगानी, कम जोखिम र सुनिश्चित बजारको सम्भावना बोकेको रिठ्ठा खेती जिल्लाका किसानका लागि आकर्षक विकल्प वनेको छ । बारीको कान्लाबाट सुरु भएको यो खेतीले आज किसानको जीवनस्तर उकास्नेदेखि वातावरण संरक्षण र अन्तर्राष्ट्रिय व्यापारसम्म योगदान पु¥याइरहेको छ । सही जानकारी, धैर्य र सहयोग पाएमा रिठ्ठा खेती सल्यानका ग्रामीण भेगको आर्थिक रुपान्तरणको बलियो आधार बन्न सक्ने वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकको भनाइ छ ।
‘नेपालबाट भारत, बंगलादेश हुँदै युरोप र अमेरिकासम्म रिट्ठा निर्यात भइरहेको छ, तर स्वदेशमै रिट्ठामा आधारित उद्योग विकास हुन सकेको छैन्, एकपटक रोपेपछि ४०–५० वर्षसम्म फल दिने रिट्ठा भिरालो, बाँझो जमिनमा पनि सफल हुने भएकाले किसानका लागि आकर्षक विकल्प बनेको छ’ उहाँले भन्नुुभयो ‘अहिले टिमुर पछि रिठ्ठाका विरुवाको माग धेरै छ, हामीले पनि गुणस्तरीय विरुवाहरु उपलब्ध गराउँदै आएका छौँ ।’
ओसिलो क्षेत्रमा गरिएको रिठ्ठा खेतीमा कहीकतै कालो ढुसी देखिन थालेको छ । जिल्लाको त्रिबेणी, कालिमाटी, छत्रेश्वरी र शारदाका किसानले रिठ्ठा खेती गर्दै आएका छन् ।