
सल्यान, २४ माघ ।
सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका काली चलाउने पुर्ण दृष्टिविहीन हुनुहुन्छ । अरूको सहारा बिना वरपर गर्न उहाँका लागि सधैं चुनौतीपूर्ण रहँदै आएको छ । अहिलेसम्म उहाँले आफैं किनेको साधारण लठ्ठी प्रयोग गर्दै आउनुभएको थियो । तर त्यो लठ्ठी न त फोल्ड गर्न मिल्ने, न त बलियो नै । बाटोमा हिँड्दा पटक–पटक अड्किने, कतै ठोक्किने डर सधैं मनमा खेलिरहन्थ्यो ।
तर उहाँको हातमा जब गुणस्तरीय, फोल्डिङ गर्न मिल्ने सेतोछडी प¥यो, उहाँको अनुहारमा छुट्टै चमक देखिन्थ्यो । ‘मलाई त यो अति आवश्यक थियो, अबका दिनमा सेतोछडीको सहायताले वरपर गर्न धेरै सजिलो हुने भयो’ चलाउनेले भावुक हुँदै भन्नुभयो ‘अब अलिकति भए पनि आत्मनिर्भर भएको महसुस भइरहेको छ ।’
शारदा नगरपालिका–७, कजेरीका भद्रबहादुर खड्काको कथा पनि उस्तै छ । उहाँ पनि पूर्ण दृष्टिविहीन हुनुहुन्छ । विगतमा किनेको सेतोछडी भए पनि त्यो पुरानो र जीर्ण भइसकेको थियो । नयाँ सेतोछडी हातमा परेपछि उहाँले खुसी लुकाउन सक्नुभएन् । ‘मेरो सबैभन्दा नजिकको साथी भनेकै छडी हो’ उहाँ भन्नुहुन्छ, ‘यसको सहारा बिना म केही पनि गर्न सक्दिनँ, नयाँ छडी पाएपछि अब हिँडडुलमा ढुक्क भएको छु ।’
सेतोछडी सानो देखिने वस्तु भए पनि दृष्टिविहीन नागरिकका लागि यो आत्मसम्मान, सुरक्षा र स्वतन्त्रताको प्रतीक हो । पाथिभरे अपांगता समाज सेवा संघ, सल्यानको सहकार्यमा अपांगता संरक्षण नेपालले शुक्रबार जिल्लाको सदरमुकाम खलंगामा दृष्टि सम्बन्धी समस्या भएका नागरिकहरूलाई सहायता सामग्री वितरण गरेको हो । कार्यक्रममार्फत एकैदिन जिल्लाका डेढ दर्जनभन्दा बढी दृष्टिविहीन नागरिकलाई सेतोछडी प्रदान गरिएको छ
अपांगता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले यो अभियान केवल सामग्री वितरणमै सीमित नभएको बताउनुभयो । ‘सेतोछडी भनेको एउटा लठ्ठी मात्र होइन, यो दृष्टिविहीन व्यक्तिको आत्मविश्वास हो, स्वतन्त्रता हो’ उहाँले भन्नुभयो ‘हामी अपांगता भएका व्यक्तिहरूलाई दया होइन, अधिकारको अनुभूति गराउन चाहन्छौं ।’ उहाँले दृष्टि सम्बन्धि समस्या भएका व्यक्तिहरुको गोपनियतामाथि खेलवाड नगर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले अपांगता भएका नागरिकलाई राज्यले अझ प्रभावकारी रूपमा समेट्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘अपांगता भएका नागरिकहरू समाजको अभिन्न हिस्सा हुन्, उनीहरूका आवश्यकता पहिचान गरी स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म समन्वय गरेर काम गर्न जरुरी छ’ उहाँले भन्नुभयो ।
शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको बताउनुभयो । ‘यस्ता कार्यक्रमले अपांगता भएका नागरिकलाई आत्मनिर्भर बन्न प्रेरणा दिन्छ, नगरपालिकाले पनि सक्दो सहयोग गर्दै आएको छ’ उहाँले भन्नुभयो ।
पाथिभरे अपांगता समाज सेवा संघका अध्यक्ष बमबहादुर केसीले संस्थागत सहकार्यकै कारण जिल्लामा सहायता सामाग्री प्राप्त गर्न सम्भव भएको बताउनुभयो । जिल्लामा रहेका अपांगता भएका व्यक्तिहरूको वास्तविक आवश्यकता पहिचान गरेर सहयोग पु¥याउने हाम्रो लक्ष्य हो, अपांगता संरक्षण नेपालसँगको सहकार्यले त्यो सम्भव भएको छ’ उहाँले भन्नुभयो ।