लाइसेन्सविनाका अटो नियन्त्रण

‘अटोरिक्सामा तीन जनासम्म यात्रु बोक्ने क्षमता भए पनि क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नलिएका चालकले सवारी चलाउने जस्ता गतिविधिले यात्रुको ज्यान नै जोखिममा पारेको छ’ उहाँले भन्नुभयो । यही अवस्थालाई नियन्त्रण गर्न नियमित तथा आकस्मिक चेकिङलाई कडाइ गरिएको उहाँको भनाइ छ ।

सल्यान, २६ माघ
सल्यान जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सवारी चेकजाँचलाई कडाइ गरेको छ । सोही क्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना सञ्चालन गरिएका १८ वटा अटोरिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे र सल्लीबजार क्षेत्रमा सञ्चालन भइरहेका अटोरिक्सा जाँच गर्दा नियमविपरीत सञ्चालन गरिएका सवारी फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार अटोरिक्सा सञ्चालनका क्रममा चालकले सवारीसम्बन्धी आधारभूत नियम पालना नगरेको पाइएकाले दुर्घटनाको जोखिम बढ्दै गएको छ । ‘अटोरिक्सामा तीन जनासम्म यात्रु बोक्ने क्षमता भए पनि क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नलिएका चालकले सवारी चलाउने जस्ता गतिविधिले यात्रुको ज्यान नै जोखिममा पारेको छ’ उहाँले भन्नुभयो । यही अवस्थालाई नियन्त्रण गर्न नियमित तथा आकस्मिक चेकिङलाई कडाइ गरिएको उहाँको भनाइ छ ।

प्रहरीका अनुसार भे १ ह ९२५६, भे २ ह ४५८, भे २ ह ९२०५, भे २ ह ९९३०, रा १ ह ७२१५, लु.प्र. ०२२– ००१ ह ०५५, लु.प्र. ०२ –००१ ह १७३२, लु.प्र ०२–००१ ह १८४७, रा १ ह ५९६४, लु.प्र ०२–००१ ह १७७७, भे १ ह ९१९७, रा १ ह २१८७ नम्बरका अटो नियन्त्रणमा लिइएको छ । यस्तै, रा १ ह ६८७८, लु.प्र ०२–००१ ह ०२९२ र तीनवटा अनटेस्ट अटो रहेका छन् ।

हालै खलंगा क्षेत्रमा भएको अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको घटनाले सवारी सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीय स्तरमा समेत सवारी सुरक्षाबारे चासो बढ्दै गएको छ ।

प्रहरीका अनुसार यात्रुलाई सहज सेवा उपलब्ध गराउने नाममा नियमविपरीत सवारी सञ्चालन गर्नु गम्भीर अपराध हो । लाइसेन्सविनाका चालक, ओभरलोड सवारी र मापदण्ड विपरीत सञ्चालन गरिएका अटोरिक्सामाथि निगरानी अझै बढाइने जनाइएको छ । नियम उल्लङ्घन गर्ने चालकलाई कानुनअनुसार कारबाही गरिने र सवारी चालकलाई ट्राफिक नियम पालना गर्न निरन्तर सचेत गराइने पनि प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीले सवारी चालकलाई लाइसेन्स लिएर मात्र सवारी चलाउन, क्षमता अनुसार यात्रु बोक्न र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ । यसरी नियमको पालना भएमा दुर्घटना न्यूनीकरण हुनुका साथै यात्रुको ज्यान र सम्पत्ति सुरक्षित रहने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस