‘गुजर्गानो’ : औषधि र पैसा !

स्थानीय बोलीचालीमा ‘गिरालगानो’ वा ‘बिरालगानो’ भनिने गुजर्गानोको माग अहिले बजारमा ह्वात्तै बढेको छ । विशेष गरी जिल्लाको कुमाख गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाबाट अहिले गाडीका गाडी गुजर्गानो बाह्य जिल्ला र उद्योगहरूमा निकासी भइरहेको छ, जसले गर्दा गाउँमा पैसाको चहलपहल समेत बढेको देखिन्छ । पछिल्ला केही महिनायता ग्रामीण अर्थतन्त्रमा एउटा छुट्टै रौनक छ ।

सल्यान, १५ फागुन ।

सल्यानका ग्रामीण भेगमा रहेका खेतबारी र कान्लाहरूमा एउटा यस्तो लहरा र गानो छ, जसलाई स्थानीयले दशकौँदेखि ‘झार’ सम्झेर वास्ता गरेनन् । कतिपयले यसलाई वस्तुभाउको घाँस बनाए त कतिले खेतीपाती गर्दा अवरोध ठानी जरैदेखि उखेलेर फाले । तर, समय बदलिएको छ । हिजोको त्यो ‘काम नलाग्ने’ लहरा र गानो अहिले सल्यानी गाउँलेका लागि ‘नगद’ आर्जन गर्ने बलियो माध्यम सावित भएको छ ।

स्थानीय बोलीचालीमा ‘गिरालगानो’ वा ‘बिरालगानो’ भनिने गुजर्गानोको माग अहिले बजारमा ह्वात्तै बढेको छ । विशेष गरी जिल्लाको कुमाख गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाबाट अहिले गाडीका गाडी गुजर्गानो बाह्य जिल्ला र उद्योगहरूमा निकासी भइरहेको छ, जसले गर्दा गाउँमा पैसाको चहलपहल समेत बढेको देखिन्छ । पछिल्ला केही महिनायता ग्रामीण अर्थतन्त्रमा एउटा छुट्टै रौनक छ ।

गाउँलेहरू कोदालो र डोको बोकेर बारी र कान्लातिर लाग्छन् र बेलुका गुजर्गानोका भारी बोकेर फर्कन्छन् । संकलन गरिएको यो गुजर्गानोलाई स्थानीय व्यापारीले खरिद गर्छन् र सिधै ट्रकमा लोड गरेर सुर्खेत पठाउने गरिएको छ । स्थानीय व्यापारीका अनुसार सुर्खेतमा चिनियाँ व्यापारीहरूले गुजर्गानो र चुथ्रोका डाँठ एवं जरा प्रशोधन गर्ने ठूलो उद्योग नै स्थापना गरेपछि सल्यानका स्थानीय उत्पादनले उचित मूल्य र बजार पाएका हुन् ।

कुमाख गाउँपालिकाका टोप बहादुर बुढाथोकीका अनुसार एउटै गुजर्गानोको गाना ७० केजीसम्मको फेला परेको छ । उहाँले भन्नुभयो ‘हामीले त यसको महत्व नै बुझेका रहेनछौँ, अहिले गाउँमा प्रति किलो २५ रुपैयाँमा खरिद हुन्छ, कुमाख गाउँपालिकाको १ नम्बर क्षेत्रबाट मात्रै करिब ४ गाडी गुजर्गानो सुर्खेत पठाइसकियो, वर्षौँदेखि खेर गइरहेको वस्तु बेचेर एकै घरले १० देखि २० हजार रुपैयाँसम्म हात पारेका छन्, पशुको औषधि वनाउन प्रयोग हुन्छ रे भन्ने पनि सुनिन्छ ।’

बन्गाड कुपिण्डेकी स्थानीय व्यापारी लालमती बस्नेतले पनि आफुले ३ गाडी गुजर्गानो सुर्खेत पठाएको र अब ३ गाडी जति पठाउन बाँकी रहेको जानकारी दिनुभयो । बन्गाड क्षेत्रमा भने प्रति किलो २० रुपैयाँका दरले खरिद–बिक्री भइरहेको छ । व्यापारीहरूका अनुसार बजारमा मुख्यतया पहेँलो र कालो गुजर्गानोको माग बढी छ, सेतो गुजर्गानो भने खासै बिक्दैन ।

गुजर्गानो केवल व्यापारिक वस्तु मात्र होइन, यो एक बहुमूल्य औषधिको खानी पनि हो । यसको प्रयोग के मा हुन्छ भन्नेबारे स्थानीय पूर्ण जानकार नभए पनि विज्ञहरूका अनुसार यो मधुमेह, हैजा, र ज्वरो नियन्त्रणका लागि निकै प्रभावकारी मानिन्छ । यसलाई स–साना चाना बनाएर मनतातो पानीसँग नियमित सेवन गर्दा पेट दुख्ने र पेट फुलिने जस्ता समस्या निको हुने विश्वास गरिन्छ । यसको लहराको मुन्टा समेत तरकारीको रूपमा खान मिल्ने र स्वास्थ्यका लागि उपयोगी हुने बताइन्छ ।

अझ रोचक कुरा त के छ भने, शल्यक्रिया (अपरेशन) गर्दा बिरामीलाई लठ्याउन प्रयोग गरिने औषधिमा पनि यसको धुलो र अन्य रसायन मिसाएर प्रयोग गरिने सुनिन्छ । गाउँघरमा त्यसै खेर गएको गुजर्गानोको बजारीकरण हुन थालेपछि अहिले धेरैको ध्यान यसतर्फ तानिएको छ । स्थानीयले यसबाट आम्दानी गरिरहेको भए पनि वीउसम्म नराखेर निकासी भइरहेकोमा कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् ।

यद्यपि, डिभिजन वन कार्यालय सल्यानका अनुसार यो निकासी पूर्णतः कानुनी प्रक्रिया पु¥याएर भइरहेको छ । स्थानीयले निवेदन दिएपछि संयुक्त रूपमा अनुगमन गरी निजी आवादीको जडीबुटी भएकाले राजस्व नलिई संकलन र निकासीको छुटपुर्जी दिने गरिएको छ । यस पटक करिब डेढ लाख केजी निकासी भएको अनुमान गरिए पनि आधिकारिक तथ्यांक संकलनको काम भइरहेको छ ।

डिभिजन वन अधिकृत टेक बहादुर रावलका अनुसार गुजर्गानो लहरा र जराबाटै पलाउने प्रकृतिको भएकाले गाना निकाल्दैमा यो लोप हुँदैन । उहाँ भन्नुहुन्छ ‘अहिलेसम्म यो जडीबुटी त्यसै खेर गइरहेको थियो, तर अहिले समुदायको आम्दानीको स्रोत बनेको छ, यसले स्थानीय अर्थतन्त्रमा टेवा पु¥याएको छ ।’ सल्यानको बन्गाड, कुमाख र कालिमाटी क्षेत्रमा यसको प्रचुरता छ । बारीका कान्लामा त्यसै सड्ने गुजर्गानोले आज सल्यानीलाई पैसा मात्र दिएको छैन, ‘आफ्नै घरआँगनका स्रोत चिन्न सके आम्दानी गर्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको छ ।

यदि जिल्लामै यसको प्रशोधन केन्द्र वा उपयोगिताका बारेमा थप तालिम दिन सके स्थानीयले भविष्यमा अझ बढी लाभ लिन सक्ने देखिन्छ । औषधिको खानी र पैसाको बोटका रूपमा चिनिएको गुजर्गानो अहिले सल्यानीका लागि साच्चिकै वरदान सावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस