राप्ती लोकमार्ग अनुगमनमा सांसद मल्ल : गुणस्तर कायम राख्दै समयमै काम सक्न निर्देशन


सल्यान, २७ फागुन ।
सल्यानको ‘लाइफलाइन’ मानिने राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडकको राम्री–हर्नेटी खण्डमा सडक स्तरोन्नति तथा कालोपत्र निर्माण कार्यले पछिल्लो समय तीव्रता पाएको छ । सुरुवाती चरणमा अपेक्षाकृत गति लिन नसकेको निर्माण कार्य पछिल्लो समय सम्बन्धित निकायको ताकेता, स्थानीयको दबाब र जनप्रतिनिधिको चासो बढेसँगै धमाधम अघि बढिरहेको हो । राप्ती राजमार्ग अन्तर्गत राम्री–हर्नेटी र खारखोला–सम्दीमोडसम्म झन्डै ११ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गर्न संघीय सरकारले गत वर्ष करिब ६० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सडक डिभिजन कार्यालय दाङले गरेको ठेक्का अनुसार पिके निर्माण सेवाले करिब ४४ करोड रुपैयाँमा दुई वर्षभित्र काम सम्पन्न गर्ने जिम्मेवारी पाएको हो । निर्माण कम्पनीका तर्फबाट काम गरिरहेका इञ्जिनियर प्रेम भण्डारीका अनुसार गत वर्ष जेठ महिनामा सम्झौता भएको उक्त योजना २०८४ जेठ ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि आफूहरूले निर्धारित समयभन्दा पाँच–छ महिना अगावै काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको बताउनुभयो ।

सडक चौडा बनाउन पहाड कटिङको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ भने नाला तथा पर्खाल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको सडक डिभिजन दाङका सूचना अधिकारी, इञ्जिनियर अशोक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार समग्रमा योजनाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । राप्ती राजमार्गमा गाडीको चाप अत्यधिक भएकाले सुरुवाती चरणमा निर्माण कार्यमा केही कठिनाइ भएको चौधरीको भनाइ छ ।

पछि सम्बन्धित निकायको अनुमति लिएर दैनिक पाँचदेखि छ घण्टासम्म सवारी आवागमन आंशिक रूपमा रोक लगाइएपछि निर्माणको कामले गति लिएको हो । निर्माणका क्रममा पहाड कटिङ गर्दा खसेको ढुंगामाटो व्यवस्थापन गर्नुपर्ने भएकाले केही स्थानमा सडकमा निर्माण सामग्री थुप्रिँदा यात्रुलाई असहजता भएको छ । त्यसका कारण दुर्घटनाको जोखिमसमेत बढेको भन्दै स्थानीय तथा यात्रुहरूले निर्माण कम्पनीलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

इञ्जिनियर चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको काम फेरी सुचारु भएको बताउनुभयो । ‘यो विचमा कामले तिव्रता लिएको थियो, चुनाव भएका कारण केही दिन काम रोकियो, मतदानका लागि सबै घर फर्किए, अहिले फेरी निर्माण क्षेत्रमा आउने क्रम सुरु भएको छ, कामले गति लिन २/४ दिन लाग्छ’ उहाँले भन्नुभयो ‘तोकिएको समय अवागै काम सक्ने गरि तिव्रता दिइएको छ ।’

यसैक्रममा सल्यानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्ल मंगलबार निर्माणाधीन सडकको स्थलगत अनुगमनका लागि निर्माणस्थल पुग्नुभएको छ । मल्लले दाङ–सल्यान सडकखण्ड अन्तर्गत हर्नेटी–राम्री खण्डमा भइरहेको सडक विस्तार तथा स्तरोन्नतिको कामबारे जानकारी लिँदै निर्माण कम्पनी र प्राविधिक टोलीसँग छलफल गर्नुभएको थियो । अनुगमनका क्रममा निर्माण कम्पनी र प्राविधिकलाई उहाँले निर्माणको काम द्रुत गतिमा अघि बढाउन र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो ।

वर्षायाममा हिलो तथा अन्य समयमा अत्यधिक धुलोका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था रहेको भन्दै त्यसको नियन्त्रणका लागि आवश्यक पूर्वतयारी गर्न पनि उहाँले निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । ‘राप्ती लोकमार्ग सल्यानको प्रमुख जीवनरेखा हो, यसको स्तरोन्नति र विस्तार तोकिएको समयमा सम्पन्न हुनुपर्छ’ मल्लले भन्नुभयो ‘काममा ढिलाइ हुन नदिन म निरन्तर खबरदारी र अनुगमन गरिरहन्छु ।’

सल्यानबाट तुल्सीपुरतर्फ मोटरसाइकलमा यात्रा गरिरहेका दीपेन्द्र बुढाले पछिल्लो समयमा राम्री–हर्नेटी खण्डमा निर्माण कार्य तीव्र रूपमा भइरहेको बताउनुभयो । ‘सडकमा पानी हालेर धुलो नियन्त्रण गर्ने र निर्माण सामग्री व्यवस्थापन गरे यात्रुहरूलाई सहज हुनेछ’ उहाँले भन्नुभयो । स्थानीय मदन बस्नेतका अनुसार हाल सडकको अवस्था र निर्माणका कारण सल्यानबाट तुल्सीपुर पुग्न मोटरसाइकलमा करिब दुई घण्टा र जीपमा अढाई घण्टा लाग्ने गरेको छ । ‘सडक कालोपत्र भएर पूर्ण रूपमा सञ्चालनमा आएपछि डेढ घण्टामै पुग्न सकिने अपेक्षा छ’ उहाँले भन्नुभयो ।

यसैबीच राप्ती लोकमार्गका विभिन्न खण्डमा तीनवटा निर्माण कम्पनीले सडक स्तरोन्नति, विस्तार तथा मर्मतका काम गरिरहेका छन् । सडक डिभिजन दाङका अनुसार राम्री–हर्नेटी खण्डमा पिके निर्माण सेवा, राम्री–कपुरकोट खण्डमा आरडी उज्ज्वल लोकमणि जेभी र बागचौर–खौला सडकखण्डमा सुरत टक्सार जेभीले काम गरिरहेका छन् ।

सल्यानका लागि अत्यन्त महत्वपूर्ण मानिने राप्ती लोकमार्गको स्तरोन्नति र विस्तार सम्पन्न भएपछि दाङ–सल्यान आवतजावत अझ सहज हुने अपेक्षा गरिएको छ । सडकको अवस्था सुधारिएसँगै यात्रु सुरक्षामा वृद्धि हुनुका साथै जिल्लाको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयवासीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस