
सल्यान, ३ चैत ।
राज्यका नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै सल्यानमा हस्ताक्षर संकलन गरिएको छ । महिलाको राजनीतिक तथा नीतिगत तहमा सहभागिता बढाउन राजनीतिक दल र राज्य संयन्त्रलाई खबरदारी गर्ने उद्धेश्यले सोमबार सल्यानको श्रीनगरमा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहजीकरणमा देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गत जिल्लाका सरोकारवाला, स्थानीय महिला, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा हस्ताक्षर संकलन गरिएको छ ।
कार्यक्रममा बोल्दै केन्द्रकी अध्यक्ष कल्पना न्यौपानेले नेपालको संविधानले महिलालाई समान अधिकार प्रदान गरे पनि व्यवहारमा भने राज्यका निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै न्यून रहेको बताउनुभयो । उहाँले महिलाको अधिकारको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवद्र्धन तथा समतामूलक समाज निर्माणका लागि यस्तो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार यस अनुपम अभियान देशभर चरणबद्ध रूपमा अघि बढाइएको छ । ‘पहिलो वर्ष हामीले देशव्यापी यात्रा अभियान सञ्चालन गर्यौं, दोस्रो वर्ष खबरदारी अभियान चलायौं र अहिले तेस्रो वर्षमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भन्ने अवधारणालाई स्थापित गर्दै मिसन २०८४ मा अर्थपूर्ण महिला सहभागिता सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो ।’
अभियानमा ऐक्यवद्धता जनाउँदै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले राज्यका हरेक तहमा महिलाको समान र प्रभावकारी सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले महिलालाई नेतृत्व तहमा पुग्न अझै धेरै चुनौती रहेको उल्लेख गर्दै यस्ता अभियानले महिलाको आवाजलाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनले समाजमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भएपनि निर्णय प्रक्रियामा उनीहरूको उपस्थिति अझै सन्तोषजनक हुन नसकेको बताउनुभयो । उहाँले महिलाको हकअधिकारका विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठान गर्दै राज्यका निकायलाई जिम्मेवार बनाउन पत्रकारिता क्षेत्रले पनि भूमिका खेलेको बताउनुभयो ।
स्थानीय महिलाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा महिला अधिकार, समान प्रतिनिधित्व र समावेशी शासन प्रणालीका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रमको सहजीकरण केन्द्रकी कार्यक्रम संयोजक दीपा अधिकारीले गर्नुभएको थियो ।