सरकारका निर्णय कार्यान्वयनमा सघाउने रास्वपाको प्रतिबद्धता

सल्यान, २५ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले वर्तमान सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी र पार्टीकै नेतृत्वमा बनेको सरकारप्रति नागरिकमा उच्च स्तरको विश्वास र भरोसा कायम रहेको उल्लेख गर्दै रास्वपाले मंगलबार खलंगामा पत्रकार सम्मेलन गर्दै सरकारका नीति तथा कार्यक्रमलाई सफल बनाउन आफूहरू दृढतापूर्वक लाग्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कर्णाली प्रदेश महामन्त्री ललित कुमार चन्दले यसपटक सरकारले कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले कर्णाली प्राकृतिक स्रोत, पर्यटन, कृषि तथा जलस्रोतका हिसाबले अत्यन्त सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको समग्र विकासका लागि पर्याप्त बजेट विनियोजन हुने विश्वास व्यक्त गर्नुभयो । ‘कर्णालीलाई पछाडि पारिएको क्षेत्रको रूपमा मात्र हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्छ, यहाँका सम्भावनालाई उपयोग गरेर समृद्ध प्रदेश बनाउन सकिन्छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार रास्वपा विकास र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएर अघि बढिरहेको छ । जिल्लामा देखिएका विकासका ढिलासुस्ती, नागरिकले सेवा लिँदा भोग्नुपरेका झन्झट तथा सेवाप्रदायक निकायबाट हुने ढिलाइलाई गम्भीरतापूर्वक लिएर समाधानतर्फ उन्मुख हुने पार्टीको योजना रहेको छ । जनताका गुनासा, सुझाव र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ ।

महामन्त्री चन्दले राप्ती लोकमार्गको स्तरोन्नति जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण आधार हुने उल्लेख गर्दै यातायात पूर्वाधार सुदृढीकरणमा विशेष जोड दिइने बताउनुभयो । साथै, खानेपानी, विद्युत, सञ्चार, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवामा पहुँच विस्तार गरी जनजीवन सहज बनाउनेतर्फ पार्टीले विशेष ध्यान केन्द्रित गर्ने उहाँको भनाइ छ । उहाँले सुशासन कायम नगरी विकास सम्भव नहुने भन्दै पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीले भ्रष्टाचार, अराजकता र बेथितिविरुद्ध कडा रूपमा प्रस्तुत हुने स्पष्ट पारेको छ । यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने र त्यसको सशक्त प्रतिवाद गरिने पार्टीको भनाइ छ। साथै, पार्टीभित्र अनुशासनहीनता फैलाउने, गलत गतिविधिमा संलग्न हुने वा पार्टीको छवि धुमिल पार्ने जो–कोहीमाथि पनि कारबाही गरिने चेतावनी दिइएको छ ।

सम्मेलनमा पार्टीका जिल्ला सभापति प्रकाश नेपालीले पार्टी स्थापना भएको छोटो अवधिमै जिल्लामा उल्लेखनीय राजनीतिक उपस्थिति स्थापित गर्न सफल भएको बताउनुभयो । संघीय निर्वाचनमा प्रत्यक्षतर्फ थोरै मतान्तरले पराजित भएपनि समानुपातिकतर्फ पहिलो शक्ति बन्न सफल भएको उल्लेख गर्दै उहाँले यसलाई जनताको विश्वास र समर्थनको रूपमा लिएको बताउनुभयो ।

उहाँका अनुसार हालसम्म जिल्लाभर करिब ७ हजारभन्दा बढी सदस्य पार्टीमा आवद्ध भइसकेका छन् भने ७० भन्दा बढी वडामा संगठन विस्तार भइसकेको छ । संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै लैजाने योजना रहेको बताउँदै उहाँले आगामी दिनमा पार्टीलाई जिल्लाको अग्रणी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पार्टी सचिव श्रीकान्त राईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच, रास्वपा सल्यानको जिल्ला कमिटी बैठक तथा हालै सम्पन्न निर्वाचनको समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । बैठकले निर्वाचनबाट प्राप्त अनुभव, सिकाइ र चुनौतीहरूको विश्लेषण गर्दै आगामी रणनीति तय गरेको जनाएको छ । पार्टीलाई अझ प्रभावकारी, संगठित र जनमुखी बनाउने दिशामा विभिन्न निर्णयहरू गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस