
सल्यान, २६ चैत ।
बालविवाह विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सल्यानमा साझा अभियान सञ्जालको महत्वपूर्ण बैठक सम्पन्न भएको छ । फास्टन एक्सन तथा बालविवाह विरुद्धको साझा अभियान सञ्जाल कर्णाली प्रदेशको समन्वयमा बिहीबार जिल्लाको सदरमुकाम खलंगामा बैठक आयोजना गरिएको हो । सञ्जालका जिल्ला अध्यक्ष हेमराज विकको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश संयोजक पवित्रा शाही, प्रदेश सदस्य निमबहादुर नेपाली लगायत सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
बैठकमा बालविवाह न्यूनीकरणका लागि जिल्लामा हालसम्म गरिएका गतिविधिहरूको समिक्षा गर्दै आगामी रणनीतिबारे समेत गहन छलफल गरिएको थियो । बैठकमा प्रस्तुत विवरण अनुसार सल्यानमा बालविवाह न्यूनीकरणका क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको देखिएको छ । विशेषगरी जिल्लाका तीन वटा स्थानीय तहमा बालविवाह रोकथामसम्बन्धी ऐन निर्माणका लागि सहजीकरण गरिएको, समुदायस्तरमा व्यापक सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको तथा विभिन्न सरोकारवाला निकायसँग सहकार्य र समन्वयलाई सुदृढ बनाइएको उल्लेख गरिएको छ
बैठकमा सहभागीहरूले बालविवाह जस्तो सामाजिक कुप्रथाको अन्त्यका लागि अझै निरन्तर प्रयास आवश्यक रहेको औंल्याए । उनीहरूले समुदाय, स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनमा पनि अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन् । सञ्जालले आगामी दिनमा सचेतना, नीति निर्माण र कार्यान्वयनलाई सँगसँगै अगाडि बढाउँदै बालविवाह न्यूनीकरणमा दीर्घकालीन प्रभाव पार्ने योजनासहित अघि बढ्ने जनाएको छ ।