
सल्यान, १८ वैशाख ।
सल्यानका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै जाँदा विद्यालय सञ्चालनमै चुनौती थपिएको छ । विद्यार्थी अभावका कारण कतै कक्षा तह घटाउने निर्णय गरिएको छ भने कतै विद्यालयहरू आपसमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको छ । पछिल्ला वर्षहरूमा निजी विद्यालयतर्फ आकर्षण बढ्नु, बसाइँसराइको क्रम तीव्र हुनु तथा जन्मदर घट्नुजस्ता कारणले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर ओरालो लागिरहेको छ । यसले विद्यालयको भौतिक संरचना, शिक्षक दरबन्दी र शैक्षिक गुणस्तरमै असर पार्न थालेको छ ।
जिल्लाका केही विद्यालयहरूमा आवश्यक न्यूनतम विद्यार्थी संख्या नपुग्दा तह घटुवा गरिएको छ । यस्तै नजिक नजिक रहेका विद्यार्थी न्यून भएका विद्यालयहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया पनि सुरु गरिएको छ । यसले स्रोत साधनको सदुपयोग र व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको शैक्षिक सत्र २०८२ को तथ्यांक अनुसार सल्यानमा रहेका कुल ४३२ विद्यालयमध्ये १७६ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् ।
त्यस्तै १०० भन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या अझ बढी देखिएको छ । जिल्लाका २६६ विद्यालयमा १०० भन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीय तहगत विवरण हेर्दा सबैभन्दा धेरै विद्यालय भएको बागचौर नगरपालिकामा ६८ बिद्यालय मध्ये ५० भन्दा कम विद्यार्थी रहेका विद्यालय ३० र १०० भन्दा कम विद्यार्थी भएका बिद्यालय ३९ रहेका छन् । यस्तै जम्मा ६५ विद्यालय रहेको बनगाड कुपिण्डे नगरपालिकामा २४ विद्यालयमा ५० भन्दा कम र ३९ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । शारदा नगरपालिकामा ५६ विद्यालयमध्ये २७ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् भने ४० विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् ।
इकाइका अनुसार कपुरकोट गाउँपालिकामा २३ विद्यालयमध्ये ७ विद्यालयमा ५० भन्दा कम विद्यार्थी छन् भने १०० भन्दा कम विद्यार्थी भएका बिद्यालय ११ छन् । कालिमाटी गाउँपालिकामा ५१ बिद्यालय मध्ये २८ विद्यालयमा ५० भन्दा कम र ३४ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । त्रिवेणी गाउँपालिकामा २८ मध्ये ११ विद्यालय, छत्रेश्वरीमा ४० मध्ये २० विद्यालय, सिद्धकुमाखमा २३ मध्ये १० विद्यालय, कुमाखमा ४७ मध्ये १४ विद्यालय र दार्मा गाउँपालिकामा ३१ मध्ये ५ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् ।
जिल्लाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यार्थी संख्या झनै कम देखिएको छ भने कतिपय स्थानमा विद्यालय संख्या धेरै भए पनि विद्यार्थी संख्या कम हुँदा शैक्षिक गुणस्तर र स्रोत व्यवस्थापनमा चुनौती देखिएको छ । बिद्यार्थी संख्या कम भएसँगै स्थानीय तहले बिद्यालय समायोजन तथा तह घटाउन थालेका छन् । कुमाख गाउँपालिका गाउँ शिक्षा समितिको निर्णयका आधारमा २० वटा बिद्यालयको समायोजन तथा तह घटुवा र शिक्षक दरबन्दी मिलान गरेको प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्काले जानकारी दिनुभयो ।
कतिपय विद्यालयलाई कक्षा १–३ सम्म सीमित गरिएको छ भने केहीलाई बालविकास केन्द्रमा रूपान्तरण गरिएको छ । साथै केही विद्यालयलाई नजिकका अन्य विद्यालयमा समायोजन गरिएको पनि जनाइएको छ । गाउँपालिकाले कक्षा १–३ सम्म सञ्चालन भएका छ वटा विद्यालयलाई बालविकासमा रूपान्तरण गरेको छ भने १–५ सम्म सञ्चालन भएका सात विद्यालयलाई १–३ मा झारेको छ । कक्षा १–८ सम्म पठनपाठन हुँदै आएका चार विद्यालयलाई १–५ मा झारिएको छ भने कक्षा १० सम्म रहेको एक विद्यालयलाई कक्षा ८ सम्म सीमित गरिएको छ । यसैगरी १–५ सम्मको एक विद्यालय र बालविकास सञ्चालन भएको अर्को एक विद्यालयलाई नजिकका विद्यालयमा समायोजन गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) तथा विद्यालय समायोजन एवं एकीकरण कार्यान्वयन कार्यविधि, २०८० अनुसार पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूको तह घटुवा, समायोजन र शिक्षक दरबन्दी पुनः व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । सोही व्यवस्था अनुसार शिक्षक दरबन्दी मिलान अन्तर्गत विभिन्न विद्यालयमा कार्यरत २४ जना शिक्षक तथा कार्यालय सहयोगीहरूलाई आवश्यकता र दरबन्दीका आधारमा अन्य विद्यालयमा सरुवा गरिएको छ ।
समायोजन तथा तह घटुवा गरिएका विद्यालयहरूले कायम गरिएको तहसम्म मात्र विद्यार्थी भर्ना लिनुपर्ने व्यवस्था गरिएको छ । उहाँले बिद्यार्थी संख्या अत्यन्त कम भएका बिद्यालयको तह घटुवा गरिएको बताउनुभयो । ‘विद्यार्थी नभएको विद्यालय सञ्चालन गर्नु खर्चिलो मात्र नभई प्रभावहीन पनि हुन्छ, त्यसैले दीर्घकालीन समाधानका रूपमा समायोजन र तह घटुवाको विकल्प रोजिएको हो’ उहाँले भन्नुभयो ।
यस निर्णयले केही ठाउँमा विद्यार्थीलाई टाढा विद्यालय जानुपर्ने बाध्यता सिर्जना गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार नभएसम्म समस्या ज्यूँका त्यूँ रहने एक अभिभावक रामु केसी बताउनुहुन्छ । ‘बिद्यार्थी नभएका बिद्यालय हटाउनु नै राम्रो हो, तर बिद्यार्थी टाढा जानुपर्ने बाध्यता हुन्छ, सिकाईको गुणस्तर सुधार भएमा ठिक हो, नत्र गाह्रो छ’ उहाँले भन्नुभयो ।