
सल्यान, २७ वैशाख ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ३५औँ स्थापना दिवस सल्यानको कपुरकोटमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवद्र्धन’ भन्ने मूल नाराका साथ अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानको आयोजनामा स्थापना दिवस मनाइएको हो । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डा. मित्र पाठक, कपुरकोट गाउँपालिका कृषि शाखा प्रमुख गौरव बन्जाडे तथा सब–डिभिजन वन कार्यालय कपुरकोटका प्रमुख कमला घर्ती मगर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले कृषि अनुसन्धानले उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कृषिमा आधारित उद्यम विकासका लागि अनुसन्धान संस्थासँग स्थानीय तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै वनस्पति अनुसन्धान केन्द्र मुलपानीका प्रमुख पाठकले नेपालमा मौलिक कृषि प्रजातिको संरक्षणसँगै वैज्ञानिक अनुसन्धानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिलाई आधुनिक, व्यवसायिक र बजारमुखी बनाउन अनुसन्धान संस्थाहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटका संयोजक डा. घनश्याम भण्डारीका अनुसार अदुवाबाली अनुसन्धान कार्यक्रमले हालसम्म ६३ वटा अदुवाका प्रजाति, १०५ वटा पहेँलो हलेदो (बेसार) तथा १५ वटा कालो हलेदोका स्थानीय जातहरूको संरक्षण, अध्ययन तथा प्रवद्र्धन गर्दै आएको छ । उहाँले ती प्रजातिको खेती विस्तार, उत्पादन वृद्धि तथा बजारीकरणका क्षेत्रमा उल्लेखनीय कार्य भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जैविक विषादी उत्पादन, स्थानीय कृषि प्रजातिको संरक्षण तथा अनुसन्धानसम्बन्धी विषयमा सहकार्य गर्नेबारे समेत छलफल भएको थियो । सहभागीहरूले स्थानीय स्रोत र प्रविधिको उपयोगमार्फत कृषिलाई थप उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै एग्रो फरेष्ट्रीको अवधारणाअनुसार कपुरकोटस्थित विभिन्न सरकारी कार्यालय तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै आगामी दिनमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । वन र कृषिलाई एकीकृत गर्दै वातावरण संरक्षणसँगै आर्थिक लाभ हासिल गर्ने लक्ष्यसहित सहकार्य अघि बढाइने जनाइएको छ ।
सोही अवसरमा कार्यालय परिसरमा अश्वगन्धा, रोजमेरी तथा अमृसोका बिरुवा रोपण गरिएको थियो ।