राष्ट्रिय स्वतन्त्र पार्टी छत्रेश्वरीको सभापतिमा सम्झना योगी

भोटेचौरमा सम्पन्न भएको गाउँपालिका स्तरीय प्रथम अधिवेशनले योगीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


सल्यान, ७ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी छत्रेश्वरी गाउँपालिकाको सभापतिमा सम्झना योगी सर्वसम्मत चयन हुनुभएको छ । आज भोटेचौरमा सम्पन्न भएको गाउँपालिका स्तरीय प्रथम अधिवेशनले योगीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपसभापतिमा रमिता केसी डाँगी, सचिवमा किरण वली, सहसचिवमा हेमराज वली तथा कोषाध्यक्षमा दुर्गा जी राना रहनुभएको छ । यस्तै सदस्यहरुमा मीन बहादुर घर्ती, मुकुन्द शर्मा, गणेश केसी, पारस ओली, माका बादी र बुद्धिराज वली रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै पार्टीका कर्णाली प्रदेश महामन्त्री ललित कुमार चन्दले सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै गाउँ–गाउँसम्म संगठन विस्तार गरिने बताउनुभयो । उहाँले युवा पुस्ताको सक्रिय सहभागिताले मात्रै राजनीतिक परिवर्तन सम्भव हुने धारणा राख्दै जनताको अपेक्षा अनुसार काम गर्न नवगठित कार्यसमितिलाई सुझाव दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरूले छत्रेश्वरीमा पार्टी संगठनलाई सशक्त बनाउँदै जनताको मुद्धामा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

घनश्याम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तिलक खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस