
सल्यान, १० जेठ ।
सल्यानमा सञ्चालित तेस्रो शारदा मेयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ । आइतबार त्रिभुवन जन माध्यमिक बिद्यालयको प्रांगण लुहापिङमा भएको फाइनल खेलमा दुईपटकको उपाधि विजेता बागचौर नगरपालिकालाई स्तब्ध पार्दै शारदाले पहिलो पटक उपाधि जितेको हो । पहिलो मेयर कपमा बागचौरसँग पराजित भएर उपविजेतामा चित्त बुझाएको शारदा दोस्रो मेयर कपमा सेमिफाइनलबाटै बाहिरिएको थियो । यसपटकको मेयर कपमा भने बागचौरलाई ५ विकेटले हराउदैँ उपाधि जितेको हो ।
आफैले टस जितेर पहिले ब्याटिङमा उत्रिएको बागचौर १८ ओभर ५ बलमा अलआउट हुदैँ १०९ रनमा समेटियो । बागचौरलाई सस्तैमा समेट्ने क्रममा शारदाका चन्द्र बुढा र सन्दिप गन्धर्वले समान २/२ विकेट लिए । यस्तै अभिषेक बोटे, रोहित हमाल र सन्जिव रसाइलीले समान १/१ विकेट लिए । बागचौरका लागि टिम क्याप्टेन बामदेव केसीले १९ रन वनाएपनि जीतका लागि पर्याप्त हुन सकेन् । बागचौरकै निर्मल डाँगी १६, सुर्य सुनार १४, गोविन्द वली १२, राहुल वली ११ तथा डिल्लीराज वलीले १० रन बनाएपनि अरु ब्याट्सम्यान चल्न सकेनन् ।
११० रनको विजयी लक्ष्य सहित ब्याटिङमा उत्रिएको शारदाले १४ ओभर ५ बलमा ५ विकेट गुमाउदैँ लक्ष्य पुरा गर्यो । शारदाका लागि चन्द्र बुढाले अर्धसतकीय पारि खेले । उनले ४७ बलमा नटआउट ६३ रन जोडे । यस्तै मदन खत्री २१, अभिषेक बोटे ६ तथा बिसाल सिंहले नटआउट ४ रन जोडे । बलिङमा बागचौरका गगन वलीले २ तथा हेमराज बस्नेतले १ विकेट लिए । प्रतियोगिताको उपाधि सँगै शारदा नगरपालिकाले नगद रु. एक लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र र उपविजेतामा चित्त बुझाएको बागचौर नगरपालिकाले पचास हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट शारदाका चन्द्र बुढा, बेस्ट प्लेयर शारदाकै सन्दिप गन्धर्व, बेस्ट ब्याटर कुमाखका सचिन विक, बेस्ट विकेटकिपर त्रिबेणीका मोहन केसी, बेस्ट फिल्डर शारदाका सन्दिप गन्धर्व, इमर्जिङ प्लेयर शारदाकै आरुष विष्ट बनेका छन् ।
जेठ ४ गतेबाट सुरु भएको प्रतियोगितामा बागचौर नगरपालिका, शारदा नगरपालिका, त्रिबेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र दार्मा गाउँपालिका सहभागि भएका थिए । शारदा नगरपालिकाको आयोजना र क्रिकेट संघ सल्यानको सहकार्यमा प्रत्येक बर्षमा जिल्लामा मेयर कप क्रिकेट सञ्चालन हुदैँ आएको छ ।
क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ अर्को सिजन थप परिस्कृत ढंगले आयोजना हुने बताउनुभयो ।