
सल्यान, १४ जेठ ।
नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटना बढ्दो अवस्थामा रहेका बेला सञ्चारमाध्यमले खेल्ने भूमिकालाई थप जिम्मेवार र संवेदनशील बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा अपाङ्गता अधिकारका विषयलाई समाजमा सही ढंगले स्थापित गर्न सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहने उनीहरूको भनाइ छ । यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको आयोजना तथा सीएमसी नेपालको सहयोगमा मानसिक स्वास्थ्य र अपाङ्गता अधिकार तथा समावेशीकरणको सवालमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम बुधबार नेपाल पत्रकार महासंघ सल्यानको सभाहलमा सम्पन्न भएको छ ।
महासंघका जिल्ला शाखा अध्यक्ष डिल्लीराज रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्य प्रवद्र्धन, आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका, जिम्मेवार समाचार सम्प्रेषण, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा समावेशीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै सीएमसी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले मानसिक स्वास्थ्यलाई अझै पनि नेपाली समाजमा लाज, डर र अन्धविश्वाससँग जोडेर हेर्ने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी नभई स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषय भएको उल्लेख गर्दै यसलाई लुकाउने होइन, खुलेर बहस र उपचारको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘मानसिक स्वास्थ्यको विषयलाई केवल व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्यको मुद्दाका रूपमा हेर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा सीएमसी नेपालका नीति तथा सुशासन प्रमुख हिमाल गैरेले सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रस्तुत गर्दा प्रयोग हुने भाषा, शीर्षक, तस्बिर र शैलीले समाजमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले पत्रकारहरू थप सचेत हुनुपर्ने बताउनुभयो । ‘समाचारले जनचेतना पनि फैलाउन सक्छ, गलत ढंगले प्रस्तुत हुँदा जोखिम पनि बढाउन सक्छ’ उहाँले भन्नुभयो । उहाँले मानसिक स्वास्थ्य समस्या भएका ७० प्रतिशतभन्दा बढी नागरिक अझै पनि उपचार तथा परामर्श सेवाको पहुँचभन्दा बाहिर रहेको उल्लेख गर्नुभयो । आत्महत्याको विधि, स्थान वा प्रयोग गरिएका सामग्रीको विस्तृत विवरण नदिन, सनसनीपूर्ण भाषा प्रयोग नगर्न, घटनास्थलका तस्बिर वा भिडियो प्रकाशन नगर्न तथा शोकाकुल परिवारको गोपनीयताको सम्मान गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सीएमसी नेपालका वकालत अधिकृत सुर्य प्रकाश भट्टराईले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँचयुक्त वातावरण तथा सञ्चारमाध्यममा समावेशी सामग्रीको आवश्यकता बारे धारणा राख्नुभएको थियो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई दया वा कमजोर पात्रको रूपमा नभई अधिकारसहितका नागरिकका रूपमा प्रस्तुत गर्न सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
यस्तै मानसिक स्वास्थ्य स्वावलम्बन समूहकी अध्यक्ष सुशिला चन्दले मानसिक स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका व्यक्तिहरू समाजमा अझै विभेद र लाञ्छनाको सिकार बन्नुपरेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले सकारात्मक कथा, पुनःस्थापनाका अनुभव र आशाका सन्देशहरूलाई प्राथमिकता दिन सके मानसिक स्वास्थ्यप्रति समाजको दृष्टिकोण बदलिन सक्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले मानसिक स्वास्थ्यजस्तो संवेदनशील विषयमा जिम्मेवार पत्रकारिता अभ्यास गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सल्यानका शाखा सचिव बुद्धि पुनले गर्नुभएको थियो ।