दुर्घटनाको जोखिम बढ्दो : सडकको बीचमै विजुलीका पोल !

सडक फराकिलो भइसकेको छ, बेसको काम सम्पन्न भइसकेको छ, तर पोल भने अझै उही ठाउँमा उभिएका छन् । सडक प्रयोग गर्ने यात्रु, चालक र स्थानीयलाई यी पोल कुनै पनि बेला दुर्घटनाको कारण बन्न सक्ने चिन्ता छ ।

सल्यान, १२ जेठ ।

विकासका नाममा सडक फराकिलो बन्दै छ । डोजरले पहाड चिथोरेका छन्, नाला बनेका छन्, पर्खाल उठेका छन् । कालोपत्रेको तयारी अन्तिम चरणतिर पुगेको छ । तर सल्यानको बागचौरदेखि रारेचौरसम्मको सडकखण्डमा एउटा यस्तो दृश्य छ, जसले विकासको गति मात्रै होइन, सरोकारवाला निकायबीचको समन्वयको कमजोरी पनि उजागर गरिरहेको छ । यहाँ सडकको ठीक बीचभागमै ठडिएका छन् बिजुलीका पोल ।

राप्ती राजमार्ग अन्तर्गत पर्ने बागचौर–रारेचौर सडक अहिले स्तरोन्नतिको क्रममा छ । करोडौँ रुपैयाँ खर्च गरेर सडक फराकिलो बनाइँदैछ । तर सडक विस्तारसँगै बीचमै परेका विद्युतका पोल हटाउन नसक्दा निर्माण कार्य प्रभावित बनेको छ भने दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । विशेषगरी बागचौरमा रहेको बिद्युत सबस्टेसनको हाईटेन्सन लाइनका डबल पोल सडकको बीचभागमा परेपछि समस्या झन् जटिल बनेको छ ।

सडक फराकिलो भइसकेको छ, बेसको काम सम्पन्न भइसकेको छ, तर पोल भने अझै उही ठाउँमा उभिएका छन् । सडक प्रयोग गर्ने यात्रु, चालक र स्थानीयलाई यी पोल कुनै पनि बेला दुर्घटनाको कारण बन्न सक्ने चिन्ता छ । स्थानीयवासी लालबहादुर बुढाथोकी सडकको बीचमा पोल रहनु कुनै हालतमा उपयुक्त नभएको बताउनुहुन्छ । ‘सडक चौडा भयो, तर पोल बीचभागमै रह्यो, यसले दुर्घटना निम्त्याउन सक्छ’ उहाँ भन्नुहुन्छ ‘विकास भनेको जोखिम बढाउने होइन, सुरक्षित बनाउने हो, त्यसैले यी पोल हटाउनै पर्छ ।’

निर्माण कम्पनीका सबइन्जिनियर चेतनकुमार वलीका अनुसार सडक विस्तारका क्रममा पोल हटाउने विषयमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबाट केही महिना पहिले नै पत्राचार गरिएको छ । जिल्ला विद्युत कार्यालयबाट स्थलगत अनुगमन पनि भएको थियो । अनुगमनका क्रममा सात वटा पोल सार्नुपर्ने निष्कर्ष निकालिएको थियो । तर कार्यान्वयन भने अझै हुन सकेको छैन । ‘निर्माण कम्पनीले आफैँ पोल हटाउन सक्दैन’ उहाँले भन्नुभयो ‘विद्युत प्राधिकरणले समन्वय गरेर हटाइदिए काम सहज हुन्थ्यो, पोलकै कारण कतिपय ठाउँमा डिजाइनअनुसार काम गर्न सकिएको छैन ।’

सडक डिभिजन दाङका सबइन्जिनियर सन्दीप डाँगी पनि समस्या स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार सडक चौडा भएसँगै पुरानो संरचना बीच सडकमा परेको हो । ‘समुदायसँग छलफल भएको छ, विद्युत प्राधिकरणलाई पत्राचार पनि गरिएको छ’ उहाँले भन्नुभयो ‘तर समयमा काम हुन नसक्दा समस्या भएको छ ।’ डाँगीका अनुसार केही स्थानमा पहिरोको जोखिम पनि देखिएकाले पोल सार्ने काम झन् आवश्यक बनेको छ । ‘खरिबोटपारिको क्षेत्रमा पहिरोका कारण पोल जोखिममा छ’ उहाँले भन्नुभयो ‘सुरक्षाको दृष्टिले पनि अब ढिला गर्नु हुँदैन ।’

यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यानका प्रमुख नरेशदत्त रावलले पनि समस्या गम्भीर रहेको स्वीकार गर्नुभयो । उहाँका अनुसार बागचौर क्षेत्रमा रहेका केही पोल तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था छ । तर औपचारिक प्रक्रिया अघि नबढेकाले काम रोकिएको देखिन्छ । ‘मैले पनि सडकको बीचमा पोल रहेको देखेको छु’ उहाँले भन्नुभयो ‘तर सबस्टेसनको लाइन भएकाले सजिलै सार्न मिल्ने अवस्था छैन, कहाँ सार्ने भन्ने प्राविधिक विषय पनि छ ।’

उहाँका अनुसार मदन भण्डारी राजमार्ग र राप्ती राजमार्गका अन्य क्षेत्रमा यस्ता समस्या समाधानका लागि विद्युत प्राधिकरणले सहजीकरण गरिसकेको छ । ‘तर यहाँको फाइल औपचारिक रूपमा अघि बढेको देखिँदैन’ उहाँले थप्नुभयो । स्थानीयहरू भने विकास निर्माणका काममा सरकारी निकायबीच समन्वय नहुँदा नागरिकले सास्ती भोग्नुपरेको गुनासो गर्छन् । हेर्दा सामान्य देखिने एउटा ‘पोल व्यवस्थापन’ को विषय विकास प्रणालीकै कमजोरी भएको उनीहरूको भनाइ छ ।

थपिएको म्यादमा पनि भएन् कालोपत्रे

राप्ती राजमार्ग अन्तर्गत बागचौर–रारेचौर सडक स्तरोन्नतिको काम अघि बढेको अढाई बर्ष भयो । तर ४ किलोमिटर सडक कालोपत्रेको कामले अपेक्षित गति लिन सकेको छैन । निर्माण कम्पनीका अनुसार बिटुमिन लगायत आवश्यक निर्माण सामग्री अभाव हुँदा काम प्रभावित बनेको हो । थपिएको म्याद सकिन अब केही दिन मात्रै बाँकी रहे पनि काम पूरा हुने अवस्था छैन् ।

यो सडक आयोजना २०८० माघ २८ गते सम्झौता गरिएको थियो । २०८२ मंसिरसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयमा काम पूरा हुन नसकेपछि २०८३ असार ३० गतेसम्मका लागि म्याद थप गरिएको छ । तर हालको अवस्था हेर्दा पुनः म्याद थप हुनसक्ने सम्भावना बलियो देखिएको छ ।

भ्याटसहित १६ करोड ७४ लाख ४२ हजार ४९३ रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजना क्रमागत योजना अन्तर्गत टस्कर/सुरत जेभी मुसिकोटले निर्माण गरिरहेको छ । हालसम्म आयोजनामा ६० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस