
सल्यान, २७ जेठ ।
सल्यानको शारदा नगरपालिका–१ शान्तिनगरमा शारदा नदीको किनारैमा एउटा सानो घर छ । जनता आवास कार्यक्रममार्फत बनेको त्यो घर बाहिरबाट हेर्दा सामान्य देखिए पनि भित्र एउटा यस्तो जीवनकथा लुकेको छ, जसले समाजका कठोर विभेद, प्रेमको मूल्य र गरिबीको पीडालाई एकैसाथ उजागर गर्छ । त्यही घरमा बस्छन् ५८ वर्षीय अशोक श्रेष्ठ र उनकी ४७ वर्षीया श्रीमती गीता नेपाली ।
अहिले अशोक ओछ्यानमा छन् । शरीर कमजोर बनेको छ, घाउले गुप्तांग क्षेत्र गम्भीर रूपमा संक्रमित भएको छ, पीप बगिरहेको छ र पीडाले उनी रातदिन छट्पटाइरहेका छन् । चिकित्सकले तत्काल ठूलो अस्पतालमा लगेर शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् । तर उपचारका लागि आवश्यक रकम जुटाउने सामथ्र्य उनीहरूसँग छैन । अहिले उनी मृत्यु र जीवनबीचको संघर्षमा छन् ।
अशोक र गीताको प्रेम कथा दुई दशकभन्दा पुरानो हो । २०५७ सालतिर उनीहरूबीच प्रेम बस्यो । तर त्यो प्रेम समाजलाई स्वीकार्य भएन । कारण थियो अन्तरजातीय सम्बन्ध । परिवार र समाजले विवाहलाई स्वीकार नगरेपछि अशोकले आफ्नो घरपरिवार छाडे । उनले प्रेम रोजे, तर त्यसको मूल्य स्वरूप पुख्र्यौली घर, सम्पत्ति र आफन्तको साथ गुमाए ।
विवाहपछि उनीहरू शान्तिनगरमा बस्न थाले । बस्ने ठाउँसमेत थिएन । अन्ततः सालीले दिएको सानो जग्गामा जनता आवास कार्यक्रममार्फत घर निर्माण भयो । त्यसैलाई आफ्नो संसार बनाएर उनीहरू जीवन अगाडि बढाउन थाले । तर त्यो घरबाहेक उनीहरूको नाममा अर्को कुनै सम्पत्ति छैन ।
अन्तरजातीय विवाहकै कारण अशोकले पुख्र्यौली सम्पत्तिमा आफ्नो हक पाउन सकेनन् । समय बित्दै गयो । आमाबुबाको मृत्यु भयो । तर सम्बन्ध यति टाढिएको थियो कि उनले आफ्ना बाबुआमाको काजक्रियासमेत आफ्नै घरमा गर्न पाएनन् । आफन्तले अनुमति नदिएपछि उनले शान्तिनगरको प्रतिक्षालयमा बसेर आफ्ना आमाबुबाको कर्मकाण्ड सम्पन्न गरेको स्थानीयहरू बताउँछन् ।
अशोक र गीताको जीवनमा अर्को पीडा पनि थपियो । विवाहको यति लामो समय बित्दा पनि उनीहरूबाट सन्तान जन्मिएन । तर उनीहरूले त्यसलाई नियतिको खेल माने । दुःखसँग सम्झौता गरे र जीवन चलाइरहे । कहिले मजदुरी, कहिले खोलामा गिट्टी–बालुवा निकाल्ने काम, त कहिले भारतका विभिन्न स्थानमा गएर श्रम बेच्ने । यही संघर्षले उनीहरूको घर चलिरहेको थियो ।
दिनभर काम गरेपछि बेलुका चुलो बल्थ्यो । जीवन धानिन्थ्यो । तर गरिबीको यो यात्राले उनीहरूलाई कहिल्यै छाडेन । जीवन धान्ने क्रममा गत वर्ष श्रीमानश्रीमती भारतको लद्धाख पुगे । त्यहाँ मजदुरी गर्दै आएका थिए । एक दिन अचानक अशोक बेहोस भए । उपचारपछि केही सुधार भएजस्तो देखिए पनि उनी पहिलेजस्तो हुन सकेनन् । एकोहोरिने, टोलाउने र अस्वाभाविक व्यवहार देखिन थालेपछि गीता उनलाई लिएर नेपाल फर्किइन् ।
चैत महिनामा अवस्था फेरि बिग्रियो । यसपटक उनको हातखुट्टा सुन्निन थाल्यो । लामो उपचारपछि त्यो समस्या केही कम भयो । तर अर्को गम्भीर रोगले उनलाई समातिसकेको थियो । गुप्तांगमा फोका उठ्न थाले । घाउ पाक्न थाल्यो । पीप बग्न थाल्यो । पीडा दिनप्रतिदिन बढ्दै गयो । तर उपचारका लागि पैसा थिएन ।
छिमेकीहरूले सहयोग संकलन गरे । कसैले सय रुपैयाँ दिए, कसैले पाँच सय । त्यही पैसाबाट स्थानीय मेडिकल हुँदै जिल्ला अस्पताल सल्यानसम्म पु¥याइयो । अस्पतालमा चिकित्सकले अवस्था गम्भीर रहेको बताए । घाउ भित्रसम्म फैलिएको, तत्काल ठूलो अस्पतालमा लगेर शल्यक्रिया गर्नुपर्ने र आवश्यक परे सघन उपचार कक्ष (आईसीयू) मा समेत राख्नुपर्ने सुझाव चिकित्सकले दिए ।
नेपालगञ्ज वा काठमाडौं लैजान भनियो । तर समस्या एउटै थियो पैसा । घरमा बेच्ने केही थिएन । ऋण पत्याइदिने अवस्था थिएन । आफन्तको साथ थिएन । त्यसपछि गीता विवश भएर श्रीमानलाई फेरि घर फर्काएर ल्याइन् । अहिले अशोक त्यही सानो घरको ओछ्यानमा पीडासँग संघर्ष गरिरहेका छन् । गीताका आँखामा चिन्ता र निराशा दुवै देखिन्छ ।
‘हामी धेरै समस्यामा छौँ, हाम्रो बोलिदिने, सहयोग गरिदिने कोही छैन, उपचार गर्न निकै गाह्रो भएको छ, आम्दानीको स्रोत केही छैन, डाक्टरले हजारौँ रुपैयाँ खर्च लाग्छ भन्नुभएको छ, म कहाँबाट ल्याउने ?’ उनले भक्कानिँदै भनिन् । उनका अनुसार अहिले दैनिक खानखर्च जुटाउनै कठिन भइरहेको छ । उपचारका लागि चाहिने रकम त कल्पनाभन्दा बाहिरको विषय बनेको छ । ‘सबैले सकेको सहयोग गरिदिनुहोस्, उहाँलाई बचाउन पाए हुन्थ्यो’ उनले आग्रह गरिन् ।
अशोक श्रेष्ठको कथा केवल एक बिरामी व्यक्तिको कथा मात्र होइन । यो अन्तरजातीय विवाहका कारण परिवार र समाजबाट टाढिन बाध्य भएका एक व्यक्तिको जीवन संघर्षको कथा पनि हो । प्रेमका लागि घर छाडेका अशोकले आफ्नो जीवनको अधिकांश समय गरिबी र बहिष्कारसँग लड्दै बिताए । आज जब उनी गम्भीर बिरामी भएर मृत्युशैयामा पुगेका छन्, उनीसँग न सम्पत्ति छ, न सन्तानको साथ, न उपचार गर्ने आर्थिक क्षमता ।
शारदा नदी किनारको त्यो सानो घरभित्र अहिले एउटा प्रश्न निरन्तर गुञ्जिरहेको छ ‘के गरिबी र सामाजिक विभेदको दोहोरो मार खेपिरहेका अशोकले समयमै उपचार पाउलान्, कि उनको जीवन यसैगरी ओझेलमै समाप्त होला ?’