आरु बेचेरै आम्दानी

उहाँले केही समयअघि स्याउ खेतीको प्रयास पनि गर्नुभयो तर अपेक्षाअनुसार उत्पादन हुन नसकेपछि अन्य फलफूलतर्फ ध्यान केन्द्रित भयो । अहिले आरु, टिमुर र अन्य फलफूलले राम्रो प्रतिफल दिन थालेपछि खेतीलाई थप विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । अहिले उहाँको बगैँचाबाट आरुका फल मात्रै होइन, बिरुवाको पनि माग बढिरहेको छ ।

सल्यान, ३ असार ।

एक समय रोजगारीको खोजीमा साउदी अरब पुगेका सल्यानका रेशम वली अहिले भने आफ्नै गाउँमा फलफूल खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि उहाँले थालेको फलफूल खेतीले अहिले घरआँगन मात्र होइन, गाउँभर चर्चा कमाएको छ । विशेषगरी भारतबाट ल्याइएको कलमी आरु यतिबेला उहाँको घरआँगनबाट नै बिक्री भैरहेको छ ।

छत्रेश्वरी गाउँपालिका–२ दहखोला, साउनेपानी टोलका वलीको आँगनको डिलमा लगाइएका आरुका बोट यतिबेला फलले लटरम्म छन् । हेर्दा आकर्षक, स्वादमा मिठो र स्थानीय आरुभन्दा फरक विशेषता भएको यो आरुको खोजी गर्दै ग्राहकहरू घरसम्म पुग्छन् । बजार लैजानुपर्ने झन्झट छैन, फल पाक्नासाथ घरैबाट बिक्री भइरहेको छ । वलीका अनुसार उहाँका बुवाले केही वर्षअघि भारतको जम्मु–कश्मीरबाट कलमी बिरुवा ल्याउनुभएको थियो ।

घरायसी प्रयोगका लागि रोपिएको उक्त बिरुवाले अपेक्षाभन्दा राम्रो उत्पादन दिन थालेपछि अहिले आम्दानीको स्रोत बनेको छ । ‘बोट, पात, फूल सबै स्थानीय आरुजस्तै देखिन्छन्, तर यसको फलमा झुस हुँदैन, रातो, चिल्लो र आकर्षक हुन्छ, स्वाद पनि निकै मिठो छ’ वलीले भन्नुभयो ‘घरका लागि भनेर रोपेको आरुले अहिले बजार नै पाएको छ ।’

उहाँको बगैँचामा यस्ता आरुका करिब १० वटा बोट छन् भने ६ प्रजातीका आरु छन् । यस वर्ष प्रतिकिलो ८० रुपैयाँका दरले घरैबाट बिक्री भइरहेको छ । उत्पादन धेरै नभए पनि यसपटक आरु बिक्रीबाट मात्रै करिब ३० हजार रुपैयाँ आम्दानी हुने उहाँको अनुमान छ । ‘मैले १५ हजार बढीको आरु बेचिसके, अरु बेच्न बाँकी छ’ उहाँले भन्नुभयो । गत वर्ष उहाँले आरु प्रतिकिलो ५० रुपैयाँमा बेच्नुभएको थियो ।

यस वर्ष पनि केही आरु दाङको तुलसीपुर पठाउनुभयो । यसै पटक बैशाखमा झुस भएको आरु घरबाट ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको त्यही आरु तुलसीपुर बजारमा १२० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री भएको थाहा पाएपछि उहाँ अझ उत्साहित हुनुभएको छ । ‘किसानले उत्पादन गर्छ, तर बजारमा पुग्दा मूल्य तीन गुणासम्म बढ्ने रहेछ’ उहाँले भन्नुभयो ‘हामीले उचित बजार पाउन सके आम्दानी अझ धेरै गर्न सकिन्छ ।’

वलीले उक्त आरु गाउँमा ‘आरुबखडा’ का नामले चिनिने गरेको बताउनुभयो । यसको वास्तविक प्रजातिको नाम भने आफूलाई थाहा नभएको उहाँको भनाइ छ । तर स्वाद, आकर्षण र बजारको माग हेर्दा यसको व्यावसायिक सम्भावना निकै राम्रो देखिएको उहाँको भनाइ छ ।

आरु मात्रै होइन, उहाँको बारीमा विभिन्न प्रकारका फलफूल र नगदे बाली पनि छन् । आरुसँगै सुन्तला, कागती, किवी, टिमुर र आलु खेती पनि गर्नुभएको छ । तीमध्ये टिमुर खेतीबाट मात्रै वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । ‘चार वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेको थिएँ, १० महिना बसेपछि घर फर्किएँ’ उहाँले विगत सम्झनुभयो ‘त्यतिबेला विदेशमै भविष्य देखिएको थियो, अहिले भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।’

उहाँले केही समयअघि स्याउ खेतीको प्रयास पनि गर्नुभयो तर अपेक्षाअनुसार उत्पादन हुन नसकेपछि अन्य फलफूलतर्फ ध्यान केन्द्रित भयो । अहिले आरु, टिमुर र अन्य फलफूलले राम्रो प्रतिफल दिन थालेपछि खेतीलाई थप विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । अहिले उहाँको बगैँचाबाट आरुका फल मात्रै होइन, बिरुवाको पनि माग बढिरहेको छ ।

विदेशमा पसिना बगाउनुभन्दा आफ्नै जमिनमा मेहनत गर्दा पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने विश्वासका साथ खेती विस्तार गर्दै लगेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस