
सल्यान, ४ असार ।
सल्यान जिल्ला कर्णाली प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाभित्रका सबै खोपयोग्य बालबालिकाले नियमित तथा पुनः खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि बुधबार औपचारिक रूपमा सल्यानलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । यससँगै सल्यानले लगातार दोस्रो वर्ष पनि कर्णाली प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला बन्ने गौरव हासिल गरेको छ ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका सबै १० वटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि आवश्यक मापदण्ड पूरा गरिसकेपछि जिल्ला घोषणाको प्रक्रिया सम्पन्न भएको हो । स्थानीय तहहरूमा गत जेठ ७ गतेदेखि जेठ २५ गतेसम्म अनुगमन, प्रमाणीकरण तथा घोषणा कार्यक्रम सञ्चालन गरिएको थियो ।
जिल्लामा हाल ० देखि १५ महिनासम्मका ३ हजार ९२४ जना, १६ देखि २३ महिनासम्मका २ हजार ४१७ जना तथा १६ देखि ५९ महिनासम्मका ९ हजार २८८ जना बालबालिकाले नियमित तथा पुनः खोप सेवा प्राप्त गरिसकेका छन् । खोप लगाउनुपर्ने उमेर समूहका कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नरहेको सुनिश्चित गरिएकाले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले पूर्णखोप सुनिश्चितता घोषणा अन्तिम लक्ष्य नभई यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको बताउनुभयो । उहाँले जन्मिने हरेक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने वातावरण निर्माण गर्न स्थानीय तह, स्वास्थ्य संस्था, जनप्रतिनिधि र अभिभावक सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकीले जिल्लामा खोप कार्यक्रमलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सरकार तथा समुदायको सक्रिय सहभागिता रहेको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले खोपबाट बच्न सकिने रोगका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगिने जानकारी दिनुभयो ।
शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले पूर्णखोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्थानीय तह र स्वास्थ्य संस्थाबीचको समन्वय महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि बालबालिकाको स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले पूर्णखोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्थानीय तहहरूले आवश्यक बजेट, जनशक्ति तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै पूर्णखोप सुनिश्चितता घोषणाको उपलब्धिलाई व्यवहारमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का आइपिडी अफिसर डा. दीपक रेग्मीले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनले बालमृत्युदर घटाउन र समुदायलाई विभिन्न रोगबाट सुरक्षित राख्न महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो ।
प्रदेश खोप संयोजक ओमप्रकाश पौडेलले पूर्णखोप सुनिश्चितता घोषणा प्राप्त गर्नु मात्रै पर्याप्त नभएको भन्दै खोप छुटेका वा बसाइँसराइका कारण जोखिममा पर्न सक्ने बालबालिकाको नियमित पहिचान, अनुगमन तथा अभिलेखीकरणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनले स्वास्थ्य क्षेत्रमा प्राप्त यस्ता सकारात्मक उपलब्धिलाई समुदायसम्म पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले खोपसम्बन्धी भ्रम र गलत सूचनालाई चिर्दै जनचेतना अभिवृद्धि गर्न सञ्चार क्षेत्रले निरन्तर सहयोग गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला खोप कार्यक्रम संयोजक ताराप्रसाद रिजालले जिल्लाको पूर्णखोप अवस्था, खोप सेवाको पहुँच, उपलब्धि तथा आगामी चुनौतीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले जिल्लाका सबै खोपयोग्य बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीचको सहकार्य प्रभावकारी रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी प्रतीक भट्टले गर्नुभएको थियो ।